भारत एसिया कपको फाइनलमा

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सुपर फोरमा भारतले आयोजक श्रीलंकालाई ४१ रनले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । भारतले दुई खेलबाट चार अंक बटुलेको छ । अब श्रीलंका र पाकिस्तानबीचको विजेताविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । श्रीलंका र पाकिस्तानले दुई खेलबाट समान दुई अंक बटुलेका छन् । सुपर फोरको चौथो टोली बंगलादेश अंकविहीन छ । 

भारतले अब बंगलादेशको सामना गर्नेछ । भारतलाई हराउँदा पनि बंगलादेशको अन्तिम दुई पुग्ने सम्भावना छैन । पाकिस्तान र श्रीलंकाबीचको खेल सेमिफाइनलसरह नै हुनेछ । प्रतियोगिताको मंगलबार भारतले पहिलो ब्याटिङ गरी ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । प्रत्युत्तरमा श्रीलंका ४१.३ ओभरमा एक सय ७२ रनमै समेटियो । भारतलाई जित दिलाउन कुलदीप यादवले ४३ रन खर्चेर चार विकेट लिए । श्रीलंकाका लागि दुनिथ वालालागेले सर्वाधिक ४२ र धनञ्जय डी सिल्भाले ४१ रन बनाए । 

 दुनिथको घातक बलिङ
स्पिनर दुनिथ वालालागेले घातक बलिङ गरेपछि फर्ममा रहेको भारतीय ब्याट्सम्यानले श्रीलंकाविरुद्ध सोचेजस्तो योगफल खडा गर्न सकेनन् । स्पिनर दुनिथले १० ओभरमा एक मेडन राखी सर्वाधिक पाँच विकेट लिएका थिए । उनले आफ्नो स्पेलमा ४० रन खर्चे । उनलाई साथ दिन चरिथ आसालांकाले चार विकेट हात पारे । उनले नौ ओभरमा एक मेडनसहित १८ रन खर्चेका थिए । भारतविरुद्धको १० विकेट स्पिनरले लिएका हुन् । पहिलो ब्याटिङ गरेको भारतले सुरुवात उत्कृष्ट गर्यो । 

लगातार तीन खेल प्रतिस्पर्धा गरेका भारतीय ओपनर रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि ११.१ ओभरमा ८० रनको साझेदारी गरेका थिए । गिलले २५ बलमा दुई चौकाको सहयोगमा १९ रन जोडे । दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई बोल्ड गरे । उनले भारतका शीर्ष चार विकेट लिए । 

खेलमा पूरै स्पिनर हावी भए पनि भारत इनिङ्सको एक समय २९.५ ओभरमा १५४–३ को अवस्थामा थियो । तर, दुनिथ र आसालांकाले मध्यक्रम र तल्लोक्रम ब्याटिङ ध्वस्त पारेपछि भारत मध्यम योगफलमै समेटियो । भारतले सोमबार पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाएको थियो । भारतले एसिया कपमा पाकिस्तानमाथि पहिलोपटक दुई सय २८ रनको विशाल अन्तरले हराएको थियो । 

 एकदिवसीयमा रोहितको १० हजार रन पूरा
भारतीय कप्तान रोहित शर्माले एकदिवसीय खेलमा १० हजार रन पूरा गरेका छन् । एकदिवसीय फम्र्याटमा यो सफलता प्राप्त गर्ने उनी विश्वकै १५औँ खेलाडी हुन् । श्रीलंका र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरिरहेको एसिया कपअन्तर्गत मंगलबार श्रीलंकाविरुद्ध २२ रन बटुल्दै रोहितले १० हजार रन पूरा गरेका थिए । सन् २००७ मा उनले आयरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले दुई सय ४८ खेलमा ३० शतक र ५१ अर्धशतकीय इनिङ्स खेलेका छन् । 

एकदिवसीय खेलमा उनको नाममा दुर्लभ कीर्तिमान छ । उनले तीनपटक दोहोरो शतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय खेलमै उनले श्रीलंकाविरुद्ध सन् २०१४ मा दुई सय ६४ रनको व्यक्तिगत रन जोडेका थिए । भारतबाट ५० ओभरको खेलमा १० हजार रन बनाउने उनी छैटौँ खेलाडी हुन् । यस फम्र्याटमा भारतकै सचिन तेन्दुलकरको नाममा विश्व रेकर्ड रूपमा १८ हजार चार सय २६ रन छ । सचिनले ४९ शतक लगाएका छन् । भारतका लागि विराट कोहलीले दोस्रो सर्वाधिक रनका रूपमा १३ हजार २४ रन जोडेका छन् । 

कोहलीले सोमबार पाकिस्तानविरुद्ध शतकीय इनिङ्स खेल्दै १३ हजार रन पूरा गरेका थिए । उनले एकदिवसीय खेलमा ४७औँ शतक पनि पूरा गरे । अब सचिनको विश्व रेकर्ड बराबरी गर्न उनलाई दुई शतकीय इनिङ्स आवश्यक छ । भारतका पूर्वकप्तान सौरभ गांगुली ११ हजार तीन सय ६३ र राहुल द्रविडले १० हजार ६ सय ८९ रन बनाएका छन् । सन् २०११ मा भारतलाई एकदिवसीय विश्वकप विजेता बनाएका कप्तान महेन्द्रसिंह धोनीले १० हजार सात सय ७३ रन बनाएका छन् ।

सुझावित समाचार