तिजमा देखिनुस् सुन्दर र स्टाइलिस

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

पहिले तिज महिलाहरूका लागि माइती जाने बहाना थियो ।  माइती जाँदा शृंगारिएर जाने चलन थियो । तिजका लागि जगेर्ना गरेर गहना तथा पहिरन लगाउने चलन हुन्थ्यो । माइती जानका लागि नयाँ लुगा र गहना किन्ने  चलन थियो ।

अहिले गहना र पहिरन फेर्नका लागि चाडबाड वा तिज कुर्नुपर्दैन । तिज मनाउने तरिका पनि बदलिएको छ । सहरी क्षेत्रमा तिज आउनुभन्दा धेरै समयअघिदेखि नै यसको माहोल बन्छ । विशेषगरी, खानपान र फेसनमा महिलाले ध्यान दिन्छन् । दर खाने र रातो पहिरनमा सजिएर हिँड्ने महिलाको भिड देखिन थालेको छ । तिजमा महिलाका लागि सबैभन्दा महत्वपूर्ण पाटो पहिरन र सुहाउँदो मेकअप हो । त्यसैले तिजमा अरू वेलाभन्दा विशेष शृंगार गरिन्छ । शिरदेखि पाउसम्म शृंगार गर्ने चलन छ । तिजमा महिलालाई कस्तो पहिरन सुहाउँछ त ?

टिनएजरलाई यस्तो ड्रेसअप
टिनएजरले लाइट ड्रेस लगाउँछन्, उनीहरूले लाइट मेकअप गर्छन् । अविवाहित वा टिनएजरले गाउन लगाउँदा पनि हुन्छ । सर्ट, कुर्ती, पाइजामा लगाउँदा हुन्छ । लेहेंगा लगाउँदा पनि हुन्छ । पहिरन पनि क्यारी गर्न सक्ने खालको छनोट गर्दा राम्रो हुन्छ । टिनएजरलाई हेभी मेकअप सुहाउँदैन । धागो चुल्ठी बाटेर हिँड्नुपर्छ भन्ने छैन । नाचगान गर्न सजिलो हुने खालको सजिलो पहिरन लगाउँदा राम्रो हुन्छ ।  टिनएजरका लागि लाइट गहनाहरू पाइन्छन् । टिनएजर वा अविवाहितलाई पहिरनमा लाइट मेकअप गर्दा मात्रै पनि सुहाउँछ । राम्रो देखिन्छ । अविवाहितले धागो लगाएर जुरो नबनाउँदा हुन्छ । हेभी नगर्ने कर्ली बनाउन पनि सकिन्छ, स्ट्रेट पनि गर्न सक्नुहुन्छ । 

पहिरन : विवाहित वा गृहिणी महिलाका लागि रातो पहिरन उपयुक्त हुन्छ । विवाहित महिलालाई साडी उपयुक्त हुन्छ । अहिले कुर्थी तथा पाइजामा पनि राम्रो डिजाइनका पाइन्छन् । हेभी खालको छनोट नगर्ने, हल्का खालको छनोट गर्नुपर्छ । गर्मी नहुने खालको लगाउँदा राम्रो हुन्छ । विवाहित महिलाका लागि धागोको चुल्ठो बनाएर सिन्दुर, टीका, पोते लगाउँदा सुन्दर देखिन्छ । 

गहना : धेरै भड्किलो खालको गहना लगाइराख्नुपर्दैन । लाइट खालको गहना लगाउँदा हुन्छ । विवाहितका लागि घाँटीमा पोते अनिवार्य लगाउँदा राम्रो हुन्छ । हेभी लगाउनुपर्दैन । पोतेले पनि सुन्दरता थप्छ, अरू गहना आवश्यक पर्दैन । 

कपाल : हेयर स्टाइल पहिरनसँग मिल्ने खालको बनाउँदा आकर्षक देखिन्छ । साडीमा विभिन्न स्टाइलका जुरो बनाउन सकिन्छ । जुरो नबनाउँदा पनि विभिन्न स्टाइलमा बाटेर बीचमा फूलको थुंगा राख्न सकिन्छ । कपाललाई समेटेर धागो लगाएर बनायो भने सजिलो हुन्छ । जसले नाच्न पनि सजिलो बनाउँछ । त्यति गर्मी महसुस हुँदैन । तर पनि कतिपयलाई विभिन्न डिजाइन बनाउन मन लाग्छ । कर्ली बनाउन मन लाग्छ, जुरो बनाउने साथै जुरोको माथि धागोका फुर्काहरूको डिजाइन निकालेर बनाउने साथै फूल राखेर पनि शृंगार 
गर्न सकिन्छ । 

मेकअप  ः तिजमा व्रत बस्ने, मठमन्दिर जाने तथा नाचगान गर्ने हुँदा मेकअप छिटै बिग्रिने डर हुन्छ । पानी र पसिनाका कारण मेकअप लतपतिन सक्छ । त्यसैले हेभी मेकअप नगरेकै राम्रो हुन्छ । गर्मी भएकाले धेरै पसिना आउने हुन्छ । वाटरप्रुफ मेकअप गर्नुपर्छ । पाउडर, फाउन्डेसन अनिवार्य लगाउनुपर्छ । त्यसैगरी, ब्रन्जिङ गर्नुपर्ने हुन्छ, यसलाई ब्लसन पनि भनिन्छ । म्याट लिपस्टिक प्रयोग गर्नुपर्छ । सकेसम्म गाजल नलगाएकै राम्रो, किनकि यसलाई पसिनाले पगाल्छ । आइस्याडो प्रयोग गर्दा राम्रो हुन्छ । वाटरप्रुफ लाइनर लगाउनुपर्छ । वाटरप्रुफ मस्कारा लगाउँदा हुन्छ । आँखाको मेकअप झन् विशेष हुन्छ । ल्यासेसहरू पनि लगाउने । पसिना आउँदा भने ल्यासेसको प्रयोग नगर्दा पनि हुन्छ । कम्तीमा चार–पाँच घन्टा अडिने गरी मेकअप गर्नुपर्छ । 

जुत्ता : तिजमा नाच्दा लडेको पनि देखिन्छ । त्यसैले जुत्ताको चयनमा पनि ध्यान दिनुपर्छ । पेन्सिल हिल लगाउनु राम्रो हुँदैन । ब्लक हिल लगाउनुपर्छ । फ्ल्याट तथा ओपन जुत्ता आरामदायी हुन्छन् । हिल भएका जुत्ता सकेसम्म नलगाउनु राम्रो हुन्छ । 

See More On

सुझावित समाचार