रोमाञ्चक पदयात्रा आमा याङ्ग्री

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिममा अवस्थित आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । ३,७७१ मिटर उचाइमा रहेको आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ । प्राकृतिक र भौगोलिक रूपमा आकर्षक र नजिकको सजिलो पदयात्रा हो ।

यहाँबाट लाङटाङ, जुगल र गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री, भेमाथाङ र गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अनुभव गर्न पाउँछन् ।

यसका अतिरिक्त धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तूपा, मनमोहक झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ । आमा याङ्ग्री हेलम्बु हेरिटेज ट्रेल (तल्लो हेलम्बु ट्रेक), माथिल्लो हेलम्बु ट्रेक र गन्जला पास ट्रेकको रुटमा पनि पर्दछ । नयाँखाङ हिमाल (गन्जला चुली), आमा बाङरिमा आरोहण गर्न जाँदा पनि यही बाटो हुँदै जान सकिन्छ । 

आमा याङ्ग्री कसरी पुग्न सकिन्छ ?
आमा याङ्ग्री जाने रुट धेरै छन् । तर, मुख्यतः दुई रुटबाट पर्यटक आमा याङ्ग्री जाने गर्छन् । 

पदयात्रा 
काठमाडौंदेखि चिसापानी हुँदै दोस्रो दिनमा कुटुम्साङ पुगिन्छ । कुटुम्साङबाट ठाडेपाटी हुँदै चौथो दिन मिलाम्छिम घ्याङ हुँदै तार्केघ्याङ वास बस्न सकिन्छ । तार्केघ्याङबाट ज्योमोथाङ हुँदै आमा याङ्ग्री दर्शन गरी छैटौँ दिनमा सेर्माथाङ पुगिन्छ  र सेर्माथाङबाट गुरु रिन्पोछे स्तूपा, तिम्बु हुँदै काठमाडौं फर्किन सकिन्छ । 

जिप वा मोटरसाइकलमार्फत
काठमाडौंदेखि मेलम्ची, तिम्बु हुँदै ज्योमोथाङसम्म पुगिन्छ । 

दोस्रो दिन बिहानै आमा याङ्ग्रीसम्म पदयात्रा गरी ज्योमोथाङ हुँदै सेर्माथाङ र तेस्रो दिन सेर्माथाङबाट गुरु रिन्पोछे स्तूपा, तिम्बु हुँदै काठमाडौं फर्किन सकिन्छ । 

आमा याङ्ग्री हुँदै जाने अन्य ट्रेकिङ ट्रेल

माथिल्लो हेलम्बु पदयात्रा : घोप्टे घ्याङ, ठाडेपाटी, भेधादर, लेह बर्मा, बेमाथाङ, दुक्पु र ज्योमोथाङबाट काठमाडौं ह्योल्मो हेरिटेज (तल्लो हेलम्बु) पदयात्रा ः सुन्दरीजल, चिसापानी, कुटुमसाङ, थाडेपाटी, मेलम्ची घ्याङ, तार्केघ्याङ, सेर्माथाङ, तिम्बु हुँदै काठमाडौं ।

गन्जला पास ट्रेक : काठमाडौंबाट मेलम्ची, तिम्बु, ज्योमोथाङ, दुक्पु, याङ्ग्री खोला, गन्जला पास र बेसक्याम्प, लाङटाङ, लामा होटेल, स्याब्रुबेँसी, हुँदै काठमाडौं । 

सुझावित समाचार