सामाजिक सञ्जाल चलाउँदा यी विषयमा ख्याल गरौँ

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

सामाजिक सञ्जालको प्रभाव र प्रयोग बढ्दो छ । मानिसहरू सूचना, जानकारी, गेम खेल्न तथा साथीभाइसँग कुराकानी गर्नका लागि यसलाई प्रयोग गर्छन् । तर, सामाजिक सञ्जालमा सबै राम्रा कुरा मात्रै हुन्छन् भन्ने छैन । विशेषगरी, यसमा आउने गलत सूचनाले धेरैमा भ्रम सिर्जना गरिरहेको हुन्छ । त्यस्तै, अनावश्यक साइटहरू खोल्दा विभिन्न अश्लील सामग्री आइरहने हुन सक्छ । यसको नकारात्मक प्रभाव बालबालिका र किशोरकिशोरीमा पर्ने गरेको देखिन्छ । 

यस्ता विकृतिबाट बच्नका लागि सामाजिक सञ्जालबारे पर्याप्त जानकारी हासिल गर्नुपर्छ । सामाजिक सञ्जाल र यसका फाइदा–बेफाइदाबारे शिक्षक र अभिभावकले पनि बालबालिकालाई बुझाउनुपर्छ । 

सामाजिक सञ्जाल कुन प्रयोजनका लागि प्रयोग गर्ने र कति समय चलाउने भन्ने विषय ख्याल गर्दा विभिन्न समस्याबाट बच्न सकिन्छ । नत्र, जथाभावी लिंक खोल्दा वा जथाभावी पेज लाइक गर्दा अश्लील साइटमा पुगिने, ठगीमा फसिने, ब्ल्याकमेलको सिकार हुनेलगायत समस्या आउन सक्छन् । त्यस्ता पेजमा राखिएका खराब कन्टेन्टले पनि मानिसको मस्तिष्कमा नकारात्मकता सिर्जना गर्छ । त्यसैले सम्बन्धित पेजमा आएका कन्टेन्टहरू राम्ररी हेरेर, त्यस पेजबारे पूरा जानकारी लिएपछि मात्रै लाइक, फलो वा कमेन्ट गर्नुपर्छ । 

सामाजिक सञ्जालको लत आफैँमा एउटा भयावह समस्या हो । यसले बालबालिकामा आँखा सुक्खा हुने, थकान महसुस गराउने, निद्रा नलाग्नेलगायत समस्या निम्त्याउन सक्छ । लत अति बसिसकेका बालबालिकामा ग्याजेट चलाउन नपाउँदा रिसाउने, सामाजिक गतिविधिमा सक्रिय नहुने, कसैले बोलाउँदा झर्कनेलगायत समस्या पनि देखिन सक्छन् । त्यसैले दिनमा कति समय सामाजिक सञ्जाल चलाउने, कस्ता पोस्ट गर्ने, कस्ता पेज लाइक वा फलो गर्ने, कुन प्रयोजनका लागि चलाउनेलगायत विषयमा प्रयोगकर्ता जानकार हुन आवश्यक छ । 

सुझावित समाचार