इन्टरनेटको लतबाट बच्न...

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

इन्टरनेटमार्फत तपाईं धेरै विषय हेर्न सक्नुहुन्छ । यसले तपाईंलाई ज्ञानवद्र्धक तथा मनोरञ्जक सामग्रीहरू प्रदान गरिरहेको हुन्छ । तर, इन्टरनेटको लत लाग्यो भने तपाईंमा धेरै समस्या पनि देखिन सक्छन् । त्यसैले आवश्यकताबाहेक इन्टरनेट धेरै चलाउनु राम्रो होइन ।

इन्टरनेट चलाउँदाचलाउँदै तपाईंले गर्नुपर्ने प्राथमिकताका काम गर्न भुल्नुहुन्छ । कामको रुटिन गडबड भएपछि कार्यालयको काम र निजी जीवनमा पनि असर पर्छ । मुड स्विङको सामना गर्नु एक प्रमुख लक्षण हो । अत्यधिक समय इन्टरनेटमा बस्नेको व्यवहार उग्र हुन थाल्छ । इन्टरनेटको लतमा फसेपछि निद्रा राम्रो लाग्दैन । कोही त डिप्रेसनमै जान्छन् । 

इन्टरनेटले शारीरिक समस्या पनि निम्त्याउँछ । जस्तै, लामो समय स्क्रिनमा बस्नेको आँखा सुक्खा हुन्छ, कतिपयको आँखा चिलाउँछ वा पोल्छ । कतिपयलाई टाउको दुखाइ हुन्छ । एकै पोजिसनमा बस्दा पिठ्युँमा दुखाइ, गर्दनमा दुखाइलगायत समस्या देखिन्छ । 

तपाईंले बिस्तारै इन्टरनेटमा बिताउने समय घटाउँदै लग्नुपर्छ । हप्तामा तपाईंले ३६ घन्टाभन्दा धेरै समय इन्टरनेटमा बिताउनुभयो भने यसलाई लत मानिन्छ । पहिले यसलाई घटाएर १६ घन्टाभन्दा कम समयमा झार्नुपर्छ । राम्रो महसुस गर्नका लागि अन्य गतिविधिमा व्यस्त राख्नुस् । मानिसहरूसँग भेट्न सुरु गर्नुस् । खेल खेल्नुस् ।

परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुस् । घुम्न जानुस् । लामो दूरीको यात्रा गर्नुस् । किताब पढ्नुस् । डायरी लेख्न थाल्नुस् । यदि यी उपायले इन्टरनेटको लतबाट छुटकारा पाउन मद्दत मिलेन भने मनोचिकित्सकको सहायता लिन सकिन्छ । 

सुझावित समाचार