काठमाडौं महानगरका मेयर साह ‘टाइम म्यागेजिन’को १०० उदयीमान सूचीमा

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित उनलाई सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो ।

स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर ३३ वर्षीय साहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।

गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौंमा मेयर साहले फोहोरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ ।

साथै, फोहोरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहोर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेको समेत उल्लेख छ । उनले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ । 

सुझावित समाचार