काठमाडौं/ नागढुंगा सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनले १५ असोजदेखि शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै १५ कात्तिकदेखि टोल शुल्क लाग्ने बताएको हो ।
११ साउनमा उद्घाटन गरिएको सुरुङमार्गको प्राविधिक तयारी, तालिम तथा परीक्षणपछि अब व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको हो । सुरुङमार्गलाई चिनियाँ संलग्न जोइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले परियोजनालाई पाँच वर्षसम्म सञ्चालन गर्ने गरी एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का पाएको छ ।
सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय रुपैयाँ र ठुला उपकरणलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
सडकको बोर्डमा जम्मा हुने गरी सेवाप्रदायक कम्पनीले नै टोल ट्याक्स उठाउनुपर्नेछ । मोटरसाइकल, तीनपांग्रे सवारीसाधन, इन्धन बोक्ने ट्रकलाई भने सुरुङमार्गमा निषेध गरिएको छ ।