कृषि र औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

बुटवल/ कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भैरहवाका कृषि उद्योगी–व्यवसायीले भोग्दै आएका औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्याबारे रुपन्देहीका उद्योगीसँग भएको छलफलमा कृषि उत्पादनको व्यवसायीकरण, कृषिउपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार गर्ने जानकारी गराएकी हुन् ।

बैठकमा उद्योगी–व्यवसायीले उद्योग सञ्चालनका क्रममा भोग्दै आएका व्यावहारिक समस्या, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, बजार व्यवस्थापन, सरकारी सहजीकरण तथा कृषि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । उद्योगी–व्यवसायीका सुझाव सुनेपछि मन्त्री चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताइन् ।

मन्त्री चौधरीले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको बजार विस्तार गर्न कृषि उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । उनले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

सुझावित समाचार