शरीरमा पानीको कमी भएपछि मिनरल्स (नुन र चिनी) असन्तुलित भइदिन्छ । यसपछि विभिन्न समस्या निम्तिन्छन् । तसर्थ, पानीको मात्रा पर्याप्त पुगेको हुनुपर्छ । पानी कति पिउने ? भन्ने विषय व्यक्तिको उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यले निर्धारण गर्छ । एकैपटक धेरै पानी पिउने गर्नु पनि हुँदैन । थोरै–थोरै गरेर आवश्यकताअनुसार दैनिक (वयस्क व्यक्तिले कम्तीमा दुईदेखि तीन लिटरसम्म) पानी पिउनुपर्छ ।
शरीरको तापमान नियन्त्रणमा राख्न, पाचनतन्त्र बलियो बनाउन, अंगहरूलाई सक्रिय बनाउन, हाडजोर्नीलाई नरम बनाउन, सेल्सहरूमा पोषण पुर्याउन, शरीरमा काम नलाग्ने पदार्थलाई बाहिर निकाल्न शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । पानीको कमीले मुख सुक्खा हुने, तिर्खा लाग्ने, पिसाब पहेँलो हुने, बान्ता हुने, ज्वरो आउने, पेटको समस्या देखिने आदि समस्या देखिन सक्छ ।
के गर्ने
बिहान उठ्नेबित्तिकै एक ग्लास पानी पिउने । दिनमा पटक–पटक गरेर आवश्यकताअनुसार पानी पिउने । जुस र फलफूल खाने । अल्कोहलजन्य खानेकुरा नखाने । धूम्रपान नगर्ने । जटिल समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।
चिकित्सकलाई कतिवेला देखाउने ?
पर्याप्त पानी पिउँदापिउँदै पनि अति तिर्खा लाग्ने, सधैँ थकित वा द्विविधाग्रस्त देखिने, ओठ–जिब्रो सुक्खा हुने, रुँदा आँसु नआउने, आँखा भारी हुने, आठ घण्टाभन्दा बढी समय पिसाब नलाग्ने, पिसाब पहेँलो देखिने, हृदयको चाल तीव्र हुने, उभिँदा रिँगटा लाग्नेलगायत समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ । बच्चामा पानीको कमी भएजस्तो लागेमा पनि चिकित्सकलाई देखाउनुपर्छ । २४ घण्टामा ६ वा त्यसभन्दा बढीपटक पखाला लागे वा तीनपटकभन्दा धेरै बान्ता भएमा स्वास्थ्य संस्थामा जानु राम्रो हुन्छ । चिकित्सकले पानीको कमी भएको महसुस भएमा ब्लड वा पिसाबमार्फत यसको परीक्षण गरेर शरीरमा सोडियम र पोटासियमको सन्तुलन भए–नभएको निक्र्योल गर्ने गर्छन् ।
शरीरमा पानी कम हुँदा देखिने केही समस्या
- शरीरमा पानीको कमी हुँदा मिर्गाैलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्दा मिर्गौलामा असर पुग्छ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिने गर्छ ।
- एक्कासि रक्तचाप (ब्लडप्रेसर) घट्ने हुन सक्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिन्छ । मुटुको चाल बढ्नेजस्ता जटिल समस्या पनि देखिन सक्छ ।
- छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, छालामा चमक हराउने हुन्छ ।
- शरीरमा पानीकै कमीले रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने हुन सक्छ । जसले गर्दा मानसिक असर पर्छ ।
- पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा हाडजोर्नी बाउँडिने, शरीर दुख्नेलगायतका समस्या हुन्छ ।
- क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ र पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने, कब्जियत हुने, झाडापखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्नेलगायतका समस्या देखिन्छ ।
- टाउको भारी हुने, दुख्ने, ज्वरो आउने, थकान महसुस हुने, चक्कर लाग्ने हुन्छ । मस्तिष्कको कार्यक्षमतामा पनि यसले ह्रास ल्याउँछ । मस्तिष्कले राम्ररी काम गर्न पानीको मात्रा पर्याप्त हुनुपर्छ । अन्यथा, ध्यान केन्द्रित गर्न नसक्ने, थकान, टाउको दुख्नेलगायत समस्या देखिन्छन् ।