घुस लिने सर्वेक्षक र लेखापढी व्यवसायीलाई कैद तथा जरिवाना

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सर्वेक्षकलाई बुझाउनुपर्ने भन्दै घुस लिने लेखापढी व्यवसायी र सर्वेक्षक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले दुईजनालाई घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा कसुर कायम गरेको हो । 

विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेल दोषी ठहर भएका हुन् । दुवैलाई जनही तीन महिना कैद सजाय सुनाइएको छ भने जनही ५०–५० हजार रुपैयाँ जरिवाना हुने सजाय भएको छ ।  

उनीहरूले सेवाग्राहीसँग रिसवत लिएको तथ्यगत रूपमा प्रमाणबाट पुष्टि भएको विशेषले जनाएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो फैसला गरेको हो । 

कलंकीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक चौलगाईंले जग्गा हालसाबिक एवं कित्ताबाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको सूचना अख्तियारमा पुगेको थियो । जसपछि आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले एक लाख रुपैयाँ लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको थियो । 

चौलागाईं र पोखरेलले मिलेमतोमा ५०–५० हजार रुपैयाँ घुस लिएको अनुसन्धानको सिलसिलामा खुलेको थियो । जसपछि गत २० फागुनमा मुद्दा दायर भएको थियो ।

See More On

सुझावित समाचार