एमएस महालक्ष्मी–जय धनञ्जय जेभीलाई दमक–चिसापानी सडक निर्माणको जिम्मा

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

झापा- झापाको दमकदेखि इलामको माङ्सेबुङ– ६ स्थित चिसापानीसम्म जोड्ने सडक निर्माण गर्न कम्पनी छनोट गरिएको छ । निकै चासोका रूपमा रहेको यो सडक निर्माणका लागि सडक डिभिजन कार्यालय दमकले आह्वान गरेको बोलपत्रमा १९ निर्माण कम्पनी सहभागी भएका थिए ।

विभागले बिहीबार सूचना प्रकाशित गर्दै सहभागी निर्माण कम्पनीमध्ये एमएस महालक्ष्मी–जय धनञ्जय जेभी काठमाडौंलाई छनोट गरेको सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । करिब २६ किलोमिटर सडक निर्माणका लागि एमएस महालक्ष्मी–जय धनञ्जय जेभीले एक अर्ब २२ करोड ७९ लाख ४४ हजार आठ सय ७२ रुपैयाँ बोलकबोल गरेको थियो । ‘कसैको दाबी विरोध रहेको छ कि भनेर सार्वजनिक खरिद ऐनअनुसार सात दिनको आशयको सूचना निकालिएको हो,’ उनले भने, ‘कसैको दाबी विरोध परेन भने आठौँ दिनमा बोलपत्र स्वीकृत हुन्छ । त्यसपछि सम्झौताको प्रक्रियामा जाने तयारी छ ।’ तिहारसम्म ठेक्का प्रक्रियाको काम सकेर त्यसपछि धमाधम काम सुरु गर्ने योजना रहेको उनले बताए ।

झापाको दमकदेखि इलामको पश्चिम दक्षिणी गाउँपालिका माङ्सेबुङस्थित चिसापानी जोड्ने ३३ किलोमिटर सडक ०५६ सालयता चुनावी एजेन्डा बन्दै आएको छ । निर्वाचनका वेला इलाम क्षेत्र नम्बर २ र झापा क्षेत्र नम्बर ५ का उम्मेदवारले यो एजेन्डालाई सधैँ चुनावी नारा बनाउँदै आएका छन् । झापा ५ बाट निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि निर्वाचनको वेलामा यो सडकलाई आफ्नो चुनावी वाचापत्रमा प्राथमिकताका साथ राखेका थिए ।

समयमा सडक निर्माण सम्पन्न यहाँका स्थानीयले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । ३४ वर्षअघि निर्माण थालनी गरे पनि हालसम्म सम्पन्न हुन नसकेको यो सडक यसपटक भने निर्माण हुने स्थानीयको अपेक्षा छ । दमक–चिसापानी सडकको ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले दुई खण्डको ठेक्का १३ वैशाख ०८० मा तोडिएको थियो ।

आठ वर्षमा पनि सकिएन सात किलोमिटर सडक
दमक–चिसापानी सडकको पहिलो खण्डअन्तर्गको सात किलोमिटर सडक आठ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीले सार्वजनिक खरिद ऐनअनुसार अहिले जरिवाना तिरिरहेको छ । तर, काम भने हालसम्म ८५ प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । पहिलो खण्डअन्तर्गत दमकको प्वाइन्टदेखि सात किलोमिटर सडक निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो । कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो ।

सुझावित समाचार