सर्पले टोकेर कपिलवस्तुमा दुई दिनमा चारको मृत्यु

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

सर्पले टोकेर कपिलवस्तुमा दुई दिनमा चारजनाको मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको वेला सर्पदंशबाट बुद्धभूमि नगरपालिका– १ कपासिकाका दुई दाजुभाइको ज्यान गएको छ । मृत्यु हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

बिहान ३ बजेतिर दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगिएको थियो । क्लिनिकले बच्चालाई सास फेर्न असजिलो भएपछि बुटवल रिफर गरेको थियो । दुवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एकजनाको बाटोमा र अर्काको उपचारको क्रममा मृत्यु भएको हो । दुवैजना पारिजात बोर्डिङ स्कुल गोरुसिंगेमा अध्ययन गर्दै आएका थिए । मृतकका आमा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेको र बुबाको यसअघि नै निधन भइसकेको छ । सर्पले टोकेको भन्ने समयमै यकिन नहुँदा दुई दाजुभाइले ज्यान गुमाएको स्थानीय जानु पाण्डेले बताए ।

सोमबार बिहान बुद्धभूमि नगरपालिका– १० की १६ वर्षीया ममता रैदासको सर्पदंशबाट मृत्यु भएको छ । समयमै सर्पले डसेको थाहा नपाउँदा उनको ज्यान गएको स्थानीयको भनाइ छ । उनलाई घरमा रातिको समयमा सर्पले डसेकोमा बिहान ८ बजे मात्र अस्पताल लगेको थियो । यस्तै, सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पदंशबाट मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर घरनजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले टोकेको हुन सक्ने परिवारको भनाइ छ ।

See More On

सुझावित समाचार