सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव

पुसदेखि ग्यास आपूर्ति सहज बनाउन नसकेको सरकारले कठिन परिस्थितिमा सरकारी उपस्थिति चाहिने भन्दै सेनालाई ग्यास उद्योग खोल्न राख्यो प्रस्ताव, सेनाको व्यावसायिक कार्ययोजना पेस भएपछि लाइसेन्स जारी गर्ने पक्षमा आयल निगम

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजनासहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ । उद्योगमन्त्री दीपक साहले सेनालाई ग्यास उद्योग खोल्न दिने पक्रिया अघि बढाएका हुन् । उनी मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफलसमेत भइसकेको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले पनि सेनालाई ग्यास उद्योग खोल्न दिने विषयमा प्रारम्भिक छलफल अघि बढेको बताए ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने औपचारिक रूपमा जानकारी नआएको बताए । ‘यो विषयमा हामीलाई औपचारिक जानकारी केही छैन । सम्बन्धित निकायमै बुझ्दा राम्रो होला,’ उनले भने । सेनाको कल्याणकारी कोषमार्फत देशका विभिन्न ठाउँमा पेट्रोल पम्प सञ्चालनमा छन् । सोही कल्याणकारी कोषमार्फत नै ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारको गृहकार्य छ । ‘सेनाले पेट्रोल पम्प सञ्चालन गरिरहेको कल्याणकारी कोषमार्फत नै ग्यास उद्योग चलाउन सक्छ भन्ने लाग्छ,’ उद्योग मन्त्रालयका प्रवक्ता बस्नेतले भने ।

अहिले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि धादिङमा प्लान्ट राखेर ‘एसटिसी’ ब्रान्डमा ग्यास कारोबार गर्दै आएको छ । तर, बजार हस्तक्षेपका लागि एसटिसी मात्रै पर्याप्त छैन । देशभर सूचीकृत भएका एक लाख ५० हजार थान ग्यास सिलिन्डरमध्ये एसटिसीसँग दुई लाख ४२ हजार सिलिन्डर स्वामित्वमा छन् । एसटिसीले धादिङ र काठमाडौं उपत्यकामा मात्रै बजारीकरण गरिरहेको छ ।

सेनालाई ग्यास उद्योग खोल्न दिँदा देशभर विभिन्न स्थानमा प्लान्ट राख्न अनुमति दिने सरकारको गृहकार्य छ । त्यस्तै, ठुलो क्षमताको स्टोरेजसहितको प्लान्ट राख्न पनि सरकारले सेनालाई मौखिक प्रस्ताव गरेको छ । अहिले ५८ वटा उद्योगसँग १० हजार एक सय टनको मात्रै भण्डारगृह छ । यो भनेको खाली सिलिन्डरमा ग्यास ‘रिफिलिङ’ गर्न पुग्ने पूर्वाधार मात्र हो । सेनालाई ग्यास उद्योग खोल्ने अनुमति दिए सञ्चालनमा आउन कम्तीमा ६ महिना लाग्ने आयल निगमका अधिकारी बताउँछन् । ‘पहिलो कुरा त सेनाले कस्तो कार्ययोजना ल्याउँछ भन्ने कुरा हो । उसको कार्ययोजना पास भयो भने पनि प्लान्टको पूर्वाधार बनाउने र त्यस क्रममा पटक–पटक निरीक्षण गर्नुपर्ने हुन्छ,’ निगमका एक अधिकारीले भने, ‘त्यसैले, एकदम छिटो भयो भने पनि ६ महिनापछि मात्रै सेनाको ग्यास उद्योग सञ्चालनमा आउन सक्छ ।’ अहिले ग्यास आपूर्ति असहज भएका वेला निजी क्षेत्रबाट सक्दो सहयोग नमिलेको सरकारको बुझाइ छ । त्यसैले सुरक्षा निकायलाई ग्यास उद्योगमा प्रवेश गराई कठिन परिस्थितिमा आपूर्ति सहज गराउने रणनीति बनाइएको निगमका ती अधिकारीले बताए ।

‘पेट्रोल र डिजेलको आपूर्ति असहज हुनासाथ सेना, प्रहरी, सशस्त्र र साझाका पेट्रोल पम्प परिचालन गर्ने गरिन्छ । ग्यासमा पनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने सोच हो,’ निगमका ती अधिकारीले भने, ‘अहिले सेनालाई मात्रै ग्यास उद्योग खोल्न दिने कुरा छ । तर, भोलिका दिनमा प्रहरी र सशस्त्रलाई पनि ग्यास उद्योगमा प्रवेश गराउने विषयमा छलफल हुन सक्छ । किनभने, तीनवटै निकायलाई पेट्रोल पम्प व्यवसाय गर्न दिइएको छ ।’

अहिले देशभर पेट्रोल पम्पको लाइसेन्स बन्द भएका वेला पनि सुरक्षा निकायलाई भने नयाँ ठाउँमा पेट्रोल पम्प खोल्न आयल निगमले सहजै लाइसेन्स जारी गर्दै आएको छ । त्यसैले, ग्यास उद्योगको लाइसेन्स दिन पनि कठिनाइ नहुने निगमको बुझाइ छ । अहिले देशभर रहेका ५८ ग्यास उद्योग धेरै भएको भन्दै घटाउन दबाब बढिरहेका वेला सेनालाई नयाँ उद्योग खोल्न दिने तयारीले आलोचना बढ्ने डर निगम अधिकारीलाई छ ।

भण्डारगृह बनाउन पनि कसरत
ग्यासको भण्डारगृह बनाउने विषयले पनि औपचारिक रूपमा प्रवेश पाएको छ । आयल निगमको सर्लाहीस्थित १५ बिघा जमिनमा भण्डारगृह बनाउने सरकारी योजना आठ वर्षअघिबाट थाती छ । उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भण्डारगृह हुँदा आपूर्ति सहज भएकाले ग्यासको भण्डारगृह पनि बनाउने योजना अघि बढेको बताए । ‘आयल निगमसँग ग्यासको भण्डारगृह हुने हो भने आपूर्ति सहज गराउन मद्दत मिल्ने देखिन्छ,’ उनले भने, ‘त्यसैले, भण्डारगृह निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाउन लागिएको छ ।’ सर्लाहीको जग्गामा भण्डारगृह निर्माणको योजना अघि बढेको खण्डमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतीहारी डिपोबाट पाइपलाइनबाट ग्यास ल्याउने निगमको योजना छ ।

पेट्रोल पम्प चलाइरहेको सेनालाई ग्यास उद्योग पनि सञ्चालन गर्न दिने विषयमा प्रारम्भिक छलफल भइरहेको छ : जितेन्द्र बस्नेत, प्रवक्ता, उद्योग मन्त्रालय 
nullसेनालाई ग्यास उद्योग खोल्न दिने विषयमा प्रारम्भिक छलफल अघि बढेको छ । अहिले प्रारम्भिक रूपमा छलफल भएको हो । देशभर पेट्रोल पम्प सञ्चालन गरिरहेको सेनालाई ग्यास उद्योगबाट चाहिँ किन अलग राख्ने भनेर सोचिरहेका हौँ ।

सरकारसँग ग्यास आपूर्ति गर्न बलियो संयन्त्र भयो भने कठिन परिस्थितिमा काम गर्न सजिलो हुन्छ भन्ने बुझाइ हो । पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भण्डारगृह हुँदा आपूर्ति सहज भएकाले ग्यासको भण्डारगृह पनि बनाउने योजना अघि बढेको छ । आयल निगमसँग ग्यासको भण्डारगृह हुने हो भने आपूर्ति सहज गराउन मद्दत मिल्ने देखिन्छ । 

सुझावित समाचार