प्रश्नको जवाफ नदिएको भन्दै शिक्षकले निर्घात कुटे विद्यार्थी

पाइप र लाठीले विद्यार्थी कुटपिट गर्ने शिक्षक आचार्य पक्राउ, कारबाही गर्न अभिभावकको माग

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण
प्रश्नको जवाफ नदिएको भन्दै शिक्षकले निर्घात कुटे विद्यार्थी

शिक्षकको कुटाइबाट घाइते एक विद्यार्थी । आफ्नो छोरा रूपेशको शरीरमा रहेको नीलडाम देखाउँदै उनकी आमा धनकुमारी पहरी ।

आफूले सोधेको प्रश्नको उत्तर नदिएको भन्दै ललितपुरको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । शुक्रबार बडिखेलस्थित श्री पथप्रदर्शक माध्यमिक विद्यालयका शिक्षक अञ्जानकुमार आचार्यले कक्षा ७ मा अध्ययनरत १८ छात्रछात्रामाथि कुटपिट गरेका हुन् । 

शिक्षक आचार्यले सामूहिक रूपमा पाइप र लाठीले कुटेपछि विद्यार्थी रुँदै घर फर्केका थिए । बीचमै स्कुल छाडेर छोराछोरी रुँदै घर आएपछि अभिभावकले सोधीखोजी गरेका थिए । विद्यार्थीले आफूलाई शिक्षकले कुटपिट गरेको बताएका थिए । शिक्षकको कुटाइबाट छात्रछात्राको ढाडमा नीलडाम बसेको छ । शिक्षकले अन्धाधुन्ध आफ्ना छोराछोरीलाई कुटेपछि अभिभावकहरू शिक्षक आचार्य बस्ने टोल घेर्न पुगेका थिए । उनीहरूले विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने मागसमेत गरेका छन् । सोधेको उत्तर दिन नसकेपछि शिक्षक आचार्यले ढोका थुनेर कुटपिट गरेको एक विद्यार्थीले बताए । शिक्षकको कुटाइबाट १० जना छात्रा र आठजना छात्रको ढाड र हातमा नीलडाम बसेको छ । 

स्कुलमा पढाइ हुन छाडेपछि विद्यार्थीले शिक्षक आचार्यसमक्ष पढाइदिन अनुरोध गरेका थिए । तर, विद्यार्थीको कुरा नसुनी आचार्यले नपढाएको पाठबाट प्रश्न गरेका थिए । प्रश्नको उत्तर नदिएको, उल्टो प्रश्न गरेको र झ्याल लगाएको भन्दै शिक्षकले कुटपिट गरेको पीडित विद्यार्थी बताउँछन् । ‘स्कुलमा राम्रोसँग पढाइ हुँदैन, उहाँले नपढाएको पाठ हामीलाई सोध्नुभएको थियो,’ पीडित विद्यार्थी विजय पहरीले भने, ‘नपढाएको पाठको कसरी उत्तर दिनू ? एड्ढया भन्यो भने झन् कुट्छु भन्दै हात र ढाडमा पाइपले हान्नुभयो, पढाउने वेलामा शिक्षकहरू मोबाइल चलाएर बस्नुहुन्छ ।’

घटना शुक्रबार दिउँसो ३ बजेतिरको हो । स्वास्थ्य विषय पढाउने शिक्षक आचार्य कक्षाकोठामा पसेका थिए । त्यही वेला विद्यार्थीले झ्याल बन्द गरेका थिए, त्यसपछि शिक्षकले पालैपालो उठाए । उनले किताबमा नपढाएको पाठको प्रश्न सोधे । उनीहरूले उत्तर नदिएको र उक्त पाठ पढाइ नै नभएको बताएपछि विद्यार्थीलाई पाइप र लाठीले कुटेका थिए । विद्यार्थीका अनुसार शिक्षक आचार्यले धम्की दिँदै कुटेका थिए । ‘उहाँले तिमीहरूको बाआमालाई त मैले कुटेको छु, तिमीहरू के हौ र भन्दै कुट्नुभयो,’ अर्का पीडित विद्यार्थी रूपेश पहरीले भने ।

पढ्न पठाएको छोरालाई शिक्षकले निर्घात कुटपिट गरेपछि अभिभावकहरूले कारबाहीको माग गरेका छन् । ‘मेरो छोरा रूपेश पढ्न गएको थियो, शिक्षकले त्यही वेलामा बेस्सरी कुट्नुभएछ,’ रूपेशकी आमा धनकुमारी पहरीले भनिन्, ‘बच्चा कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्छ ।’ 

शिक्षकको कुटाइ खाएकी अर्का विद्यार्थी मधु पहरीकी आमा ताराले पनि शिक्षकले कुटेपछि छोरी रुँदै घर फर्केको बताइन् । ‘बिहान हाँस्दै स्कुल गएकी थिई, फर्किंदा रुँदै आइरहेको थिई,’ उनले भनिन्, ‘यसरी पढ्न गएका बच्चालाई शिक्षकले कुट्न हुँदैन ।’ 

बडिखेलका विजय पहरीको शरीरमा शिक्षकले कुटेको नीलडाम छ । शिक्षकले कुटेपछि उनी रुँदै घर फर्केका थिए । विद्यार्थीलाई कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने विजयका बुबा रवि पहरीले बताए । विद्यार्थी कुट्ने शिक्षक आचार्यले स्वास्थ्य विषय पढाउँदै आएका छन् । उनले यसअघि पनि विद्यार्थीलाई धम्क्याउने र कुटपिट गरेकाले अभिभावकहरूले नकुट्न अनुरोध गर्दै आइरहेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्षसमेत रहेका सानुभाइ नगरकोटीले यसबारे सोधीखोजी गरी गल्ती भेटिएमा शिक्षकमाथि कारबाही हुने बताए । ‘ढोका थुनेर विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही हुन्छ,’ उनले भने । कुटपिट गर्ने शिक्षक आचार्यलाई शुक्रबार नै बाँडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षकको कुटाइबाट चोट लागेका १८ विद्यार्थीलाई शुक्रबारै उपचार गर्न गोदावरी मिडसिटी अस्पताल ल्याइएको थियो । सामान्य उपचारपछि विद्यार्थीहरू घर फर्किएका थिए ।

विद्यालयकी प्रधानाध्यपक शान्ति कुमारीले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही हुने बताइन् । ‘अहिले विद्यार्थीलाई गाली गर्न त पाइँदैन कुट्ने कुरा त निकै ठूलो अपराध हो,’ उनले भनिन्, ‘हामीले विद्यार्थी कुटेको जानकारी पाएपछि कारबाही गर्ने तयारी गरेका छौँ ।’ आचार्य सोही विद्यालयका पूर्वप्रधानाध्यापकसमेत हुन् । हाल उनलाई सातदोबाटो वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार