मनसुनमा पदयात्रा

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

कतिपय मानिस ट्रेकिङको सौखिन हुन्छन् । वर्षा, गर्मी, जाडो सबै महिनामा घुम्न रुचाउँछन् । नेपालमा केही त्यस्ता पदमार्ग छन्, जहाँ बाह्रै महिना यात्रा गर्न सकिन्छ । अग्ला हिमशृंखलाको दृश्य, साँघुरा गल्ली, दुर्लभ पशुपन्छी तथा विशाल हरियाली फाँटहरूसहित सुन्दर परिदृश्य र स्थानीयको रहनसहनलाई नजिकबाट नियाल्दै यात्रा गर्न पाउँदा पर्यटकले आनन्द महसुस गर्न सक्छन् ।

कोरी पदमार्ग : मनसुनको समयमा पदयात्रा गर्न ‘कोरी ट्रेक’ उपयुक्त हुन्छ । यो काठमाडौंदेखि पोखरा, सिकलेस हुँदै जान सकिन्छ । यहाँ अन्नपूर्ण, फिस्टेल, गौरीशंकरलगायतका हिमाललाई नजिकबाट देख्न सकिन्छ । यो पदमार्गमा भेडीगोठ र चौरीगोठ देख्न पाइन्छ । यो आन्तरिक पर्यटकलाई लक्षित गरेर बनाइएको पदमार्ग पनि हो । मनसुनका वेला यो पदमार्गमा यात्रा गर्दा विभिन्न रङका फूल फुलेको देख्न सकिन्छ । कोरीबाट माछापुच्छ्रे हिमाल, गौरीशंकर, अन्नपूर्णलगायत हिमाल नजिकबाट देख्न सकिन्छ । हिमाल र हरियाली हेर्न पनि मिल्छ । फूलको दृश्य मात्रै होइन, सिकलेसको स्थानीय गुरुङ संस्कृतिलाई पनि नियाल्न सकिन्छ । त्यसैले कोरी डाँडाको पदयात्रा गर्न उपयुक्त हुन्छ । यो पदमार्ग ३८ सय मिटर उचाइमा छ । पहिलो दिन काठमाडौंदेखि सिकलेस, दोस्रो दिन सिकलेसदेखि तर्खा खर्का, तर्खा खर्काबाट कोरी डाँडा पुग्न सकिन्छ । यात्राका लागि जम्मा पाँच दिन समय छुट्याउँदा हुन्छ । 

गोइसाइँकुण्ड : गोसाइँकुण्ड बौद्ध र हिन्दू समुदायको प्रसिद्ध तीर्थस्थल हो । गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध छ । पदयात्रा गर्दा लाङटाङ लिरुङ, गङचेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाल, विभिन्न हिम शृखंला देख्न सकिन्छ । विभिन्न प्रकारका वनस्पति, जीवजन्तु, रातो पान्डा, हिमालयन थार, हिमाली भालु, कस्तुरी मृग, हिमालयन बाख्रा, हिउँचितुवासहित धुपी र अन्य धेरै प्रजातिका वनस्पति तथा वन्यजन्तुहरू अवलोकन गर्न पाइन्छ । पदयात्रीले हिमाली भेगमा बसोवास गर्ने शेर्पा, तामाङ र तिब्बती समुदायको कला, संस्कृति, भेषभूषा खानपान र रहनसहनको अनुभव लिन सक्छन् । गोसाइँकुण्ड पदयात्रा नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्छ । यो यात्राका लागि एक हप्ताको समय छुट्याए हुन्छ । 

पाँचपोखरी : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१, मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यो पदमार्ग पनि उपयुक्त हुन्छ । ६ दिने यात्राका क्रममा पर्यटकले प्राकृतिक दृश्यसँगै स्थानीय संस्कृतिलाई पनि नजिकबाट नियाल्न पाउँछन् । यात्राका क्रममा पर्यटकले सोलुखुम्बुको तल्लो भेगका उपत्यकासँगै नुम्बुर, कुसुम कांगुरु, कांगटेगा, कञ्चनजंघालगायत हिमशृंखला देख्न पाउँछन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पाँचपोखरीको धार्मिक तथा सांस्कृतिक महत्व विशेष छ । पाँचपोखरीमा भदौ महिनाको जनैपूर्णिमा र नागपञ्चमीका दिन भव्य मेला लाग्छ । यात्राका क्रममा स्थानीय कला, संस्कृति, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाइन्छ । 

दीपेन्द्र थापा, अल नेपाल एक्सकर्सन
मनसुनको वेलामा प्राकृतिक सौन्दर्य, जैविक विविधता, जीवजन्तु नियाल्दै पदयात्रा गर्न सकिन्छ । आधारभूत सुविधाविहीन कठिन भूबनोटमा यस समय जान गाह्रो हुन्छ । वर्षात् थोरै समयमा पनि यात्रा गर्न मिल्ने पदमार्ग रोज्नु राम्रो हुन्छ । 

सञ्जीव गुरुङ, ट्रिप हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन
नेपालमा बाह्रै महिना पदयात्रा गर्न सकिने पदमार्गहरू छन् । यस समय प्रकृति, हरिया फाँट, झरना, घाँसेमैदान हेर्दै डुल्न सकिन्छ । विभिन्न गाउँमा पुगेर कृषिको परम्परागत सीप तथा स्थानीयको अर्गानिक रहनसहन नियाल्न सकिन्छ ।

सुझावित समाचार