एन्फाले २६ क्लबलाई पाँच करोड ३१ लाख दिन बाँकी

एन्फाले पछिल्ला दुई वर्षमा आयोजना गरेको लिगमा सहभागी क्लबहरूलाई तयारी खर्च दिन बाँकी

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण
एन्फाले २६ क्लबलाई पाँच करोड ३१ लाख दिन बाँकी

एन्फाका महासचिव किरण राई (दायाँ) लाई पत्र बुझाउँदै क्लबका पदाधिकारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक डिभिजन लिगमा आबद्ध २६ क्लबलाई पाँच करोड ३१ लाख बक्यौता दिन बाँकी रहेको देखिएको छ । ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लबका पदाधिकारीहरूले पछिल्ला दुई वर्षमा एन्फाबाट सो रकम लिन बाँकी भएको जनाएका छन् । यसै सन्दर्भमा पदाधिकारीले बाँकी रहेको रकम उपलब्ध गराउन एन्फाका महासचिव किरण राईलाई बिहीबार ध्यानाकर्षणपत्र बुझाएका छन् । 

एन्फाले आर्थिक वर्ष ०७७/७८ र ०७९/८० को लिगका क्लबहरूलाई रकम बुझाउन बाँकी रहेको हो । ‘एन्फाले अहिलेसम्म बाँकी रहेको रकम नदिएपछि हामी बाध्य भएर संयुक्त रूपमा ध्यानाकर्षण गराएका हौँ,’ हिमालयन शेर्पाका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ पत्रिकासँग भने, ‘एन्फाले पटक–पटक हामीलाई दिने मात्र भनिरह्यो, तर कहिले दिने थाहा छैन ।’

एन्फाले पछिल्ला दुई आर्थिक वर्षमा सञ्चालन भएको ‘ए’ डिभिजन लिगमा क्लबहरूलाई ९७ लाख ५० हजार र दुई करोड ४५ लाख गरी तीन करोड ४२ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसैगरी, ‘बी’ डिभिजन लिगअन्तर्गत ०७७÷७८ मा क्लबहरूले ९१ लाख रुपैयाँ पाउन बाँकी रहेको शेर्पाले बताएका छन् । ०७९÷८० को लिगमा ३५ लाख गरी एन्फाले बी डिभिजन लिगमा आबद्ध क्लबलाई समग्रमा १ करोड २६ लाख दिन बाँकी रहेको जनाइएको छ । 

यसैगरी, ‘सी’ डिभिजन क्लबका पदाधिकारीले अहिलेसम्म ६३ लाख रुपैयाँ एन्फाबाट पाउन बाँकी रहेको बताएका छन् । तीनवटै डिभिजन लिगको गरी एन्फाले दुई आर्थिक वर्षको कुल पाँच करोड ३१ लाख ५० हजार दिन बाँकी रहेको हो । समयमै रकम उपलब्ध नगराए ती क्लबले आगामी दिनमा थप कार्यक्रमको घोषणा गर्न बाध्य हुने एन्फालाई चेतावनी दिएका छन् । 

‘धेरै प्रतीक्षा गर्यौँ, तर एन्फाले दिने कुनै सुर नै कसेकोजस्तो लागेन,’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने, ‘अहिले ध्यानाकर्षणपत्र बुझाएका छौँ, तत्कालै प्राप्त नभएमा थप सशक्त आन्दोलन गर्छौं ।’ शुक्रबार एन्फाको कार्यसमिति बैठकअघि क्लबहरूले फुटबलको मेरुदण्ड मानिने लिगलाई आर्थिक, प्राविधिक, भौतिक र व्यवस्थित रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । यसैगरी, उनीहरूले आर्थिक पारदर्शिता कायम गरी आर्थिक स्रोतको ग्यारेन्टी गरेर मात्रै खेल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । एन्फाको आश्वासनको भरमा खेल सञ्चालन गरेर फुटबलको विकास नहुने उनीहरूको भनाइ छ । 

एन्फा सदस्य थापा र श्रीमतीलाई विमानस्थलबाटै फर्काइयो
न्युजिल्यान्ड र अस्टे«लियाले संयुक्त रूपमा आयोजना गरिरहेको महिला फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा)बाट टिकट लिएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फर्काइरहेको छ । विमानस्थलबाट बुधबार राति एन्फाका केन्द्रीय सदस्य पुरुषोत्तम थापा र उनकी श्रीमती अञ्ज कारञ्जित फकाईए । गत साता धादिङ फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ र सदस्य हरि खतिवडा पनि विमानस्थलबाट यसरी नै फर्काइएका थिए । यसै साता एन्फाबाट टिकट लिएका थप तीन व्यक्तिलाई सिंगापुरबाटै नेपाल डिपोर्ट गरिएको थियो । यसैगरी, कपनमा बस्दै आएका अन्य दुई व्यक्ति विमानस्थलबाटै फर्काइएका थिए । 

थापा र उनकी श्रीमतीले न्युजिल्यान्डको अकल्यान्डमा शनिबार हुने स्विट्जरल्यान्ड र स्पेनबीचको खेल हेर्न एन्फाले उपलब्ध गराएको टिकट काटेका थिए । थापा दम्पतीले चाइना साउथर्न एयरलाइन्सबाट टु वे टिकट लिएका थिए । यसका लागि उनीहरूले चार लाख ६२ हजार रुपैयाँ खर्चिएका छन् । चाइना साउथर्नको अकल्यान्डको उडान तालिका बुधबार राति १२ः०५ बजे थियो । थापा दम्पती विमानस्थलमा १० बजेभित्र प्रवेश गरिसकेका थिए । भित्र प्रवेश गर्नुअघि उनीहरूलाई परिवारका सदस्यहरूले विमानस्थलमै बिदाई गरेका थिए । परिवारसँग बिदा हुँदै दुवै बोर्डिङ पास लिन काउन्टरमा पुगेका थिए । टिकटअनुसार उनीहरूको सुरुमा ग्वाङझाउमा ‘ट्रान्जिट’ थियो । 

विमानस्थलमा आधा घन्टा छलफल
‘हामी सबै प्रक्रिया पूरा गरी र कागजपत्रसहित एयरपोर्ट पुगेका थियौँ, तर आधा घन्टाको छलफलपछि उहाँहरूले फर्काउनुभयो,’ थापाले नयाँ पत्रिकासँग भने, ‘अघिल्लो साता पनि यस्तै घटना भएको थियो ।’ एन्फाले उपलब्ध गराएको टिकट काटेर विश्वकप हेर्न जाने व्यक्तिलाई विमानस्थलका अधिकारीले फर्काइरहँदा सम्बन्धित निकायले हल्का रूपमा लिइरहेको उनको आरोप छ । 

‘एन्फाले यसलाई हल्का रूपमा लिइरहेको छ, हामी त्यसैको सिकार भयौँ, हामीलाई अर्काेपटक पुनः प्रयास गर्नुहोला भनेर फर्कायो,’ थापाले भने, ‘एन्फाले हलुका रूपमा लिँदा विश्वकपको प्रिक्वार्टरफाइनल खेल हेर्नबाट वञ्चित भयौँ ।’ उनले टिकट फिर्ता हुनुपर्ने माग राखेका छन् । यसअघि थापा दम्पतीले अस्ट्रेलियामा आयोजना भइरहेको विश्वकप हेर्न भिसा आवेदन दिएका थिए । त्यसवेला अस्ट्रेलियाले भिसा दिएन ।  

मापदण्ड अपुग भन्दै फर्काएको छ
झम्क ढकाल, वरिष्ठ अध्यागमन अधिकृत, विमानस्थल 

हामीलाई यही भनेर खबर आएको छैन । न्युजिल्यान्ड जाँदा सिंगापुरबाट डिपोर्ट भएका र विश्वकप जान नपाएकाहरूको मापदण्ड अपुग भनिएको छ । अध्यागमनको कानुनअनुसार फर्काएको हो । धेरैको वर्तमान कानुनअनुसार मापदण्ड नभएको भनिएको छ । 

सुझावित समाचार