गुगलविरुद्धको सुनुवाइले स्थापित गरेको खतरनाक नजिर

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

गैरकानुनी एकाधिकार कायम गरेको आरोपको सुनुवाइमा गुगलका गतिविधिले विरोधाभास झल्काउँछ 

आधुनिक इन्टरनेट युगको सबैभन्दा ठूलो एन्टीट्रस्ट ट्रायल (एकाधिकारविरुद्धको अदालती सुनुवाइ) अघिल्लो महिना टुंगियो । विश्वकै सबैभन्दा चर्चित सर्च इन्जिन गुगलविरुद्ध अमेरिकाको न्याय विभाग (डिओजे)ले मुद्दा दायर गरेको थियो । यो सुनुवाइ माइक्रोसफ्टविरुद्ध डिओजेको सन् १९९० को मुद्दासँग धेरै अर्थमा मिल्छ । त्यसवेला माइक्रोसफ्टविरुद्धको सुनुवाइ गोप्य ढंगले गरिएको थिएन, तर गुगलविरुद्धका अधिकांश सुनुवाइमा सीमित पत्रकार र पर्यवेक्षकलाई मात्रै उपस्थितिका लागि अनुमति दिइयो । 

सूचनालाई विश्वव्यापी रूपमा पहुँचयोग्य बनाउनु गुगलको घोषित उद्देश्य नै हो, तर गैरकानुनी एकाधिकार कायम गरेको आरोपको सुनुवाइमा गुगलका गतिविधिले विरोधाभास झल्काउँछ । गुगलले आफ्नो व्यवसायलाई जोगाउन विश्वव्यापी महत्वको मुद्दाको पारदर्शितालाई सीमित पार्न अदालतलाई मनाएर प्रेस स्वतन्त्रतालाई कमजोर पारेको छ । वास्तवमा गुगलको प्रयासले खतरनाक नजिरको निर्माण गरेको छ । सुरुदेखि नै गुगलले धेरैभन्दा धेरै सूचना जनताबाट टाढा राख्न हरसम्भव प्रयास गरेको थियो । गुगलले अदालती सुनुवाइको प्रत्यक्ष अडियो फिडको प्रसारमा आपत्ति जनाउँदै न्यायाधीशलाई मुख्य साक्षीको बयानलाई प्रसार गर्नबाट रोक्न लगाएको थियो । गुगलका अनुसार मुख्य साक्षीको बयान सार्वजनिक हुँदा व्यापारसम्बन्धी गोप्य सूचना चुहिन्थ्यो । सुनुवाइ टुंगिदा आफ्नो वेबसाइटमा डिओजेले प्रमाण पोस्ट गरेको भन्दै गुगलले विरोध जनाएको थियो र त्यसको हप्तादिनमै प्रमाण वेबसाइटबाट हट्यो । न्युयोर्क टाइम्सले अदालतमा अन्य सञ्चारगृहको समर्थनमा सुनवाइमा पत्रकारलाई पहुँच उपलब्ध गराउन निवेदन दायर गरेको थियो ।

मिडिया पर्यवेक्षकले सुनुवाइको समाचार तयार गर्ने सञ्चारगृहका चुनौतीबारे उल्लेख्य मात्रामा लेखेका छन् । यी पर्यवेक्षकका अनुसार गुगलविरुद्धको सुनुवाइमा भौतिक रूपमा उपस्थित हुँदा अत्यधिक खर्च लाग्ने अवस्था थियो । विज्ञापनसम्बन्धी प्रकाशन गर्ने सञ्चारगृह मिडियापोस्टमा एक वरिष्ठ लेखकले ‘यदि सुनुवाइको प्रत्यक्ष प्रसारण गरिएको भए सबै मानिसले सुनुवाइ सुन्ने थिए’ भनेर लेखेका छन् । यसबाहेक अदालती सुनुवाइमा उपस्थित सीमित पत्रकारले पनि रिपोर्टिङ गर्न, तथ्य जाँच गर्न र सार्वजनिक अभिलेखलाई समाचारमा लिंक गर्न समयको दबाब झेलेका थिए । परम्परागत सञ्चारमाध्यममा विश्वास घटिरहेको समयमा समाचार रिपोर्टिङ मात्र नभई श्रव्यदृश्यमा पनि आउनु थप आवश्यक बनेको छ ।

सुनुवाइको कभरेजमा विदेशी मिडियाले थप व्यवधान व्यहोरेका थिए, किनभने केही धनाढ्य अमेरिकी सञ्चारगृहले मात्रै गुगलविरुद्धको सुनुवाइबारे रिपोर्टिङ गरेका थिए । यसले धेरैजसो विदेशी सञ्चारमाध्यम विशेषतः विकासोन्मुख मुलुकका सञ्चारमाध्यमलाई ब्लुमबर्ग, रोयटर्स र एपी न्युजजस्ता स्रोतमा निर्भर बन्न बाध्य बनायो । यो निर्भरताले स्वतन्त्र प्रेसको शक्तिलाई कमजोर बनाउँछ । ठूला सञ्चारगृहमा हुने निर्भरताले दर्शक र पाठकलाई स्वतन्त्र ढंगले समाचार पस्किन खोज्ने स्वतन्त्र मिडियालाई वञ्चित गरेको छ ।

माइक्रोसफ्टको सुनुवाइमा झैँ गुगलको एन्टीट्रस्ट ट्रायल अमेरिकाको सिमानामा मात्रै सीमित छैन । इन्टरनेटमा गरिने विश्वव्यापी सर्च (खोजी)को ९० प्रतिशतभन्दा बढी हिस्सा गुगलले ओगट्ने भएकाले सूचनाको नियन्त्रणमा गुगलको महत्वपूर्ण स्थान छ । गुगलले एप्पल र अन्य प्रविधि कम्पनीसँग तिनका डिभाइसमा डिफल्ट सर्च इन्जिनमा आफ्नो स्थान सुरक्षित गर्न आकर्षक व्यापार सम्झौता गर्ने गर्छ । यी सम्झौताले ब्राजिल वा दक्षिण अफ्रिकाजस्ता मुलुकलाई अमेरिकाले जत्तिकै प्रभाव पार्छ । वास्तवमा एन्ड्रोइडको बजार विकसितका तुलनामा विकासशील राष्ट्रमा बढी छ । सर्चबाट आउने विज्ञापन आम्दानी मूल्य नियन्त्रण गर्न प्रयोग गरिने संयन्त्र र सम्भवतः रणनीति पनि अमेरिका र अन्यत्र समान छन् ।

यसरी सुनुवाइको प्रत्यक्ष प्रसारण र प्रमाणको समयमै हुने पहुँचले विश्वव्यापी प्रेस स्वतन्त्रतामा ठूलो प्रभाव पार्न सक्थ्यो । उदाहरणका लागि यदि अडियोलाई प्रसारण गरिएको भए सञ्चारगृहलाई साक्षी बयान अनुवाद गर्न र स्थानीय दर्शकका लागि सान्दर्भिक मल्टिमिडिया स्टोरी विकास गर्न मद्दत गर्ने थियो । यसले बजारका अन्य प्रतिस्पर्धी र गुगलकै ग्राहकलाई गुगलसँगको सम्बन्धबारे संवाद गर्न बलियो प्रोत्साहन सिर्जना गर्न सक्छ । पारदर्शिता बढ्दा गुगलका काममाथि उच्च निरीक्षण र पहरेदारी हुन्थ्यो, अर्थात् प्रेस स्वतन्त्रताको महत्व थप बढ्थ्यो ।  

अदालती सुनुवाइले ठूला प्रविधि कम्पनीको (बिग टेक) वास्तविक शक्ति कति छ भनेर देखाउन चुक्यो । एक साक्षीसँगको सोधपुछका क्रममा गुगलले आफूलाई सन् २०२१ मा आइफोनसहित थुप्रै डिभाइसमा डिफल्ट सर्च इन्जिन बनाउन २६ अर्ब डलर तिरेको थियो । यसबाहेक गुगलका साक्षीले भूलवश गुगलले सफारी ब्राउजरबाट आउने सर्च एदभर्टिजिङ रेभिन्यू (खोज–विज्ञापन आम्दानीको) ३६ प्रतिशत हिस्सा एप्पललाई भुक्तान गर्छ भन्ने खुलासा गरेका छन् । यस अर्थमा गुगलले सर्च एदभर्टिजिङको मूल्य बढाउने निर्णय गर्दा खासै धेरै विरोध झेल्नुपर्दैन । 

गुगलविरुद्धको मुद्दाको फैसला अर्काे वर्ष हुने अनुमान गरिएको छ । यति भन्दै गर्दा गुगल अमेरिकामा कानुनी कारबाही वा सुनुवाइ सामना गर्ने बिग टेक कम्पनीको अन्तिम उदाहरण हुनेछैन । डिओजेले गुगलको विज्ञापन व्यवसायलाई लक्षित गर्दै यसविरुद्ध दोस्रो मुद्दा पनि दायर गरेको छ । स्मरण रहोस्, विज्ञापन व्यवसायले समाचार प्रकाशक र विज्ञापनदाताबीचको सम्बन्धलाई सहज बनाउँछ । यससँगै अमेरिकी संघीय व्यापार आयोगले अनलाइन रिटेलको क्षेत्रमा कम्पनीको वर्चस्वलाई लिएर अमेजनविरुद्ध कानुनी कारबाही गरेको छ । अदालत र डिओजेसँग गुगलको गोप्य सुनुवाइले निर्माण गरेको खतरनाक नजिरलाई सुधार गर्ने अवसर अझै पनि छ । लोकतन्त्रको आधार मानिने स्वतन्त्र एवं विविधतायुक्त प्रेसभन्दा माथि कर्पाेरेट स्वार्थ कहिल्यै पनि आउनुहुँदैन । 

(मोन्टोया सेन्टर फर जर्नालिजम एन्ड लिबर्टीकी वरिष्ठ पत्रकार एवं नीति विश्लेषक हुन्)
प्रोजेक्ट सिन्डिकेट 

See More On

सुझावित समाचार