काठमाडौं जिल्ला प्रशासन कार्यालयले भन्यो– प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध छ
सार्वजनिक बिदाको दिन आफ्नी श्रीमती सवार सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार बालेनको नाम उल्लेख नगरी एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने काम नगर्न सम्झाएको छ । त्यस्तो गतिविधि गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
‘असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ,’ बालेनको नाम उल्लेख नगरी घटनालाई इंगित गर्दैै जिल्ला प्रशासन कार्यालयका प्रवक्ता खड्गबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध छ ।’
बालेनकी श्रीमती सबिना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडी शनिबार साँझ कोटेश्वरमा चेकजाँचमा परेको थियो । त्यसको केही समयपछि नै बालेनले अब महानगरको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने उत्तेजक अभिव्यक्ति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेका थिए । उनले सरकारलाई समेत आपत्तिजनक भाषामा गाली गरेका थिए । दुई दिनपछि सोमबार भने बालेनले उक्त स्टाटस हटाएका छन् ।
सार्वजनिक बिदाको दिन सरकारी कामकै लागि भए पनि सरकारी गाडीको सुविधा उपभोग गर्दा तोकिएका अधिकारीबाट सवारी पास लिनुपर्ने नियमबारे पनि जिल्ला प्रशासनले विज्ञप्तिमा स्मरण गराएको छ । ‘सरकारी स्रोत–साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयमार्फत विगतदेखि नै हुँदै आएको छ । यस सन्दर्भमा गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्रसमेत गर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पासको प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ ।’
चेकजाँचका क्रममा चालकले उक्त गाडी मेयर बालनले चढ्ने गरेको जानकारी दिएको, तर गाडीभित्र बालेन नदेखिएपछि र बिदाको दिन चलाउँदा आवश्यक पर्ने पास पनि नलिएको देखिएपछि ट्राफिक प्रहरीले सम्झाएर छाडेका थिए । प्रहरीका अनुसार केरकारका क्रममा सात मिनेट गाडी रोकिएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कार्यालयबाट जारी विज्ञप्ति सामाजिक सञ्जालमार्फत गलत टिप्पणी गर्ने सबैप्रति लक्षित भएको बताए । उनले भने, ‘सामाजिक सञ्जालमार्फत गलत टिप्पणी गर्ने परिपाटी बढेको देखियो । सोही सन्दर्भमा कार्यालयले विज्ञप्ति सार्वजनिक गरेको हो । गलत ‘स्टाटस’ लेख्ने सबैप्रति विज्ञप्ति लक्षित छ ।’
सञ्चालकले नै बन्द गरे ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेज
आपत्तिजनक अभिव्यक्ति प्रकरणमा मेयर बालेन साहको बचाउमा उत्रिएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द गरिएको छ । सञ्चालक भिक्टर पौडेलले नै पेज बन्द गरेका हुन् । यो पेजमा ४० लाख फलोअर्स छन् । पौडेल बालेनका सहयोगी हुन् । पौडेलले बालेनको बचाउमा रुटिन अफ नेपाल बन्दबाट सार्वजनिक गरेको स्टाटसको चर्को आलोचना भएको थियो ।