- असोज मसान्तसम्म तिर्न बाँकी ऋण आन्तरिकतर्फ १४ खर्ब १० अर्ब र बाह्यतर्फ १५ खर्ब ९८ अर्ब पुग्यो
काठमाडाैं- डलरलगायतका विदेशी विनिमय दर सस्तो भएपछि विदेशी ऋणको दायित्व घटेको छ । चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासमा विदेशी ऋणको दायित्व सात अर्ब ४८ करोड ११ लाख रुपैयाँले घटेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
मुख्यतः विदेशी मुद्राको मूल्य सस्तो भएपछि विदेशी ऋणको दायित्व घटेको हो । ३१ असार ०८३ मा एक अमेरिकी डलरबराबर १५३.६३ खरिद मूल्य रहेकामा ३१ असोजको अमेरिकी डलरको खरिद दर दुई रुपैयाँ घटेर १५१.६४ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
गत आवको अन्त्यसम्ममा वैदेशिक ऋणको आकार १६ खर्ब ६ अर्ब २८ करोड ६९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा सरकारले २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ विदेशी ऋण लिएको छ । त्यससँगै १२ अर्ब ६४ करोड २८ लाख रुपैयाँ साँवा भुक्तानी पनि गरेको छ । योअनुसार विदेशी ऋणको दायित्व बढ्नुपर्ने थियो । तर, डलरलगायतका विदेशी मुद्रा सस्तो हुँदा वैदेशिक ऋणको दायित्वमा १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बचत भएको छ । त्यसले गर्दा विदेशी ऋणको दायित्व १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।
कार्यालयका प्रवक्ता प्रकाश पुडासैनीले डलरको विनिमय दर घटेपछि वैदेशिक ऋणको दायित्व घटेको बताए । ‘गत आवमा डलरको मूल्य धेरै नै थियो । चालू आवमा त्यो केही घटेको छ । चालू आवको पहिलो तीन महिनामा १८ अर्ब १६ करोड रुपैयाँ हाराहारीमा बचत भएको छ । त्यसले गर्दा विदेशी ऋणको दायित्व कम हुन गएको छ,’ उनले भने ।
३० खर्बमाथि पुग्यो सार्वजनिक ऋण
गत असार मसान्तमा सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । चालू आवको पहिलो त्रैमासमा त्यो २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँले बढेर ३० खर्ब नौ अर्बमाथि पुगेको छ । असोज मसान्तसम्ममा कुल ऋण ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण पहिलोपटक ३० खर्बमाथि पुगेको हो । त्यसमा १४ खर्ब १० अर्ब ३१ करोड नौ लाख आन्तरिक र १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ बाह्य ऋण छ ।
समीक्षा अवधिमा सरकारले कुल एक खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण लिएको छ । यसैगरी, ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ ऋणको साँवा पनि तिरेको छ । डलरलगायतका विदेशी मुद्राको मूल्य घटेपछि वैदेशिक ऋण १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँले घटेको छ । यसरी कुल ऋण ३० खर्बमाथि पुगेको छ ।
३४.८९ अर्बले बढ्यो आन्तरिक ऋण
समीक्षा अवधिमा आन्तरिक ऋणको दायित्व ३४ अर्ब ८९ करोड ५० लाख रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म आन्तरिक ऋणको दायित्व १३ खर्ब ७५ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा सरकारले एक खर्ब आन्तरिक ऋण उठाएको छ । यसैगरी, ६५ अर्ब १० करोड ५० लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसरी आन्तरिक ऋणको दायित्व १४ खर्ब १० अर्ब ३१ करोड नौ लाख रुपैयाँ कायम भएको छ ।
तीन महिनामा वार्षिक लक्ष्यको १८.७३ प्रतिशत ऋण परिचालन
समीक्षा अवधिमा सरकारले वार्षिक लक्ष्यको १८.७३ प्रतिशत ऋण परिचालन गरेको छ । यो वर्ष सरकारले आन्तरिकतर्फ चार खर्ब १० अर्ब र बाह्यतर्फ दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख गरी कुल ६ खर्ब ५८ अर्ब २८ करोड सात लाख रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । त्यसमा असोज मसान्तसम्म आन्तरिकतर्फ लक्ष्यको २४.३९ प्रतिशत (एक खर्ब) र बाह्यतर्फ लक्ष्यको ९.३९ प्रतिशत (२३ अर्ब ३२ करोड ५८ लाख) प्राप्ति भएको छ । कुल ऋणको तुलनामा १८.७३ प्रतिशत अर्थात् एक खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ प्राप्ति भएको छ ।
समीक्षा अवधिमा विदेशी ऋण प्राप्ति भने कमजोर रहेको तथ्यांकले देखाउँछ । मुख्यतः पुँजीगत खर्च कमजोर हुँदा विदेशी ऋण प्राप्ति पनि कमजोर हुन गएको प्रवक्ता पुडासैनी बताउँछन् । ‘सम्बन्धित आयाोजनाको प्रगतिका आधारमा विदेशी ऋण प्राप्ति हुने हो । कतिपय शोधभर्ना मोडेलमा भुक्तानी हुन्छन् । तर, अहिले सरकारको पुँजीगत खर्च कमजोर छ । त्यसले गर्दा विदेशी ऋण प्राप्ति पनि तुलनात्मक रूपमा कम छ,’ उनले भने । अब विदेशीतर्फ दुई खर्ब २४ अर्ब ९५ करोड र आन्तरिकतर्फ तीन खर्ब १० अर्ब रुपैयाँ ऋण उठाउन बाँकी छ, जुन बाँकी नौ महिनामा परिचालन गर्नुपर्छ ।
कति तिर्यो सरकारले साँवा–ब्याज ?
समीक्षा अवधिमा सरकारले ७७ अर्ब ७४ करोड ७८ लाख साँवा र २१ अर्ब १२ करोड ५७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ । सरकारले यो वर्ष तीन खर्ब १८ अर्ब नौ करोड साँवा र ९९ अर्ब ७९ करोड रुपैयाँ साँवा गरेर कुल चार खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । त्यसमा समीक्षा अवधिमा २३.६६ प्रतिशत अर्थात् ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।
समीक्षा अवधिमा आन्तरिकतर्फ ८२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ ऋण तिरिएको छ । त्यसमा ६५ अर्ब १० करोड ५० लाख साँवा र १७ अर्ब ६३ करोड ३० लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ । यो वर्ष आन्तरिकतर्फ दुई खर्ब ४५ अर्ब ८९ करोड साँवा र ८२ अर्ब २५ करोड ब्याज तिर्ने गरी बजेट विनियोजन गरिएको छ ।
यस्तै, बाह्यतर्फ १६ अर्ब १३ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरिएको छ । त्यसमा १२ अर्ब ६४ करोड २८ लाख रुपैयाँ साँवा र तीन अर्ब ४९ करोड २७ लाख ब्याज भुक्तानी गरिएको छ । यो वर्ष बाह्यतर्फ ७२ अर्ब २० करोड साँवा र १७ अर्ब ५४ करोड ५० लाख रुपैयाँ ब्याज भुक्तानी गर्ने लक्ष्य छ ।