विपन्न किसानलाई सिँचाइ र आय-आर्जनका लागि पोखरी, किसान कार्ड वितरण

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका- १५ र १८ मा नगरपालिका र मुतनी उपजलाधार व्यवस्थापन समन्वय समितिको सहकार्यमा विपन्न किसानलाई लक्षित गरी पोखरी र तटबन्ध निर्माण थालिएको छ। 

नगर प्रमुखको संयोजकत्वमा रहेको मुतनी उपजलाधार व्यवस्थापन समन्वय समितिमार्फत लहान १५ मा पर्ने भरोसिया र राजदेवी चुरे, १८ मा पर्ने तेतराही र पकडियागढ सामुदायिक वन क्षेत्रमा पाँचवटा पोखरी, ताल र १५ नं. वडाको शोभापुरस्थित मुसहर बस्तीनजिक तटबन्ध निर्माण थालिएको छ। 

पोखरीमा वर्षाको पानी भण्डारण गरी पहिचान गरिएका विपन्न किसानले आफ्नो खेतबारीमा सिँचाइ गर्नुका साथै त्यसले जमिन पनि रिचार्ज हुने भएकाले दीर्घकालीन रूपमा पानीको अभाव हुन नदिन काम थालिएको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए। 

सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, केयर नेपाल र जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा तत्काल पोखरी र तटबन्ध निर्माणका लागि ५० लाख लगानी गरिने र बाँकी अपुग रकम नगरपालिकाले व्यहोर्ने उनले बताए। उनका अनुसार भरोसिया र पकडिया सामुदायिक वन क्षेत्रमा पोखरी खन्ने काम भइरहेको छ। 

बिउ पुँजीका लागि ३५ हजार अनुदान

लहान १५ र १८ मा गठन गरिएका ३२ वटा कृषक समूहमा आबद्ध रहेका किसानमध्ये सम्बन्धित सामुदायिक वनले पहिचान गरेका ‘घ’ वर्गका अति विपन्न, गरिब, दलित र एकल महिला गरी चार सयजनालाई आय-आर्जनसम्बन्धी काम गर्न प्रतिकिसान ३५ हजार रुपैयाँको दरले एक करोड ४० लाख रुपैयाँ बिउ पुँजीका लागि दिइने समृद्धि परियोजनाका जीविकोपार्जन अधिकृत रोशना पाण्डेले जानकारी दिइन्। 

उनका अनुसार १५ नं. वडा क्षेत्रमा पर्ने ७ र १८ नं. वडा क्षेत्रका दुई सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तासमेत रहेका चार सयजना विपन्न किसानले इच्छाएको व्यापार, व्यवसाय गरी आय-आर्जनसम्बन्धी काम गर्न अनुदान उपयोग गरिनेछ। ‘परियोजनाअन्तर्गत मुतनी उपजलाधार क्षेत्रमा पर्ने विपन्न, गरिब, दलित र एकल महिला किसानको आर्थिक अवस्था उकास्न विभिन्न क्रियाकलाप गरिनेछ,’ उनले भनिन्। 

चार सयजनालाई किसान कार्ड

सम्बन्धित दुई वडाको उपजलाधार क्षेत्रका सामुदायिक वनले किटान गरेका ‘घ’ वर्गका चार सयजनालाई किसान कार्डसमेत वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ सिराहाका सचिवसमेत रहेका लहान १५ का रुद्रनारायण चौधरीले बताए। 

सम्बन्धित किसानले आफ्नो खातामा दाखिला भएको रकम त्यही कार्डको आधारमा कारोबार गरी आय-आर्जनसम्बन्धी काम गर्ने उनले बताए। उनका अनुसार सामुदायिक वन क्षेत्रमा खनिएको पोखरीमा किसानले माछापालनसमेत गर्न सक्ने गरी योजना बनाइएको छ भने विपन्न दलित बस्तीको रूपमा रहेको शोभापुर गाउँसँगै पूर्वपट्टि मुतनी खोलाको कटान रोक्न तत्काल ३० मिटर लामो तारजालीको तटबन्ध र १८ वटा स्पर निर्माण गरिनेछ। 

See More On

सुझावित समाचार