फ्रान्समा म्याक्रोंलाई प्रतिस्थापन गर्ने दौड सुरु : को होला उत्तराधिकारी ?

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण
फ्रान्समा म्याक्रोंलाई प्रतिस्थापन गर्ने दौड सुरु : को होला उत्तराधिकारी ?

पूर्वप्रधानमन्त्री एडवर्ड फिलिपसँग राष्ट्रपति इम्यानुएल म्याक्रों (दायाँ) । तस्बिरः एएफपी

सन् २००३ मा निकोलस सार्कोजीले हरेक समय आफ्नो दिमाग जतिखेरै पनि राष्ट्रपति पदमै केन्द्रित हुने गरेको स्विकारेका थिए । यो भनाइले सार्काेजीमा फ्रान्सेली राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिनु चार वर्षअघि नै महत्वाकांक्षा पलाएको उजागर गर्छ । उनको स्वीकारोक्ति आफ्ना अग्रज ज्याक सिराकको उत्तराधिकारी हुन उनले तय गरेको लामो र विवादास्पद संघर्षको सुरुवातलाई इंगित गर्छ, जुन उनले सन् २००७ मा राष्ट्रपति बनेर पूरा गरेका थिए । फ्रान्सेलीहरूले वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोँको उत्तराधिकारी चयन गर्न अझै चार वर्ष छ, तर उत्तराधिकारी बन्न उनका आकांक्षीहरूले अघोषित दौड सुरु गरिसकेका छन् । 

फ्रान्सको संविधानले एउटा राष्ट्रपतिलाई लगातार दुई कार्यकाल मात्र सेवा गर्ने अनुमति दिन्छ (यद्यपि, सन् २०२७ मा कार्यकाल सकिँदा म्याक्रोँ मात्र ४९ वर्षका हुनेछन् र उनले त्यसको पाँच वर्षपछि भने अर्को कार्यकालका लागि प्रयास गर्न पाउनेछन्) । फ्रान्सलाई पुनः आकार दिने प्रयासका लागि अझै पनि उनीसँग प्रशस्त समय हुनेछ । उनले राष्ट्रपतिको कामबाट दिक्क भएको वा आफ्नो महत्वाकांक्षा खुम्चिएको कुनै संकेत देखाएका छैनन् । म्याक्रोँले हालै आफ्नो कार्यकालको ‘अन्तिम मिनेटसम्म’ पनि शासन गरिरहने वाचा गरेका छन् ।

म्याक्रोँको बृहत् मध्यमार्गी क्यापभित्रबाट सम्भावित उत्तराधिकारीलाई उनीहरूमध्ये कुनै एकजना मात्रै प्राकृतिक उत्तराधिकारी नभएको कुरामा त सचेत छन् नै प्रतिस्पर्धामा उत्रने हो भने धेरै ढिला गर्नुहुँदैन भन्ने कुरा पनि राम्ररी थाहा छ । उनीहरू सबैलाई चरम दक्षिणपन्थी मरिन ले पेनविरुद्ध प्रतिस्पर्धा गर्न सक्ने एउटा विश्वसनीय उम्मेदवार चाहिन्छ भन्ने छ । ले पेनलाई राष्ट्रपतिको उम्मेदवारीको अन्तिम चरणमा म्याक्रोँले दुईपटक हराएका थिए । अग्र प्रतिस्पर्धामा रहेका तीनैजनाले सफल हुनका लागि के गर्नुपर्छ भन्ने कुरा सोचिसकेको देखिन्छ ।

सबैभन्दा बलिया आकांक्षी कडा बोल्ने आन्तरिक मन्त्री गेराल्ड डार्मानिन हुन् । उनलाई म्याक्रोँले आफ्नो दक्षिणपन्थी खेमा सुरक्षित गर्न मन्त्री नियुक्त गरेका थिए । २७ अगस्टमा उनले औद्योगिक उत्तरी सहर टुरकोइङमा ससेज र चिप्सलाई लिएर एउटा ठूलो राजनीतिक कार्यक्रम आयोजना गरे ।

पूर्वप्रधानमन्त्री एडवर्ड फिलिपदेखि आन्तरिक मन्त्री गेराल्ड डार्मानिन,  अर्थमन्त्री ब्रुनो ले माइरे र दक्षिणपन्थी नेतृ मरिन ले पेन उच्च पदका लागि आकांक्षी छन्

पहिले उनी यो सहरका मेयर थिए । त्यो कार्यक्रमले उनको व्यक्तिगत महत्वाकांक्षाको गन्ध दिन्छ । उनको प्रभावलाई सीमित बनाउन हतारहतारमा प्रधानमन्त्री एलिजाबेथ बोर्नलाई सो कार्यक्रममा पठाइएको थियो । बार मालिकका छोरा डार्मानिनले पनि आफूलाई एउटा राजनीतिज्ञको रूपमा प्रस्तुत गर्दै छन्, जो निख्ला प्राविधिकभन्दा फरक हुन्, उनलाई दैनिक चिन्ता थाहा छ । यदि मुख्य धारका राजनीतिज्ञले श्रमिक वर्ग र मध्यम वर्गलाई आकर्षित गर्ने कुनै उपाय पहिल्याउन सकेनन् भने सन् २०२७ को निर्वाचनमा ले पेन विजयी हुने ‘धेरै सम्भावना’ रहेको बताउँदै एजेन्डाहरू अघि सारेर आफूलाई उपयुक्त पात्रको रूपमा उभ्याउन खोज्दै छन् ।

म्याक्रोँले नियुक्त गरेका पूर्वप्रधानमन्त्री एडवर्ड फिलिप अधिक चलाख तर कम दृढ आकांक्षी हुन् । मत सर्वेक्षण समूह आइएफओपीका अनुसार डार्मानिनजस्तै उनी पनि मूलतः कन्जर्भेटिभ रिपब्लिकन पार्टीबाट आएका व्यक्ति हुन् । उनी ५५ प्रतिशत अनुमोदन दरसहित लोकप्रिय फ्रान्सेली राजनीतिज्ञको शीर्ष स्थानमा छन् ।

उनी नवौँ स्थानमा रहेकी ले पेनभन्दा १३ अंक र १८औँ स्थानमा रहेका डार्मानिनभन्दा १८ अंकले अगाडि छन् । म्याक्रोँ ३२ प्रतिशतको अनुमोदन दरसहित २३औँ स्थानमा छन् । सेप्टेम्बर ३ मा सार्वजनिक अर्काे नयाँ मत सर्वेक्षणले फिलिपलाई सन् ०२७ को निर्वाचनमा मध्यमार्गी र दक्षिणपन्थी कन्जर्भेटिभ दुवैलाई आकर्षित गर्न सक्ने सबैभन्दा दह्रो उम्मेदवार देखाएको छ । उनी डर्मानियनभन्दा पनि अघि देखिएका छन् । उनले विपक्षीहरूको समेत मत तान्न सक्ने देखिन्छ । 

अन्य फ्रान्सेली राजनीतिज्ञले जस्तै मुलुकबारे आफ्नो दृष्टिकोण र वाचा प्रस्तुत गर्दै फिलिपले १३ सेप्टेम्बरमा नयाँ पुस्तक ला रेन्ट्री प्रकाशित गरेर राष्ट्रपति पदको स्पर्धामा फर्कन खोज्दै छन् । सन् २०२० मा सरकार छोडेपछि उनले आफ्नै राजनीतिक आन्दोलन होराइजन्स सुरु गरेका थिए, जुन म्याक्रोँको अल्पमतको गठबन्धनको एक हिस्साका रूपमा संसद्मा छ । फिलिप नोर्मन्डीको बन्दरगाह सहर ले हाभ्रेका मेयर पनि हुन् । यसले फिलिपलाई पेरिसको राजनीति चालबाजीबाट केही समय भए पनि उम्किने सुविधाजनक मञ्च प्रदान गरेको छ । फिलिपलाई पछिल्लो समय देखेकाहरूले उनी सन् ०२७ को निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउँछन् ।

तेस्रो सम्भावित प्रतिस्पर्धी अर्का पूर्वरिपब्लिकन र हाल दोस्रो सबैभन्दा लोकप्रिय राजनीतिज्ञ एवं अर्थमन्त्री ब्रुनो ले माइरे हुन्, उनको अनुमोदन दर ४६ प्रतिशत रहेको छ । आफ्नो व्यक्तिगत आकांक्षाबारे कम मुखर र शिखर बैठकका कोठाहरूमा बढी देखिने उनी गर्मीको सिजनमा उच्च पहाडी भेगमा छुट्टी मनाउन पुगेकाहरूलाई उत्साहपूर्वक अभिवादन गरिरहेका देखिएका थिए । यी टेक्नोक्र्याटले एउटा कामुक उपन्यास प्रकाशित गरेपछि थुप्रैले आश्चर्य मानेका थिए । उनी निरन्तर सबैभन्दा लामो वित्तमन्त्री हुने व्यक्ति पनि हुन् । तर, उनले कुनै बिन्दुमा आफ्नो आकर्षण फराकिलो बनाउन र आफ्नै लागि काम गर्न चाहे भने उनी राष्ट्रपतिका लागि अघि सर्न सक्छन् । 

अर्का पूर्वप्रधानमन्त्री जिन कास्टेक्स, नेसनल एसेम्बलीका प्रमुख याएल ब्राउन–पिभेटदेखि ३४ वर्षीय शिक्षामन्त्री गेब्रियल एटलसम्मका अन्य नेताले पनि राष्ट्रपति पदको उम्मेदवारीका लागि सोचविचार गरिरहेको बताइन्छ । यीमध्ये हरेकले म्याक्रोँप्रतिको बफादारी र यस वर्ष हडताल र दंगाको सामना गरेका अलोकप्रिय यी राष्ट्रपतिसँगको थोरै दूरीलाई मिलाउनुपर्ने आवश्यकता देखिन्छ । 

चार वर्षको अवधि निकै लामो समय हो । म्याक्रोँ आफैँ पनि पहिलोपटक राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभन्दा पहिले खासै सुपरिचित थिएनन् । उनको पार्टी रेनेसान्समा उम्मेदवार छनोट गर्न कुनै संगठित प्रक्रिया पनि छैन । यो पार्टीको जरो बलियो छैन, त्यसैले वर्तमान राष्ट्रपतिविना अहिलेकै स्वरूपमा नरहन पनि सक्छ । तर, राष्ट्रपतिको पदका लागि ले पेनको चुनौतीले यो तत्कालिक विषय बनेको छ ।

यी उग्र दक्षिणपन्थी नेतृले चुपचाप दाउ थापिरहेकी छन्, उनी संसद्को विपक्षी बस्ने बेन्चमा विनम्रतापूर्वक बसिरहेकी छिन् र आगामी राष्ट्रपतिजस्तो देखिने प्रयास गरिरहेकी छिन् । राष्ट्रपति म्याक्रोँले उत्तराधिकारीको योजनाबारे सोच्न नचाहेका हुन सक्छन् । तर, फ्रान्सको आधुनिकीकरणका लागि राष्ट्रपतिको दुई कार्यकाल काम गरेका एक नेताका लागि आफ्नो उत्तराधिकारी एक चरमपन्थी हुनु, जसरी अमेरिकामा बाराक ओबामाको विरासत डोनाल्ड ट्रम्पले लिँदा पीडादायी भएको थियो, त्यस्तै पीडादायी हुनेछ ।
–द इकोनोमिस्टबाट

See More On

सुझावित समाचार