केनमाथि रियल म्याड्रिडको नजर

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

स्पेनिस क्लब रियल म्याड्रिडले विश्वस्तरीय स्ट्राइकर भित्र्याउने अभियान थालेको छ । सदाबहार स्ट्राइकर करिम बेन्जिमाले क्लब छाडेपछि म्याड्रिड नयाँ स्ट्राइकर भित्र्याउने योजनामा रहेको स्पेनिस मिडियाहरूले जनाएका छन् । स्पेनिस मिडियाहरूका अनुसार बेन्जिमाको स्थानमा इंग्लिस क्लब टोटनह्यामका कप्तान ह्यारी केनलाई म्याड्रिडले अनुबन्ध गर्न सक्छ ।

टोटनह्यामबाट केनले चार सय ३५ खेलमा दुई सय ८० गोल गरेका छन् । बेन्जिमाले १४ वर्ष म्याड्रिडमा बिताएका थिए । केन मात्र नभएर म्याड्रिडले नेपोलीका भिक्टार ओसिहन, इन्टर मिलानका लाउटारो मार्टिनेज, चेल्सीका काई हाभेट्ज तथा युभेन्टसका भाल्कोभिकमाथि पनि नजर राखेको छ । १४ पटकको युरोपियन च्याम्पियन्स लिग च्याम्पियन म्याड्रिडले पाँच खेलाडी सर्ट लिस्टमा राख्दा केनलाई पहिलो प्राथमिकतामा राखेको छ । केनसँग सम्झौता गर्न म्याड्रिडले सुरुवाती ७७ मिलियन युरो प्रस्ताव राखेको छ । 

केनको मूल्य सय मिलियन पाउन्ड
टोटनह्याम भने केनलाई अन्य क्लबमा नपठाउने योजनामा छ । टोटनह्यामका अध्यक्ष ड्यानिल लेभले केन महŒवपूर्ण खेलाडी भएका कारण सम्झौता नगर्ने जनाएका छन् । तर, कुनै पनि क्लबले केनमाथि सय मिलियन पाउन्ड खर्चिन तयार भए टोटनह्यामले पुनर्विचार गर्न सक्ने उनको भनाइ छ । ‘हामी केनलाई सामान्य रकममा बिक्री गर्दैनौँ, टोटनह्यामले उनको रिलिज रकम सय मिलियन पाउन्ड राखेको छ,’ ड्यानिलले भने, ‘सम्भवतः यो रकम म्याड्रिडले खर्चन सक्छ, तर स्पेनिस क्लबबाट सोचेजस्तो प्रस्ताव आएन ।’ 

सिटीमा जाने प्रयास
दुई वर्षअघि केन प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमा जान प्रयास गरेका थिए । तर, टोटनह्याम त्यसै सिजन च्याम्पियन्स लिगमा छनोट हुँदा केन नै मुख्य खेलाडी बनेका थिए । च्याम्पियन्स लिगमा समेत राम्रो नतिजा निकाल्न टोटनह्यामले केनलाई सिटी पठाएन । यद्यपि, केन यसबीचमा स्पेनिस क्लबसँग नजिक रहे । सेल्टिकका म्यानेजर एन्गेसँग केनले वार्ता गरेका थिए । बालोन डिअर विजेता बेन्जिमाले सन् २००९ मा लियोनबाट म्याड्रिडसँग सम्झौता गरेका थिए । यसक्रममा उनले पाँचपटक च्याम्पियन्स लिग तथा चारपटक स्पेनिस ला लिगा जितेका थिए । 

सुझावित समाचार