नेपाल आयल निगमको लिमिटेडको सञ्चालक समिति बैठक साढे पाँच बजेलाई डाकिएको छ। बैठकमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित गर्ने प्रमुख एजेन्डा राखिएको छ।
स्रोतका अनुसार १५ दिनअघिबाट सुरु भएको स्वचालित मूल्य प्रणालीलाई कार्यान्वयन गर्नुपर्ने निगमको जोड छ। बैठकले स्वचालित प्रणालीलाई निरन्तरता दिने निर्णय गरे पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्नेछ भने खाना पकाउने एलपी ग्यासको मूल्य घट्नेछ।
मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल ७.८० रुपैयाँ, डिजेल ६.६१ रुपैयाँ, मट्टीतेल ७.५० रुपैयाँ र हवाई इन्धन करिब ८ रुपैयाँ प्रतिलिटर बढाएर पठाएको छ। बढेको मूल्यमा निगमले आगामी १५ दिनसम्म इन्धन खरिद गर्नुपर्ने हुन्छ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ।आइओसीले पठाएको मूल्यलाई आधार मानेर स्वचालित प्रणाली कायम गर्ने हो भने नेपाली बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य ठूलो अन्तरले बढ्नेछ।
किनभने लागत मूल्यमा ग्यासबाहेक अन्य पेट्रोलियममा निश्चित प्रतिशत नाफा जोडेर निगमले उपभोक्ता मूल्य जोड्ने गरेको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले स्वचालित मूल्य प्रणाली कायम गरेर जानुपर्ने निगमको प्रस्ताव रहेको र आवश्यक छलफलपछि सञ्चालक समिति बैठकबाट निर्णय लिइने जानकारी दिए।
‘यसअघि मूल्य घटेर आउँदा नेपाली बजारमा मूल्य घटाएको दृष्टान्त छ। त्यसैले यसपटक बढेर आउँदा पनि पेट्रोलियमको मूल्य बढाउनुपर्ने देखिएको छ,’ ती अधिकारीले भने।