नर्कमा बदलिएको गाजा

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

गाजाका २२ लाख मानिसले युद्ध र पूर्ण घेराबन्दीको आघात सहन थालेको एक महिनाभन्दा बढी भइसक्यो । केहीले विस्थापित भएर युद्धको कहर भोग्न थालेको महिनादिन पुगिसक्यो । अक्टोबर १३ देखि इजरायलले उत्तरी गाजाका ११ लाख बासिन्दालाई सो ठाउँ खाली गरेर दक्षिणतर्फ पलायन हुन बारम्बार धम्की दिँदै आएको छ । अहिलेसम्म इजरायली चेतावनीबाट डराएर लगभग तीनचौथाइ बासिन्दाले उत्तरी गाजा छोडेको अनुमान छ । उत्तरी गाजाको तुलनामा दक्षिणमा इजरायली आक्रमण कम छ, तर यो पनि मुस्किलले सुरक्षित छ । उदाहरणका लागि, अस्ति नोभेम्बर ७ मा खान युनिसको एउटा स्कुलमा भएको बमबारीमा एक प्यालेस्टिनीको मृत्यु भयो भने अन्य नौजना घाइते भएका थिए । यो सहर इजरायली सेनाले उत्तरी गाजाका मानिसलाई भागेर जान भनेको दक्षिणी भेगकै एउटा सहर हो । 

विस्थापित हुनेमध्ये अधिकांश संयुक्त राष्ट्रसंघका सुविधा (भवन तथा परिसर), अस्पताल र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिइरहेका छन् । ती पनि बमका धमाकाले चर्किएका छन् । खान युनिसको एक व्यावसायिक–तालिम/प्रशिक्षण केन्द्र संयुक्त राष्ट्रसंघको सबैभन्दा बढी भीडभाडयुक्त आश्रयस्थल भएको छ । यहाँ शरण लिएका व्यक्तिका लागि मुस्किलले प्रत्येक व्यक्तिलाई दुई वर्गमिटरभन्दा पनि कम ठाउँ उपलब्ध छ । एउटा शौचालयलाई कम्तीमा ६०० व्यक्तिले उपयोग गर्नुपर्छ ।

युद्धअघि गाजाका मानिसले औसतमा दैनिक ८० लिटर पानी पाउँथे । संयुक्त राष्ट्रसंघका अनुसार आपत्कालीन अवस्थामा पिउने, खाना पकाउने र सरसफाइका लागि न्यूनतम १५ लिटर पानी आवश्यक पर्छ । गाजामा अहिले दैनिक तीन लिटर मात्रै पानी वितरण हुने गरेको छ । त्यसमा पनि अधिकांश पानी पिउन अयोग्य खेतीमा प्रयोग गर्न खनिएका कृषिकुवाबाट निकालिएको पानी हुने गरेको छ । अहिले नुहाउने कुरा अधिकांश गाजावासीका लागि अकल्पनीय विलासिता बनेको छ । डिहाइड्रेसन (निर्जलीकरण)को गुनासो आम भएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार सरसफाइको कमीका कारण हजारौँ मानिसमा झाडापखालाको प्रकोप फैलिएको छ । 

खानेकुराको पनि अत्यन्त अभाव छ । मानिसहरूले आधारभूत चिजबिज पाउन बडो संघर्ष गर्नुपर्छ ।  डिब्बाबन्द माछा, प्याज र पाउरोटीका दुई–चार टुक्राले छाक टार्नु नियमित भोजन भएको छ । केही आमाहरूले शिशुलाई खुवाउने फर्मुला (ल्याक्टोजिन आदि) तयार पार्न दूषित पानी प्रयोग गरिरहेका छन् । 

गाजामा खाद्यान्न, पानी र अन्य आधारभूत वस्तुहरूको आपूर्तिको अभाव भएको कुरालाई नोभेम्बर ७ मा इजरायली सेनाले अस्वीकार गर्यो । इजरायलले आफूले सहायता वितरणमा लगाएको भिटो गत अक्टोबर २१ मा हटाएपछि तीन हजार टन खाद्यान्न र ११ लाख ५० हजार लिटर पानी बोकेका ६६५ लरी उक्त क्षेत्रमा प्रवेश गरेको विवरण दिएको छ । २३ लाख मानिस र १८ दिनले भाग नलगाउँदासम्म यो आँकडा निकै ठूलोजस्तो सुनिन्छ । तर, यति सामग्रीले २३ लाख मानिसलाई १८ दिन दैनिक प्रतिव्यक्ति ७६ ग्राम खानेकुरा र पानी २९ मिलिलिटर मात्र पुग्छ ।

उत्तरी गाजाको अवस्था त अझै अत्यासलाग्दो छ । यहाँका अनुमानित तीन लाख मानिसले इजरायलले यो स्थान छाडेर दक्षिणतर्फ जान दिएको आदेशलाई या त मान्न सकिरहेका छैनन्, या त जानाजान अटेर गरी बसेका छन् । यस क्षेत्रमा सहायता एजेन्सीहरूले सहयोग पुर्याउन सकिरहेका छैनन्, जसलाई अहिले इजरायली सेनाले घेरेर दक्षिणबाट अलग गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार उत्तरमा अहिले कुनै पनि बेकरी सञ्चालनमा छैनन् । पछिल्लो समय केही प्यालेस्टिनीहरू ढिला गरेर यो क्षेत्रबाट भागेका छन् । उनीहरूले उक्त यात्रा निकै खतरनाक भएको बताएका छन् । पैदलै उत्तरी गाजा छोडिरहेका उनीहरूमध्ये केही मानिस इजरायली सेनाको गोला वा बमबारीमा परेका थुप्रै रिपोर्ट छन् ।

८ नोभेम्बरमा आयोजित पत्रकार सम्मेलनमा हमासका अधिकारीहरूले गाजालाई पर्याप्त सहयोग उपलब्ध गराउन नसक्नुमा संयुक्त राष्ट्रसंघलाई दोष दिए । तर, उनीहरूले युद्ध सुरु गर्नुमा आफ्नो भूमिकाको बारेमा भने केही उल्लेख गरेनन्, न त गाजाको शासनको आफ्नो जिम्मेवारीबारे नै केही उल्लेख गरे । गाजाले बेहोरिरहेको यो दयनीय अवस्थाप्रति उनीहरूको उदासीनताले विरोधका केही स्वरहरू पनि जन्माएको छ । यसै महिनाको सुरुमा गृह मन्त्रालयका प्रवक्ता इयाद अल–बुज्मले अल–सिफा अस्पतालबाहिर पत्रकार सम्मेलन गर्दा एकजना व्यक्ति क्यामेराअगाडि आएर हमासको आलोचना गर्दै चिच्याएका थिए । यहाँ यस्ता प्रदर्शन दुर्लभै हुन पाउँछन्, किनकि यसअघि आलोचकहरूले यातना पाएका छन् र मारिएका पनि छन् ।

न्युयोर्कस्थित गैरनाफामूलक संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार यो युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी कम्तीमा ३४ जना प्यालेस्टिनी सञ्चारकर्मीको ज्यान गइसकेको छ । गाजाका पत्रकारहरूले हमासबाट पनि धम्की आएको बताएका छन् । उनीहरूलाई हमासबारे कुनै पनि अप्रिय समाचार सम्प्रेषण नगर्न धम्की दिइएको छ । उनीहरूमध्ये केही गनगन गर्छन्, ‘यदि इजरायलले मारेन भने हमासले मार्नेछ ।’ अहिले यहाँका अधिकांश मानिसका लागि अरू कुराका लागि कुनै समय छैन । उनीहरू केवल बच्न कोसिस गरिरहेका छन् र युद्धविरामको पर्खाइमा छन्, जुन अहिले धेरै टाढा देखिन्छ । 

– द इकोनोमिस्टबाट
 

See More On

सुझावित समाचार