राखेपले एन्फामार्फत एएफसीलाई दियो रंगशालाको विवरण

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण
राखेपले एन्फामार्फत एएफसीलाई दियो रंगशालाको विवरण

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर (बायाँ)लाई रंगशालाको विवरण बुझाउँदै राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख राजु श्रेष्ठ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फामार्फत दशरथ रंगशालाको सम्पूर्ण विवरण एसियन फुटबल महासंघ (एएफसी)लाई उपलब्ध गराएको छ । एएफसीले फिफा विश्वकप २०२६ को छनोट खेल दशरथ रंगशालामा गर्न मैदानमाथि प्रश्न उठाएपछि राखेपले कागजपत्र उपलब्ध गराएको हो । 

राखेपका सदस्यसचिव घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गरेका हुन् । 

राखेपबाट सबै विवरण प्राप्त भएपछि एन्फाले शुक्रबारै एएफसीमा पत्र पठाएको छ । फिफा विश्वकप २०२६ छनोट र एसियन कप २०२७ छनोटअन्तर्गत युएर्ईविरुद्ध २४ जेठमा हुने खेलका लागि एएफसीका प्रतिनिधिले १९ र २१ वैशाखमा रंगशालाको अनुगमन गरेका थिए । त्यसक्रममा फ्लड लाइट, दुबो, माटोको सतह नमिलेको र सुरक्षा जोखिम रहेको भन्दै एएफसीले प्रश्न उठाएको थियो ।

यसअघि एएफसीले एन्फालाई खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित चारबुँदे विवरण माग गरेको थियो । गत चैतदेखि रंगशालाको सबै रेखदेख राखेपले गर्दै आएको छ । बिहीबार मात्रै संसदीय समितिमा दशरथ रंगशालाबारे प्रश्न उठ्दा राखेपका सदस्यसचिव घिसिङले यसै साताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता दिएका थिए । 

आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरूको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन घिसिङले एन्फाको ध्यानाकर्षण गराएका छन् । यसअघि मैदान समयमै तयार नहुँदा नेपालले बहराइनसँगको घरेलु खेल बहराइनमै खेल्नुपरेको थियो । ८ चैतमा भएको पहिलो लेगमा नेपाल ५–० र १३ चैतमा भएको दोस्रो लेगमा ३–० ले पराजित भएको थियो । 

समूह ‘एच’मा रहेको नेपाल लगातार चौथो हार व्यहोर्दै अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपबाट बाहिरिसकेको छ । नेपालले चार खेलबाट कुनै अंक जोड्न सकेको छैन । युएई, बहराइन र यमन रहेको समूहमा नेपाल पुछारमा छ ।

See More On

सुझावित समाचार