नियमित सफाइ गर्नुहोस् : भान्साकोठाको भुइँ, स्टोभ र अन्य स्थानमा लागेका फोहोर हटाउनुस् । भिजाएको कपडाले दैनिक सफा गर्नुस् । ओभन, फ्रिजलगायत सामग्रीको बाहिरी सतहलाई पनि यसरी नै सफा गर्न सकिन्छ । कतिपय मानिस रातमा भाँडा धुने जाँगर गर्दैनन् र बिहान एकैपटक भाँडा धुन खोज्छन् । यो निकै खराब तरिका हो । तपाईंले भान्साकोठालाई सफा र हाइजेनिक राख्नुपर्छ । रातभर भाँडा सफा नगर्दा त्यहाँ ब्याक्टेरियाहरू जम्मा हुन सक्छन् । त्यसले तपाईंको स्वास्थ्यमा असर गर्न सक्छ । त्यसैले बिहान होस् वा बेलुकी, खाना खानासाथ भाँडा सफा गर्न बिर्सनुहुँदैन ।
डस्टबिनको प्रयोग : भान्साबाट निस्कने फोहोरलाई डस्टबिनमा हाल्नुहोस् । कुहिने र नकुहिने फोहोरलाई फरक–फरक डस्टबिनमा हाल्नुहोस् । यसो हुँदा एकातर्फ भान्सा भद्रगोल देखिँदैन । अर्कोतर्फ, कुहिने फोहोरलाई कुनै ठाउँमा व्यवस्थापन गरेर तपाईंले त्यसबाट मल पनि बनाउन सक्नुहुन्छ । घरमा रोपिएका फूलका बिरुवा र तरकारीमा ती फोहोर हाल्न सक्नुहुन्छ ।
अनावश्यक सामान नराख्नुस् : भान्छामा आवश्यक सामग्री मात्रै राख्नुस् । सबै सामग्रीलाई सही ठाउँमा राख्नुस् । अनावश्यक सामग्री राख्दा भान्छा कोठा भद्दा देखिन्छ ।