भारतको ओडिसामा रेल दुर्घटना, मृत्यु हुनेको संख्या २८० पुग्यो

शनिबार, २० जेठ, २०८०
डिजिटल संस्करण

भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको ओडिसा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएको हो।

यात्रुबाहक रेल  र मालबाहक रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको बताइएको छ। दुर्घटना स्थलमा अहिले पनि उद्धार कार्य जारी छ।

मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।

दुर्घटनापछि यस रुटबाट चल्ने नियमित रेलको यात्रा रद्द गरिएको छ भने धेरै रेलहरू डाइभर्ट गरिएको छ। अहिलेसम्म प्राप्त जानकारीअनुसार लगभग ६५० जना मानिस घाइते भएका छन्।

घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ। केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गरेका छन्। 

घटनाको उच्चस्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरिने र रेल सुरक्षा आयुक्तले पनि स्वतन्त्र छानबिन गर्ने, वैष्णवले शनिबार बताएका छन्। रेलवे प्रवक्ता अमिताभ शर्माका अनुसार शुक्रबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो।     
     

 

सुझावित समाचार