१९ वर्ष भारतीय फुटबलमा राज गरेका कप्तान तथा स्ट्राइकर सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । क्षेत्रीले बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश दिँदै ६ मेमा कुवेतविरुद्ध अन्तिम खेल खेल्ने जानकारी गराए । भारतले फिफा विश्वकप– २०२६ छनोटअन्तर्गत दोस्रो चरमा कुवेतविरुद्ध कोलकातामा खेल्दै छ । उनले भने, ‘यो निर्णय पहिला घरपरिवारलाई सुनाएँ । बुबा खुसी भए पनि आमा र श्रीमती रोएका थिए,’ ३९ वर्षीय क्षेत्रीले भने ।
२००५ मा पाकिस्तानविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका स्ट्राइकर सुनीलले भारतका लागि एक सय ५० खेलमा ९४ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने तालिकामा चौथो स्थानमा छन् । क्षेत्रीअघि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो (१२८), इरानी खेलाडी अली डेई (१०८) र अर्जेन्टिनी स्टार लियोनल मेसी (१०६) रहेका छन् । सुनीलले कोलकाताको मोहन बगानबाट फुटबल करिअर सुरु गरेका थिए । हाल इन्डियन सुपर लिग टोली बेंगलुरु फुटबल क्लबमा आबद्ध छन् । सुनीलले भारतका लागि चारपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियन्सिप तथा तीनपटक नेहरू कप जितेका छन् ।
२००८ मा एएफसी च्यालेन्ज कप विजेता बनाएका सुनीलले भारतलाई २०११ को एसियन कपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि भारत २०१९ र २०२३ को एसियन कपमा छनोट हुँदा पनि सुनीलले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय फुटबलमा पुर्याएको योगदानका कारण तेलंगनाका सुनील अर्जुन र पद्मश्री अवार्डबाट सम्मानित भएका छन् । सुनील २०११ मा प्रतिष्ठित अर्जुन अवार्ड र २०१९ मा पद्मश्रीबाट समानित भएका थिए । २०२१ मा भारतको सर्वश्रेष्ठ खेलकुद समान खेलरत्न अवार्ड जितेका थिए । उनी यो अवार्ड जित्ने पहिलो भारतीय फुटबलर हुन् ।