बालबालिकालाई प्रश्न सोध्न सिकाउनुस्

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

बालबालिकाको मनमा धेरै जिज्ञासा हुन्छन् । साह्रै अप्ठ्यारोदेखि सरल प्रश्न सोधेर बस्ने उनीहरूको स्वभाव नै हो । हामीमध्ये कतिले प्रश्नको उत्तर दिन्छौँ, कतिले उनीहरूका प्रश्नबाट आजित भएर ‘ह्या कति कराएको हल्ला नगर एकछिन चुप लागेर बस्’ भन्ने गर्दछौँ । आखिर बालबालिकाले किन प्रश्न गर्छन् त ? 

बालबालिकाका लागि प्रायः सबै कुरा नयाँ हुन्छ, सबै वस्तु नयाँ हुन्छ, सबै अनुभव नयाँ हुन्छ । उनीहरूका लागि अभिभावक नै सुपर हिरो हुन् । स्नेहको छहारी, सुरक्षाको अनुभूति, सूचनाको केन्द्र हुन् । 

अभिभावकको पनि आफ्नै बाध्यता हुन्छ । समय निकाल्नै मुस्किल भइरहेका वेला बालबालिकाका अनेक प्रश्नले उनीहरू आजित हुनु अनौठो होइन । तर, बालबालिकाको जिज्ञासाले उनीहरूको भविष्य निर्माणमा भूमिका खेल्छ । त्यसैले अभिभावकले उनीहरूका जिज्ञासा सम्बोधन गर्नुपर्ने हुन्छ । 

बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावकमै निर्भर रहन्छ । हाम्रो शिक्षा विधि नै उत्तर दिने मात्र छ, प्रश्न सोध्न पाउने छुट खासै हुँदैन । विद्यालयबाट घर आएपछि अधिकांश अभिभावकले आज के पढेर आयौ भनेर प्रश्न गर्नुहुन्छ । आज तिमीले के–के प्रश्न आफ्नो शिक्षक–शिक्षिकालाई सोध्यौ भन्नुहुन्न । हामीलाई प्रश्न सोध्न कसैले सिकाएको छैन । 

घर होस् या विद्यालय प्रश्न गर्न दिने र प्रश्न गर्न सक्ने बालबालिका बनाउनु हामी सबैको कर्तव्य हो । प्रश्न गर्ने छुट र अवसर बालबालिकालाई प्रदान गर्दा उनीहरूलाई सिक्ने प्रशस्तै अवसर प्राप्त हुन्छ । आफ्ना बालबालिकालाई आज के सिक्यौ भन्नुभन्दा पनि शिक्षक–शिक्षिकालाई कतिवटा प्रश्न गर्यौ भन्नु उचित हुन्छ । 

प्रश्न गर्न मात्र होइन, इन्टरनेटको पहुँच भएको वर्गले यस्तो प्रश्नको उत्तर आफैँ खोजी गर्न पनि सिकाउन सक्नुहुन्छ । इन्टरनेटमा अथाह सूचना हुने हुँदा, इन्टरनेट प्रयोग गर्दा भेटिएको उत्तर सत्यतथ्यबाट प्रेरित छ कि छैन भन्ने विषयमा पनि खोज्नुपर्ने हुन्छ । 

प्रश्न–उत्तरको यस्तो शृंखलाले हामीमा गहिरो सिकाइको विकास हुन्छ । जसकारण, अफवाहहरूको पछि लाग्नुपर्ने अवस्था हट्दै जान्छ । होला, हो, रे लगायतको हल्लालाई सूचना मान्नुभन्दा हो कि होइन ? हो भने कसरी हो ? कसरी भयो ? किन भयो ? कहिले भयो ? भनेर सूचनाहरूलाई भेरिफाई गर्ने बानी विकास हुन्छ । 

आफ्ना बालबालिकाले आफूलाई केही प्रश्न गर्दा आउँछ, उत्तर दिनुहोस् । आउँदैन भने खोजेर केही दिनमा दिनुहोस् । तर, प्रश्न सोध्ने वातावरणको सिर्जना गर्नुहोस् र ज्ञानले भरिएका बालबालिका तयार गर्नुहोस् ।

सुझावित समाचार