मौसमविद्लाई प्रश्न- कतै वर्षा, कतै खडेरी किन?

मंगलबार, २५ बैशाख, २०८१
डिजिटल संस्करण

गण्डकी, लुम्बिनीको पूर्वी भेग, बागमती र कोशीकेन्द्रित पछिल्लो तीन दिनदेखिको मौसमी प्रणाली फैलिन थालेको छ। 

मंगलबार पश्चिममा डोटीको दिपायल, जुम्ला क्षेत्रमा वर्षा भएको छ, भने मधेशमा सर्लाही, बारा, पर्सा क्षेत्रमा पनि हल्का वर्षा भएको छ।

झन्डै एक महिनाको खडेरीपछि पनि कतै वर्षा भइरहेको छ भने कतै खडेरीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार प्रिमनसुनमा आइसोलेटड वर्षा हुन्छ। जस्तो, मंगलबार दिपायलमा ३२.६ मिलिमिटर वर्षा भएको छ, तर सुदूरपश्चिमकै अन्य जिल्लामा पानी परेन। धनगढीको तापक्रम ३६.५ डिग्री सेल्सियस छ। 

अहिले प्रिमनसुन सक्रिय बनेको छ भने भारतको बिहार क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ । त्यसमा सबैभन्दा ठूलो भूमिका बंगालको खाडीबाट जलवाष्पयुक्त हावा चलेको छ।

‘यो हावा तल्लो वायुमण्डलमा पूर्वी नेपाल हुँदै भित्रिएको छ। तर, मध्यनेपालमा आइपुग्दा यसलाई बिहार क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीले सघाएको छ। माथिल्लो वायुमण्डलमा वर्षा गराउने प्रणाली विकास हुँदै पूर्वतिर फैलिरहेको छ,’ मौसमविद् प्रधानांगले भने, ‘त्यही भएर लुम्बिनीको पूर्वी भेग, गण्डकी, बागमती क्षेत्रमा केन्द्रित भएर पानी परिरहेको हो।’ 

पश्चिमी वायु कमजोर रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा फैलन नसकेकाले पश्चिममा वर्षा हुन नसकेको हो।

तर, मंगलबारबाट मधेश प्रदेशमा पनि वर्षा गराएको प्रणाली पश्चिम पहाडमा पनि सक्रिय हुने आकलन गरिएको छ। ‘पश्चिम तराईमा भने खासै वर्षा हुँदैन। एक–दुई ठाउँमा हल्का वर्षा मात्र हुने देखिन्छ,’ उनले भने।

प्रिमनसुनमा स्थानीय वायु पनि सक्रिय हुन्छ। हाल पोखरा, काठमाडौं, दिपालयलगायत उपत्यकामा स्थानीय वायु सक्रिय भएर पनि वर्षा हुने गरेको छ। 

महाशाखाले अगाामी २४ घन्टामा गण्डकी प्रदेशको केही स्थान तथा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरेको छ। बाँकी प्रदेश एक–दुई स्थानमा हल्का वर्ष हुन सक्ने देखिएको छ।

सुझावित समाचार