- तातोपानीको घट्टेखोलामा ४० फुटे कन्टेनर पास हुने गरेर बाटो फराकिलो बनाउने काम जारी
- दसैँअघि १० दिन खुला भए मात्र पनि पाँच सय कन्टेनर सामान आयात गर्न सकिने
- कोरोला नाकामा नेपालपट्टि ७० र चिनियाँ क्षेत्रमा ५० कन्टेनर स्याउ अलपत्र
सिन्धुपाल्चोक/इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सडक सञ्चालनमा आउन लागेको छ । सडक भासिएर साँघुरो भएको तातोपानीको घट्टेखोलामा ४० फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख सिनियर डिभिजन अफिसर नारायणदत्त भण्डारीले जानकारी दिए । कोदारी राजमार्गको मर्मत र पुनर्निर्माणको काम सडक कार्यालय चरिकोटले गर्दै आएको छ ।
उक्त सडक मर्मतलगत्तै ३१ असारदेखि ठप्प रहेको तातोपानी नाकासमेत खुल्ने सम्भावना बढेको छ । चिनियाँ व्यवसायी पनि चाडपर्वलक्षित सामान तातोपानी नाकाबाट पठाउने तयारीमा जुटेका छन् ।
ल्हासाबाट कोरोलातर्फ हिँडेका हेभी कन्टेनर न्यालमतर्फ मोडिन थालेका छन् । चिनियाँ ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले दिएको जानकारीअनुसार चाडपर्वलक्षित फलफूल र रेडिमेड सामान बोकेका ४० फुटे कन्टेनर खासा जान न्यालमतर्फ हिँडेका छन् ।
तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल र चीनका सरकारी अधिकारीले मंगलबार स्थलगत निरीक्षणसमेत गरेका थिए । हिमालय सीमापार वाणिज्य संघले पनि चाडपर्वलक्षित सामान ल्याउने विकल्प तातोपानी मात्रै भएकाले नाका खुलाउन दबाब बढाइरहेको छ । संघका कार्यकारिणी सदस्य तथा फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीले तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सक्रिय बनेको जानकारी दिए । आउँदो २१ असोजसम्म राष्ट्रिय दिवस भएकाले चीनमा सरकारी बिदा छ । २२ असोजबाट तातोपानी खुलाउन चिनियाँ पक्ष भौतिक रूपमै सक्रिय हुने जानकारी पाएको पराजुलीले बताए ।
‘दसैँअघि तातोपानी नाका खुल्ने विश्वस्त चिनियाँ पक्षबाट जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘दसैँअघि १० दिन खुला भए मात्र पनि पाँच सय कन्टेनर सामान आयात गर्न सकिन्छ ।’ दसैँअघि मुस्ताङ नाकापट्टि सडकको नयाँ ट्र्याक बने पनि ठुला गाडीको आवतजावत सम्भावना नरहेको उनले बताए । कोरोला नाकामा नेपालपट्टि ७० र चिनियाँ क्षेत्रमा ५० कन्टेनर स्याउ अलपत्र परेको उनले जानकारी दिए । ‘दसैँअघि काठमाडौं नल्याउने हो भने ४० करोडभन्दा बढीको फलफूल कुहिने निश्चित छ,’ उनले भने । दसैँका लागि ल्याइएका फलफूल, बच्चाका कपडा र जुत्ता, तिहारको झिलिमिली सामान, ड्राई फ्रुट्स र लसुन कोरोलाको सीमानाकामा अलपत्र परेको उनले जानकारी दिए ।
तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले पनि दसैँका सामान तातोपानीबाट आयात हुने सम्भावना बढेको बताए । ‘आधिकारिक त केही भनेका छैनन् । तर, चिनियाँ पक्ष तातोपानी खुलाउन सकारात्मक देखिएका छन्,’ उनले भने । नेपाल–चीन सीमा बैठकमा दोभासेको भूमिकासमेत निभाउँदै आएका नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पाले कोदारी सडक पूर्ण सञ्चालनमा आउनासाथ चिनियाँले कन्टेनर पठाउने तयारी गरेको जानकारी दिए ।
रसुवा बाढीपछि सामान आयात गर्न तातोपानी खुला गर्नुको विकल्प नभएको उनको भनाइ छ । ‘भोटेकोशी बाढीपछि तातोपानीबाट सामान ल्याउने चिनियाँ सोचाइ थियो । तर, कोदारी सडक धेरै ठाउँमा पहिरोले पुरेकाले सम्भव भएन,’ उनले भने । सरकारले ४० फुटे कन्टेनर कुद्ने गरी कोदारी सडक सञ्चालनमा ल्याउनासाथ चिनियाँ पक्षले कन्टेनर पठाउन सुरु गर्ने उनले दाबी गरे । खासाको पुनर्निर्माण अन्तिम चरणमा पुगे पनि त्यहाँको भूगोलप्रति चीन सरकार चिन्तित रहेकाले स्थायी रूपमा तातोपानी नाका सञ्चालनको टुंगो भने छैन ।
नेपाल–चीनको सबैभन्दा छोटो नाका तातोपानी सञ्चालनमा समस्या आएको प्रमुख कारण भौगोलिक विकटता हो । बाह्रबिसेदेखि तातोपानी लिपिङसम्मको २६ किलोमिटर सडक जीर्ण छ । धेरै ठाउँमा पहिरो र सडक भासिएर ४० फुटे कन्टेनर आवतजावत गर्न नसक्ने अवस्था छ ।