डेंगुबाट बच्न

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । जुनसुकै उमेरका मानिसमा यो समस्या देखिन सक्छ । डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान सक्छ । त्यसैले यो रोग लाग्न नदिन सतर्कताका उपाय अवलम्बन गर्नु नै बुद्धिमानी हुन्छ । 

डेंगु संक्रमणले गर्भवती र पेटभित्रको शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दैन । तर, एन्टिबायोटिक औषधि सेवन गर्न नमिल्ने भएकाले संक्रमण हुँदा गर्भवतीलाई निकै गाह्रो हुन्छ । त्यसैले गर्भावस्थाका महिला यस रोगबाट बच्नका लागि विशेष सतर्क रहनुपर्छ । तुलनात्मक रूपमा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई डेंगुले धेरै गलाउने भएकाले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी सचेत हुन जरुरी छ । 

लक्षण 
डेंगु भएका अधिकांशमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर अत्यधिक दुख्ने हुन्छ । जोर्नी दुख्ने, पेट दुख्ने, जिउमा डाबर आउने, छाती दुख्ने, वाकवाकी लाग्नेलगायत लक्षण देखिन्छ । केही मानिसमा अचानक ब्लडप्रेसर बढ्ने वा घट्ने हुन्छ । केहीमा झाडापखाला हुने हुन्छ । कसै–कसैको शरीरका विभिन्न अंगमा रक्तश्राव पनि हुन सक्छ । कसैकसैमा नाक, गिजा वा शरीरका अरू अंगबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, श्वास फेर्न गाह्रो हुनेलगायत 
लक्षण देखिन्छ ।

अरू वेलाभन्दा डेंगु लागेका वेला शरीरमा पानी कम हुने गर्छ । त्यसैले डेंगुका लक्षण देखिएको समयमा प्रशस्त पानी र झोलिलो खानेकुरा खानुपर्छ । धेरै मसला, चिल्लो भएका खानेकुरा खानुहुँदैन । स्वास्थ्य संस्थामा गएर परामर्श र परीक्षण गर्नुपर्छ । त्यहाँ डेंगु संक्रमण भए÷नभएको निक्र्योल गरेर त्यहीअनुसार उपचार थालिन्छ । जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । 

के गर्ने ?

लामखुट्टेको टोकाइबाट बच्ने । घरवरिपरि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने । किनकि, जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा लामखुट्टे फैलिने गर्छ ।

राति सुत्दा झुल लगाएर सुत्ने, झ्यालमा जाली लगाउने, झाडी तथा प्रदूषित ठाउँमा नजाने । जानैपरे लामो बाहुला भएका कपडा लगाएर जाने । लामखुट्टे भगाउने खालका मलम छालामा लगाउने । गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई त्यस्ता ठाउँमा जान नदिने । 

डेंगु भइहालेमा नआत्तिने, चिकित्सकसँग परामर्श गर्ने । जथाभावी औषधिको प्रयोग नगर्ने । पानी धेरै खाने, अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुँदा पानी बढी खाने । धेरै मसला, चिल्लो भएका खानेकुरा नखाने । झोलिलो खानेकुरा प्रशस्त खाने । 

See More On

सुझावित समाचार