दीपेन्द्र पहिलो सहभागितामै च्याम्पियन

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

क्यानडामा चलेको ग्लोबल टी–२० फ्रेन्चाइज लिगमा नेपालबाट पूर्वकप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले सहभागिता जनाए । संयोगले दुवै खेलाडी सहभागी भएको टोलीबीच नै उपाधि भिडन्त भयो । तर, दीपेन्द्र आबद्ध मोन्ट्रियल टाइगर्सले च्याम्पियनसिप हात पार्यो । फाइनल भिडन्तमा टाइगर्सले सन्दीप सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले हरायो । टाइगर्सले अन्तिम बलमा बाजी मारेको हो । पहिलो ब्याटिङ गरेको जगुअर्सले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३० रन जोडेको थियो । प्रत्युत्तरमा टाइगर्सले २० ओभरमा पाँचै विकेट गुमाएर रोमाञ्चक जित निकाल्यो । 

दुई नेपाली खेलाडीको प्रभाव
दीपेन्द्र आफ्नो पहिलो सहभागितामै प्रभाव छाड्न सफल भएका छन् । टाइगर्सबाट ६ खेल खेलेका उनी टोलीकै सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा रहे । उनले एक सय ४० रन जोड्न एक सय ४३ बलको सामना गरेका थिए । लिगमा उनले स्ट्राइक रेट १०२.१४ को स्ट्राइकमा १२ चौका प्रहार गरेका थिए । उनले लिगमा दुई विकेट पनि हात पारे । लेग स्पिनर सन्दीपले पनि प्रतियोगितामा उत्कृष्ट बलिङ गरे । उनले आठ खेलमा ११ विकेट हात पारे । यसपटकको टी–२० लिगमा उनी समग्रमा चौथो सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले आठ खेलमा ११ विकेट हात पारे ।

 अन्तिम बलमा विजयी छक्का
जगुअर्सका लागि ओमानका खेलाडी जतिन्दर सिंहले ५७ बलमा सर्वाधिक ५६ रन जोडेका थिए । टाइगर्सका लागि युएईका बलर आयन अफजल खानले दुई विकेट लिए । फाइनल खेलमा दीपेन्द्रले बलिङको अवसर नै पाएनन् । लक्ष्य पछ्याउँदा टाइगर्सका लागि दीपेन्द्रले सेफरेनसँग पाँचौँ विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यी दुई खेलाडीबीच गतिलो साझेदारी भइरहँदा टाइगर्सले रनरेट उकास्न दीपेन्द्रको स्थानमा वेस्ट इन्डिजका एन्ड्रे रसेललाई पठाएको थियो । दीपेन्द्र १६ रनमा रिटायर्ड आउट भएका थिए । 

उनी क्रिजबाट बाहिरिँदा टाइगर्सलाई अन्तिम दुई ओभरमा २५ रन चाहिएको थियो । टाइगर्सले दीपेन्द्रलाई फिर्ता बेलाउने निर्णय सही देखियो । खेलपछि रसेलले दीपेन्द्रसँग माफी मागेका छन् । अन्तिम ओभरमा टाइगर्सलाई १२ रन आवश्यक थियो । स्ट्राइकमा रदरफोर्डले पहिलो दुई बलमा सात रन जोडेका थिए । रसेलले अन्तिम बलमा छक्का प्रहार गर्दै जित दिलाए । 

सुझावित समाचार