क्यानले दुई वर्षमा १६ शृंखला आयोजना गर्ने

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी दुई वर्षको क्यालेन्डर सार्वजनिक गर्दै १६ शृंखला आयोजना गर्ने योजना बनाएको छ । बिहीबार नवनियुक्त सचिव पारस खड्काले आगामी दुई वर्षको क्यालेन्डर तयार गर्ने र त्यसका लागि १६ शृंखला तय भएको बताएका छन् ।

उनले महिला र पुरुष टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखला दुवै जोडेर चाँडै क्यालेन्डर सार्वजनिक गर्ने बताएका हुन् । ‘अहिले क्रिकेट उच्च लयमा छ । यसलाई निरन्तरता दिन चाँडै क्यालेन्डर तयार गर्छाैं,’ खड्काले भने, ‘महिला र पुरुषको १६ अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखला तयार भएको छ ।’ उनले थपे । खड्काले १६ शृंखलामा कम्तीमा पनि २५ देखि ३० खेल हुने तय भएको बताएका छन् । 

नेपालले आगामी कात्तिक १३ बाट २० गतेसम्म आइसिसी टी–२० एसिया क्षेत्रको छनोट खेल खेल्दै छ । नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान खेल्ने तय छ । त्यसअघि, नेपालले संयुक्त अरब इमिरेट्स र हङकङ सम्मिलित टी–२० शृंखला खेल्ने तय भएको छ । शृंखला ३० असोजदेखि ९ कात्तिकसम्म हुने क्यानले जनाएको छ । दुवै खेल मूलपानी र त्रिवि मैदानमा हुनेछन् । १६ मध्ये हालसम्म यी दुई शृंखला मात्रै तय भएका हुन् । 

क्यान र आइएमईबीच दुई वर्षे सम्झौता 
क्यान र आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे)बीच रणनीतिक साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा क्यानका सचिव खड्का तथा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार आइएमई पे आगामी २ वर्षसम्म क्यानले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरूको टिकेटिङ पार्टनरका रूपमा रहनेछ । आइएमई पेले २ वर्षमा क्यानलाई १ करोड ५० लाख उपलब्ध गराउनेछ । प्रत्येक वर्ष ७५ लाख क्यानले पाउनेछ । जसबाट १२.५ प्रतिशत रेभेन्यु आइएमई पेले नै लिनेछ भने बाँकी क्यानको खातामा जानेछ । यसैगरी, मैदान स्टाफ एक सयजनाको बिमा गर्ने र उपस्थित दर्शकको इन्स्युरेन्स हुने बताइएको छ । 

करण र सोमपाल ब्रान्ड एम्बेस्डर
आइएमई पेले क्रिकेटरद्वय सोमपाल कामी र करण केसीलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । दुवै खेलाडीले एक वर्षका लागि सम्झौता गरेका हुन् । सम्झौताअनुसार आइएमई पेले अलराउन्डर दुवैलाई जनही ५ लाख उपलब्ध गराउनेछ । दुवै खेलाडीले यो सम्झौतापछि आगामी दिनमा झनै प्रगति गर्न प्रेरणा मिलेको बताएका छन् । 

दीपेन्द्र सहायक हवल्दारमा बढुवा
चीनमा आयोजना भएको १९औँ एसियाडमा ९ बलमा विश्व कीर्तिमानसहित अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई नेपाल पुलिस क्लबले बढुवा गरेको छ । नेपाल प्रहरीका जागिरे दीपेन्द्रलाई विभागले प्रहरी सहायक हवल्दारमा बढुवा गरेको हो । संगठनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई विशेष बढुवा दिने प्रावधानअन्तर्गत दीपेन्द्रको बढुवा भएको हो । दीपेन्द्रले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धशतक पूरा गरी सबैभन्दा कम बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेका थिए । यसैगरी, नेपाल प्रहरीले संगठनमा रहेका दीपेन्द्रसँगै करण केसी, कुशल भुर्तेल, सागर ढकाल र गुल्सन झालाई सम्मान गरेको थियो । 

सुझावित समाचार