- भोटेकोशी विपत्तिबारे जानकारी गराउन बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस
काठमाडौं/ जलवायु विपत् पूर्वतयारीमा एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्य गर्ने नेपालको प्रस्तावलाई ५३ देशले समर्थन गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु विपत्को सामना गर्न क्षेत्रीय रूपमा अन्तरिक्ष प्रविधि, स्याटेलाइट सूचना पहुँच र तथ्यांक आदानप्रदान गर्न प्रस्ताव गरेका थिए ।
नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे बैंककमा आयोजना गरेको उच्चस्तरीय क्षेत्रीय बहसमा एसिया प्यासिफिक देशका मन्त्रीहरूसँग छलफल भएको छ । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएन इएससिएपी)को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका अवसरमा नेपालले बिहीबार ‘सगरमाथादेखि सागरसम्म : एसिया–प्रशान्त क्षेत्रमा शृंखलाबद्ध विपत् रोक्न नेपालको भोटेकोशी–त्रिशूली विपत्तिले सिकाएका पाठहरू’ विषयक संवाद आयोजना गरेको हो । कार्यक्रममा गत भदौमा नेपालको उच्च हिमाली क्षेत्रमा गएको विशाल हिमपहिरोका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा भीषण शृंखलाबद्ध विपत्ति आएको र यस घटनाले जलविद्युत् आयोजना, सडक पूर्वाधार, सीमावर्ती संयन्त्र तथा स्थानीय समुदायको जीविकोपार्जनमा ठुलो क्षति पुर्याएको जानकारी गराइएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपालका तर्फबाट ऊर्जामन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली विपत्ति नेपालका लागि मात्र नभई सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रका लागि नै चेतावनीको घण्टी भएको बताए । उनले हिमाली जोखिमसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य, भूउपग्रह (स्याटेलाइट) तथा डिजिटल प्रविधिको प्रयोग र वित्तीय स्रोतको आवश्यकतामा जोड दिए ।