गर्मी छल्न ‘हिल स्टेसन’

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

पछिल्लो समय नेपालीमाझ घुम्ने संस्कृति गज्जबसँग मौलाएको छ । गर्मी छल्नका लागि मानिसहरू नजिकका पहाडी गन्तव्य पुग्न चाहन्छन् । चिसो हावाको मज्जा लिँदै परसम्मका सुन्दर फाँट, बस्ती र हिमालहरूको अवलोकन गर्न सकिने भएकाले पनि हिल स्टेसन जानेहरूको संख्या यस मौसममा बढ्छ । काठमाडौंनजिक पनि धेरै हिल स्टेसन छन्, जहाँ पुग्न धेरै खर्च र समय लाग्दैन । 

नगरकोट 
काठमाडौंबाट नजिक र घुम्नका लागि उपयुक्त हिल स्टेसन हो, नगरकोट । यहाँ पुग्न लामो यात्रा गर्नुपर्दैन । प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौंबाट २८ किलोमिटर उत्तरपूर्वमा र भक्तपुर दरबार स्क्वायरबाट १२.५ किलोमिटर टाढा छ । नगरकोट समुद्री सतहबाट दुई हजार ७५ मिटर उचाइमा रहेकाले यो मौसममा शीतल अनुभव हुन्छ । आँखैअगाडि देखिने सगरमाथा, धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से, मकालुजस्ता हिमाल र थुप्रै हिमशृंखलाले थप शीतलता प्रदान गर्छ । पथप्रदर्शक दीपेन्द्र थापा भन्छन्, ‘काठमाडौंबाट बिहानै नगरकोट गएर बेलुकी फर्कन सकिन्छ, एक रात वास बसेर भोलिपल्ट बिहान सूूर्याेदय हेर्दै घुमफिर गरेर फर्किन सकिन्छ ।’ 

लाँकुरी भञ्ज्याङ
नजिकका गन्तव्यमध्ये लाँकुरी भञ्ज्याङ पनि एक हो । यहाँबाट काठमाडौं उपत्यका पूरै देख्न सकिन्छ । सामान्य होटेलहरू पनि छन् । महँगो बस्छु भन्नेलाई रिसोर्टहरू पनि छन् । बिहान गएर बेलुकी फर्कन सकिन्छ । 

ककनी 
ककनी काठमाडौंनजिक अर्को उपयुक्त गन्तव्य हुन सक्छ । नुवाकोट जिल्लामा पर्ने यो ठाउँ पुग्न काठमाडौंबाट करिब २० किलोमिटर दूरी छिचोले पुग्छ । यहाँ चिसो हावाको मज्जा लिँदै लमजुङ, मनास्लु, गणेश, लाङटाङलगायतका हिमशृंखला अवलोकन गर्न सकिन्छ । ग्रामीण परिवेश र वेला–वेला लाग्ने हुस्सुले पनि पर्यटकलाई लोभ्याउँछ । मनोरम हिमाली भेगदेखि समतल नदीका फाँटसम्म अवलोकन गर्न पाइने भएकाले पनि यहाँ पर्यटकहरू आकर्षित हुन्छन् । 

दामन 
काठमाडौंनजिकको अर्को हिल स्टेसन हो, दामन । यहाँ एक–दुई दिनमा घुमेर आउन सकिन्छ । थानकोट, नौबीसे हुँदै तीन–चार घन्टामै दामन पुग्न सकिन्छ । 

चन्द्रागिरि 
काठमाडौंबाट नजिकको गन्तव्य चन्द्रागिरि पनि धेरैको रोजाइमा पर्छ । थानकोटबाट केबुलकार चढेर छोटो समयमै यहाँ पुग्न सकिन्छ । त्यसैले पनि बिहान गएर बेलुकी फर्कन चाहनेहरूका लागि यो राम्रो गन्तव्य हुन सक्छ । यहाँ भालेश्वर मन्दिरको दर्शन गर्न पाइन्छ । बालबालिकाका लागि यहाँ फनपार्कको व्यवस्थासमेत छ । यहाँबाट काठमाडौं सहरको राम्रो भ्यु देख्न पाइन्छ । त्यस्तै, विभिन्न हिमशृंखलाको दृश्य नियाल्न सकिन्छ । यहाँ सवारीसाधनमार्फत जानेहरूको संख्या पनि ठूलो छ । त्यस्तै, कतिपय युवायुवती हाइकिङ जान्छन् । चन्द्रागिरि घुमेपछि ओरालो झर्दै चित्लाङ पुगेर वास बस्न पनि सकिन्छ । चित्लाङमा एक रात बिताएर मनोरम प्राकृतिक दृश्य र स्थानीय परिकारको मज्जा लिएपछि भोलिपल्ट मार्खु हुँदै काठमाडौं फर्कन पनि सकिन्छ । 

जिरी 
जिरीलाई नेपालको स्विट्जरल्यान्ड पनि भनिन्छ । किनकि, यहाँको भौगोलिक बनावट स्विट्जरल्यान्डको ज्युरिच सहरसँग मिल्दोजुल्दो छ । दोलखाका स्थानीय पर्यटन अभियन्ता लीलाराम खड्का गर्मी मौसममा जिरी भ्रमणका लागि उपयुक्त समय रहेको बताउँछन् । ‘यहाँ झरना, गुफा, पोखरी, खोलानाला, कोणधारी हरिया वनजंगलका साथै अग्ला डाँडाकाँडा छन् । स्थानीय जिरेल, शेर्पा, तामाङ, सुनुवारहरूको पृथक् कला संस्कृति, भेषभूषा अवलोकन गर्न र स्थानीय परिकारहरूको स्वाद लिन सकिन्छ,’ उनी भन्छन्, ‘जिरी सगरमाथाको प्रवेशद्वार पनि हो । यहाँ ट्रेकिङ रुट पनि थुप्रै छन् । हिजोआज हरियालीले ढाकिएको हुन्छ, जसले जिरीको सौन्दर्यलाई थप बढाएको छ ।’ जिरी त्यस्तो खर्चिलो ठाउँ पनि होइन । काठमाडौंबाट गाडी, जिप, बाइकमा सजिलै पुग्न सकिन्छ । काठमाडौंबाट घुमेर फर्कनका लागि तीन दिनको समय छुट्याउनु राम्रो हुने अभियन्ता खड्काले बताए । ‘यहाँ दुई रात बस्दा धेरै ठाउँ घुम्न सकिन्छ, यसका लागि ६ हजारजति खर्च छुट्याए पुग्छ,’ उनले भने ।  

सैलुङ
घुम्नका लागि अर्को उपयुक्त स्थान सैलुङ पनि हो । यहाँ पनि बिहान गएर बेलुकी वास बसेर भोलिपल्ट फर्कन सकिन्छ । उच्च ठाउँ भएकाले यहाँ सधैँ शीतल महसुस हुन्छ । एक रात बिताएर भोलिपल्ट फर्कनका लागि अर्को राम्रो गन्तव्य कालिञ्चोक पनि हो । कालिञ्चोक माईको दर्शन गर्नका लागि यहाँ ठूलो संख्यामा तीर्थालुहरू जाने गर्छन् । यहाँबाट विभिन्न हिमशृंखलाको अवलोकन पनि गर्न सकिन्छ । खरिढुंगा हुँदै कालिञ्चोक पुगिन्छ । खरिढुंगा बाह्रै महिना शीतल हुने स्थान हो । 

बन्दीपुर 
एक वा दुई रात बिताउने गरी घुम्न जान मिल्ने अर्को राम्रो गन्तव्य बन्दिपुर हो । तनहुँ जिल्लामा पर्ने बन्दीपुर कास्की, लमजुङ र गोरखाको जक्सन पनि हो । बन्दीपुरमा नेवारी रहनसहनसँग साक्षात्कार गर्न सकिन्छ । ‘आँखैअगाडि देखिने हिमशृंखलाले जोकोहीको मन लोभ्याउँछ । मुग्लिनबाट आधा घन्टाको दूरी छिचोलेपछि डुम्रे बजार पुगिन्छ । त्यहाँबाट पिप्ले हुँदै बन्दीपुर पुग्न सकिन्छ,’ पथप्रदर्शक थापाले भने । 

सुझावित समाचार