समाजवादी मोर्चाको चर्चालाई कसरी हेर्नुभएको छ ?
यसमा संगति देखिन्न । कांग्रेस र एमालेलाई तर्साउने चालबाजी मात्र हो जस्तो लाग्छ । किनकि, प्रचण्ड अझै मोआवादमै विश्वास गर्नुहुन्छ । माधव नेपालको पार्टीले नेकपा छाडेको छैन । उपेन्द्रजीको पार्टी कम्युनिस्ट होइन । यसरी चारतिर फर्किएका दल कसरी मिल्लान् र ? यो सब संसद्मा ठुलो संख्या देखाएर प्रधानमन्त्री पद लम्ब्याउने प्रचण्डको खेल हुन सक्छ । यिनले अर्को चुनावसम्ममा एउटै पार्टी बनाए भने मात्र पत्याउन सकिन्छ ।
एउटै पार्टीमा हुँदा सँगै बस्न नसक्ने कम्युनिस्टहरू अलग हुनासाथ एक हुन किन चटारिन्छन् होला ?
यो कम्युनिस्ट पार्टी र नेताहरूमा देखिने विश्वव्यापी रोग हो, हाम्रो देशको मात्र समस्या होइन । विश्वभर यही समस्या छ । हामीकहाँ २००६ सालमा कम्युनिस्ट पार्टी गठनसँगै सुरु भएको हो यो रोग । पार्टीमा सँगै हुँदा पार्टी सत्ता हत्याउन जायज नाजायज खेल खेल्ने नेताहरूले अलग हुनासाथ आफू सिद्धिने डरले फेरि एक हुन या मोर्चा बनाउन दौडिने गरेको देखिन्छ ।
समाजवादी मोर्चा बन्ने र टिकाउ हुने सम्भावना कति देख्नुहुन्छ ?
सामान्यतः विचार फरक भए पनि एजेन्डा मिल्दा मोर्चा बन्न सक्छ । तर, अहिले समाजवादी मोर्चाको एजेन्डा के हो भन्ने प्रस्ट भएको छैन । यो सब संख्या देखाएर ठुला दललाई तर्साउने प्रयास मात्र हो जस्तो लाग्छ । त्यसैले, यस्तो मोर्चा बनिहाल्यो भने पनि टिकाउ हुन गाह्रो छ ।