अखिल नेपाल फुटबल संघ (एन्फा)ले असन्तुष्ट रहेका पूर्वमहासचिव इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार भएको कार्यसमिति बैठकले तुलाधरलाई सिइओमा नियुक्त गरेको हो । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित नौ सदस्यले उनको नियुक्ति अवैधानिक भन्दै विवाद गरेका थिए । यसअघि एन्फाले रिक्त रहेको सिइओका लागि खुला प्रतिस्पर्धामा आवेदन दिनका लागि निर्णय गरेको थियो । तर, तुलाधरलाई कार्य समितिको बैठकले सीधै सिइओमा नियुक्त गरेपछि वरिष्ठ उपाध्यक्ष खड्कासहित अन्य सदस्यले विरोध जनाएका हुन् । उनीहरूले नेतृत्वलाई नियम पालना गर्न अनुरोध गरेका छन् ।
अध्यक्ष पंकजविक्रम नेम्वाङसहित ११ सदस्यको बहुमतले तुलाधरलाई सिइओको जिम्मेवारी सुम्पिएको छ । असन्तुष्ट समूहकै सदस्य पेमा लामाले कार्य समितिको बैठकमा महिलाको अपमान भएको दाबी गर्दै माइन्युटमा हस्ताक्षर नगरी बाहिरिएकी थिइन् । एन्फाको बैठक निर्धारित समयमा भन्दा एक घन्टा ढिला सुरु भएको थियो ।
तुलाधरले एन्फामा पटक–पटक सिइओ र महासचिवको अनुभव बटुलेका छन् । ०७९ को ६ असारमा भएको एन्फा निर्वाचनमा तुलाधरले तत्काल एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सहयोग गरेका थिए । नेम्वाङको समूहले एन्फा निर्वाचनमा निर्वाचित भएपछि तुलाधर बाहिरिए । लगभग डेढ वर्ष एन्फाबाट बाहिर रहेका उनी सिइओ पाउने भएपछि पुनः फर्किएका हुन् । गत साता सिइओ पाउने पक्कापक्की भएपछि तुलाधरले एन्फाका महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वलाई सहयोग गर्न तयार भएको बताएका थिए ।
अवैधानिक रूपमा बैठक चलाएको आरोप
एन्फा केन्द्रीय सदस्य रूपेश अधिकारीले अवैधानिक रूपमा नेम्वाङले बैठक चलाएको आरोप लगाएका छन् । ‘यस बैठकमा पूर्वाग्रह राखेर जिम्मेवारी खोसिएको छ, उपेन्द्रमानजस्तो खेलाडीको क्लबलाई पूर्वाग्रह राखेर कारबाही भएको छ । ‘यतिसम्म निर्लज्ज अवैधानिक कार्यसमिति बैठक बसेको थिएन,’ अधिकारले नयाँ पत्रिकासँग भने । पदपूर्ति समितिका उपाध्यक्ष विराटजंग शाहीको स्थानमा महासचिव राई आएका छन् । केन्द्रीय सदस्य अनिल मल्लले यसको विरोध गरेका छन् । ‘यो कानुन र विधानसम्मत छैन । कुनै पनि तलबी कर्मचारी समितिमा बस्न पाउँदैनन् । यो अवैधानिक छ,’ मल्लले भनेका छन् । प्रतियोगिता संयोजकमा वरिष्ठ उपाध्यक्ष खड्काको स्थानमा दीपक खतिवडा आएका छन् ।
सदस्य अधिकारीले आफूअनुकूल पद बाँडेर नेपाली फुटबल ढाल्ने काम भएको आरोप लगाए । एन्फाले प्रशासन प्रमुख वसन्त रिजाललाई बर्खास्त गरेको छ । सहिद स्मारक बी डिभिजन लिगको मध्यपुर युथ एसोसिएसनलाई विधानविपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्म फुटबलका गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको छ ।
९७ दिनमा फेरिएका तुलाधर
‘ए’ डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरले गत २५ भदौमा एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राई निलम्बनमा परेको घोषणा गरेका थिए । उनले एन्फाका ८७ मध्ये ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष र महासचिवको बर्खास्त गर्न १९ आरोपसहित वरिष्ठ उपाध्यक्ष खड्कालाई निवेदन बुझाएका थिए । ‘यो नेतृत्व खत्तम भयो, विधानसम्मत कुनै कार्य भएन, हामीले अविश्वासको प्रस्ताव इमेल गरेका छौँ,’ त्यसवेला तुलाधरले भनेका थिए, ‘इमेल गरेसँगै अध्यक्ष र र महासचिव निलम्बन भइसक्नुभयो ।’ पूर्वअध्यक्ष शेर्पासँगै तुलाधरलगायतले अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव फेस गरेपछि एन्फाले २३ कात्तिकमा मकवानपुरमा विशेष साधारणसभा आह्वान गरेको थियो । तुलाधरले एक्कासी ‘यु टर्न’ गर्दै नेम्वाङ पक्षसँग सहकार्य गर्ने वाचा गरे । तुलाधरको यसै निर्णयसँगै नेम्वाङले आफूविरुद्धको अविश्वासको प्रस्ताव प्रतिरक्षा गर्न सफल भए ।
स्रोतअनुसार सिइओ पाउने भएपछि तुलाधरले शर्पा समूह परित्याग गरी नेम्वाङसँग सहकार्य गरेका हुन् । ‘हामीले अविश्वासको प्रस्ताव हालेका थियौँ, मकवानपुरबाट अध्यक्ष वैधानिक हुनुभयो, महासचिवले फुटबललाई सबै मिलेर चलाऔँ भन्नुभयो, म फुटबलमा रमाउने व्यक्ति हुँ, कसैले अवसरवादी भन्छन् भने मेरो केही भन्नु छैन,’ तुलाधरले नयाँ पत्रिकासँग भने । एन्फा स्रोतअनुसार सिइओ बनेका तुलाधरले एक लाख २५ हजार रुपैयाँ प्रतिमहिना पारिश्रमिक पाउनेछन् ।
नेतृत्वलाई सघाउन तयार छु : तुलाधर
हामीले अविश्वासको प्रस्ताव हालेका थियौँ, हेटौँडाको विशेष साधारणबाट अध्यक्ष नेम्वाङ वैधानिक हुनुभयो । विशेष साधारणसभापछि पनि अदालत र अख्तियार जाने काम भयो । मलाई यसबारेमा केही थाहा भएन । महासचिवले फुटबललाई सबै मिलेर चलाऔँ भन्नुभयो । म फुटबलमा रमाउने व्यक्ति हुँ । कसैले अवसरवादी भने भन्नु केही छैन ।
हामी अदालत जान्छौँ
वीरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष, एन्फा
यो नियुक्ति प्रक्रिया नै गलत छ । खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा स्पष्ट छ । यो नियुक्तिमा हामी नौजनाले असन्तुष्टि जनाएका छौँ । म पहिला खेलकुद परिषद्मा गएर उजुरी दिन्छु । त्यहाँपछि खेलकुद मन्त्रालय जान्छु ।
त्यहाँ पनि सम्बोधन नभए अदालत जान्छु । पदपूर्ति समितिमा विराटजंग शाहीजस्तो व्यक्तिलाई हटाएर महासचिव आफैँ बसेका छन् । पूर्वअध्यक्षले नराम्रो गर्नुभयो भनी पंकजजी र मैले नै विरोध गरेका थियौँ, अहिले यही दोहोरिएको छ । महासचिव पदेन सदस्य मात्र हुन् । महासचिवले कुनै नियुक्ति दिन पाउँदैनन् ।
सधैँ पदकै लोभ
एन्फाका पदाधिकारी फुटबल विकासभन्दा पनि आन्तरिक द्वन्द्वमै रमाइरहेका छन् । पदको लोभकै कारण एन्फाभित्र सधैँ राजनीतिक खिचातानी चलिरहेको छ । दुई दशक एन्फामा बिताइसकेका तुलाधरले विभिन्न पक्षसँग सहकार्य गरेका छन् । आकर्षक पद र पारिश्रमिक पाउँदा उनको बोली फेरिनु नयाँ इतिहास होइन । यसैकारण, उनलाई एन्फा र फुटबल वृत्तमा पदमा लोभिने अवसरवादी व्यक्तित्व भनेका हुन् ।
०६३–६४ सालमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध उनले आन्दोलन सुरु गरेका थिए । त्यतिवेला राष्ट्रिय खेलकुद परिषद्ले नेपाल फुटबल संघ नै गठन गरेको थियो । यस समूहको हर्ताकर्ता नै तुलाधर थिए । राखेपले गठन गरेको फुटबल संघमा उनी महासचिव बने । थापाले फुटबल विवाद सल्टाउन आफू अध्यक्ष र तुलाधरलाई सिइओ दिने प्रस्ताव राखे । तुलाधरले सहजै थापाको प्रस्ताव स्वीकार गरे ।
यसैगरी, ०७१ सालमा शेर्पा समूहले अध्यक्ष थापाविरुद्ध ‘चेन्ज एन्फा’ नारा दिएर आन्दोलन सुरु गरेको थियो । यतिवेला तुलाधर एन्फाका सिइओ थिए । उनले अध्यक्ष थापाको बचाउ गरिरहेका थिए । फिफाले थापालाई कारबाही गरेपछि नरेन्द्र श्रेष्ठ कार्यवाहक अध्यक्ष बने । कर्माछिरिङ शेर्पा र श्रेष्ठबीचको भएको अध्यक्ष निर्वाचनका लागि तुलाधर श्रेष्ठकै पक्षमा लागेका थिए ।
०७२ सालमा तुलाधर शेर्पाको समूहमा छिरे । अर्कोपटकको एन्फा निर्वाचनमा तुलाधरको साथ पाउँदा शेर्पा अध्यक्षमा निर्वाचित भए । शेर्पाको कार्यकालमा तुलाधर महासचिव बने । डेढ वर्षअघिको निर्वाचनमा शेर्पा र तुलाधरको समूह नेम्वाङसँग पराजित भएको थियो । अहिले क्याम्प परिवर्तन गरेका तुलाधर नेम्वाङकै समर्थन गरी सिइओ बन्न सफल भएका छन् ।