बलात्कार मुद्दामा रोबिन्होलाई नौ वर्षको जेल सजाय

शनिबार, १० चैत, २०८०
डिजिटल संस्करण

सन् २०१३ मा अल्बानियाकी २२ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको मुद्दामा ब्राजिलियन अदालतले रोबिन्होलाई दोषी ठहर गर्दै जेल सजायको आदेश दिएको छ 

ब्राजिलका पूर्वमिडफिल्डर रोबिन्होलाई बलात्कार मुद्दामा नौ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा अल्बानियाकी २२ वर्षीया एक युवतीलाई अपार्टमेन्टमा सामूहिक बलात्कार गरेको मुद्दामा उनी दोषी ठहरिएका हुन् । अदालतको आदेशअनुसार म्यानचेस्टर सिटी र रियल म्याड्रिडका पूर्वखेलाडी रोबिन्होले नौ वर्ष सजाय पूरा गर्नुपर्ने हुन्छ ।

यसअघि सन् २०१७ मै इटालीको अदालतले रोबिन्होलाई सामूहिक बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । यसपटक ब्राजिलको अदालतले पनि उनलाई दोषी ठहरको आदेश दिएको हो । अदालतले ब्राजिलमै बसेर उनलाई नौ वर्ष जेल सजाय बस्नुपर्ने जनाएको छ । 

इटालीको अदालतको आदेशपछि रोबिन्हो ब्राजिलमै बस्दै आइरहेका थिए । ब्राजिलियन सरकारले आफ्ना कुनै पनि नागरिकलाई अन्य देशमा सुपुर्दगी गर्दैन । तर, इटालीको आग्रहमा ब्राजिलको अदालतले रोबिन्होले सजाय भुक्तानी गर्नुपर्ने आदेश दिएको हो ।

उनी आदेशविरुद्ध पुनरावेदन गर्न सक्छन् । सामूहिक बलात्कारको घटनाका वेला रोबिन्हो सिरिए लिगअन्तर्गत एसी मिलानमा आबद्ध थिए । उनले इटालीमा फैसलाविरुद्ध पुनरावेदन राखेका थिए । उनी मुद्दामा पराजित भए । 

सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले उनीविरुद्धको सजायलाई कायम गरेको थियो । त्यसपछि इटालीका अधिकारीले उनीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो । ब्राजिलियन अदालतको आदेशविरुद्ध रोबिन्होका वकिलहरूले सर्वोच्चमा अपिल गर्ने तयारी गर्दै छन् ।

उनका वकिलले आफ्ना क्लाइन्टलाई जेल नलैजान माग राखेका छन् । तर, सर्वोच्च अदालतले यस मागलाई अस्वीकार गरेको थियो । रोबिन्होले अहिले पनि बलात्कार नगरेको र सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन् । 

ब्राजिलबाट २८ गोल
उनले ब्राजिलको राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सन् २००३ देखि ०१७ सम्म उनले राष्ट्रिय टोलीबाट सय खेलमा २८ अन्तर्राष्ट्रिय गोल गरेका थिए । व्यावसायिक क्लब लेभलमा उनले समग्रमा २००२ देखि २०२० सम्म पाँच सय ८७ खेलमा एक सय ९५ गोल गरेका थिए । सन् २००८ मा उनी रियल म्याड्रिडबाट ३.२५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । रियलमा रहँदा उनले दुई उपाधि हात पारे । सिटीमा दुई सिजन बिताउँदा उनले दुई उपाधि हात पारे ।

त्यसपछि उनले पाँच वर्ष एसी मिलानबाट खेले । फुटबल करिअरमा रोबिन्होले चीनको लिगसमेत खेले । चीनको ग्वाङझाउ एभरग्रान्डेबाट व्यावसायिक फुटबल खेलेका उनले अन्तिम समयमा ब्राजिलको एट्लेटिको मिनेरोबाट प्रतिस्पर्धा गरेका थिए । सन् २०२० मा उनी ब्राजिलको चर्चित क्लब सान्तोषमा आबद्ध भएका थिए । तर, उनले एक खेल पनि खेलेनन् ।  

सुझावित समाचार