प्रसारणलाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि

विद्युत् जहाँ पुर्‍याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

विद्युत् नियमन आयोगले प्रसारणलाइनको भाडादर (ह्विलिङ चार्ज) निर्धारण गर्न दुई दशकअघिको फेजआउट मोडेल लागू गरेपछि जलविद्युत् उद्यमी र सरोकारवाला असन्तुष्ट बनेका छन् । आयोगले बिहीबार ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै प्रसारणलाइनको भाडादर निर्धारण गर्ने मोडेल पहिलोपटक लागू गरेको हो । तर, उक्त मोडेल विश्वमा करिब फेजआउट भइसकेको र निजी क्षेत्रमैत्री समेत नभएको जलविद्युत् उद्यमीले तर्क गरेका छन् ।

प्रसारणलाइनको शुल्क निर्धारण गर्न विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणले प्राविधिक रूपमा धेरै अध्ययन गरेका थिए । यो व्यवस्थापछि निजी क्षेत्रले विद्युत् व्यापार गर्न अनुमति पाएको अवस्थामा बिजुली प्रवाह गर्न प्राधिकरणको प्रसारणलाइन प्रयोग गर्न सक्नेछन् । यसअघि राष्ट्रिय प्रणालीमा निजी क्षेत्रको खुला पहुँच हुने भनिए पनि भाडादर निर्धारण नहुँदा त्यसले पूर्णता पाएको थिएन । 

nullतर, यो मोडेल अवैज्ञानिक देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले बताए । यो मोडेलअनुसार प्रसारणलाइन प्रणालीमा धेरै विद्युत् उपलब्ध भएमा लागत ह्विलिङ चार्ज सस्तो हुन सक्नेछ । तर, प्रसारण प्रणालीमा कम विद्युत् उपलब्ध भएमा ‘ह्विलिङ चार्ज’ पनि महँगो पर्न जान्छ ।

उदाहरणका लागि, राष्ट्रिय प्रसारण प्रणालीमा १० हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । त्यो क्षमताको प्रसारण प्रणालीको निर्माण र सञ्चालन खर्च पनि सोहीअनुसार खर्च लाग्छ । त्यस अवस्थामा प्रणालीमा १० हजार मेगावाट नै विद्युत् उपलब्ध भएमा भाडादर न्यायोचित रूपमा निर्धारण हुन सक्नेछ । तर, त्यसमा ५५ सय मेगावाट विद्युत् उपलब्ध भएमा बाँकी ४५ सय मेगावाट विद्युत्को भागमा पर्ने दायित्व पनि सोही ५५ सय मेगावाटको विद्युत्मा पर्नेछ । अर्थात्, विद्युत् प्रसारण प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभएमा सञ्चालित विद्युत्मा दायित्व बढ्नेछ । यो समस्यालाई यो मोडेलले सम्बोधन नगर्ने उद्यमीको गुनासो छ ।

आयोगका अध्यक्ष रामप्रसाद धितालले आगामी दिनमा यसमा सुधार गर्दै जाने बताए । ‘हामीलाई प्राधिकरणले तथ्यांक उपलब्ध गराउनै सकेन । प्राधिकरणसँग पनि विस्तृत तथ्यांक भएको अवस्था थिएन । तथ्यांक अभावका कारण प्रसारणलाइनको लम्बाइ, क्षमता आधारमा ह्विलिङ चार्ज निर्धारण गर्ने मापदण्ड ल्याउन सकेनौँ । अहिले विद्युत् जोडिने र विथ–ड्र गरिने विन्दु जहाँ भए पनि शुल्क एउटै लाग्छ । तर, आगामी दिनमा यसलाई क्रमशः सुधार गर्दै जानेछौँ । नेपालमा पहिलोपटक यस्तो व्यवस्था गर्न सक्यौँ । त्यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ ।’

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मनोज सिलवालले पनि ह्विलिङ चार्जका लागि ल्याइएको मोडेल व्यावहारिक नदेखिएको बताए । ‘कुनै १० मेगावाट विद्युत् १०० किमि प्रसारणलाइनमा ह्विलिङ गर्दा लाग्ने शुल्क र १० किमि प्रसारणलाइनमा ह्विलिङ गर्दा लाग्ने शुल्क पक्कै पनि समान हुँदैन । प्रतिमेगावाट/प्रतिकिलोमिटर मोडेलमा शुल्क निर्धारण गर्नुपर्ने विधि आउनुपर्ने हो । दूरीअनुसार प्राविधिक चुहावट पनि फरक–फरक हुन्छ । त्यो अवस्थामा प्रतिमेगाावाट/प्रतिकिलोमिटरलगायतका आधारमा शुल्क निर्धारण गर्ने विधि नै वैज्ञानिक हुने थियो,’ उनले भने । 

उनले यो नीति तत्काल कार्यान्वयन हुने स्थिति पनि नभएको बताए । ‘अहिले सञ्चालनमा भएका परियोजनाको विद्युत् प्राधिकरणले नै बुक गरेको छ । निर्माणाधीन आयोजनाको विद्युत् पनि प्राधिकरणले नै खरिद गर्नेछ,’ उनले भने, ‘पिपिए हुन बाँकी आयोजनाको विद्युत् प्राधिकरणबाहेकको संस्थाले किन्न सक्ने अवस्था छ । त्यसमा यो नीतिअनुसार प्रसारणलाइन भाडामा लगाउन सकिन्छ । तर, जलविद्युत् परियोजना बन्न कम्तीमा पनि चार–पाँच वर्ष लाग्छ । त्यो अवस्थामा तत्काल यो कार्यान्वयन हुने वातावरण छैन ।’ 

सुझावित समाचार