काठमाडौंमा यो साताभर साँझपख हल्का वर्षाको प्रक्षेपण, अन्य क्षेत्रमा कस्तो हुन्छ ?

सोमबार, २४ बैशाख, २०८१
डिजिटल संस्करण

लामो समयदेखिको खडेरी र डढेलोबाट राहत हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायुसँगै भारतको बिहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण नेपालमा वर्षा गराउने प्रणाली सक्रिय बन्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन पश्चिम तराईबाहेकको तराई र पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा दिउँसो बदली हुने र साँझपख चट्याङसहित वर्षा हुने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘काठमाडौंमा ठूलो वर्षाको सम्भावना त छैन, तर आजदेखि साँझपख हरेक दिनजसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिन्छ,’ मानन्धरले भनिन्, ‘वर्षा गराउने प्रणाली यो साताभर सक्रिय हुने देखिन्छ।’

सोमबार प्युठान, म्याग्दी, रुकुम पश्चिम, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी, गोरखा क्षेत्रमा वर्षा भएको छ। वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै जाँदा सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा क्षेत्रमा पनि हल्का वर्षा भएको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा गराउने तीनवटा प्रणाली सक्रिय रहे पनि पश्चिम तराईमा भने तत्काल वर्षाको सम्भावना देखिँदैन। सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ भने देशका बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मंगलबार तराईमा लुम्बिनीको पूर्वी क्षेत्र तथा बागमती र गण्डकीको तराई अर्थात् मध्य तराईमा वर्षाको सम्भावना छ। मधेशमा मंगलबार रातिबाट वर्षाको सम्भावना छ।

मंगलबार पहाडी क्षेत्रको हकमा भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने आकलन गरिएको छ।

See More On

सुझावित समाचार