पाँच दिनसम्म सञ्चालन हुने मेलामा २० हजार दर्शकले अवलोकन गर्ने आयोजककाे अपेक्षा
बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहीबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु भएको हो ।
यही फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले उद्घाटन गर्दै कृषि कर्म गरेका किसानलाई प्रोत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागिपरेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिमा राम्रो सम्भावना भए पनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले लाभ लिन नसकेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले कृषि क्षेत्रको विकासमा योगदान पुर्याउँदै कृषिको व्यवसायीकरण एवं आधुनिकीकरणका लागि मेला आयोजना गरिएको जानकारी दिए ।
कृषि क्षेत्रको चर्चा
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी सचिव डा. नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पूर्वअध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पोख्रेल, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए ।
०४१ सालमा उपत्यकाबाहिर पहिलोपटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले ०६२ सालदेखि नियमित रूपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोहीअनुसार यो मेला आयोजना गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रांगारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिइनेछ । त्यस्तै उपभोक्तालाई प्रांगारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थबारे सचेतना प्रदान गरिनेछ । प्रांगारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतिको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसिनरीसम्बन्धी जानकारी गराइनेछ ।
कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यातयोग्य वस्तुहरूको पहिचान र प्रवर्द्धन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री–वितरणमा भएका उपलब्धिको जानकारी गराइनेछ ।
प्रवेश नि:शुल्क, ८८ स्टल
नि:शुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवासम्बन्धी ८८ वटा स्टल राखिएको छ । मेलामा जीवनाशक विषादी प्रयोग, प्रभाव र विकल्प, प्रांगारिक खेतीका लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर, सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तर्क्रिया तथा छलफल गरिनेछ ।
त्यस्तै, कृषिसँग सम्बन्धित विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता, कृषिसँग सम्बन्धित सांस्कृतिक सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ । त्यसैगरी, मेलामा ११ र १२ गते दुई दिन बाली परीक्षण शिविर राखिनेछ भने ११ गतेदेखि नै तीन दिन माटो परीक्षण शिविर सञ्चालन गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको मेलामा २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेकाे छ ।