रुग्ण उद्योग सरकार एक्लैले चलाउन सक्दैन

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण
रुग्ण उद्योग सरकार एक्लैले चलाउन सक्दैन

रमेश रिजाल, मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति

अर्थ–वार्ता

बजारमा निजी क्षेत्र आक्रान्त बनिरहेको र उद्योगधन्दाले मन्दीको मार खेपिरहँदा रमेश रिजालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको करिब एक महिना पुग्यो । सीमित स्रोत र उच्च महत्वाकांक्षाबीचको सन्तुलन मिलाउन सकस परिरहेको समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गर्ने कार्यक्रममा अहिलेको समस्याले निकास पाउने अपेक्षामा उद्योगी–व्यवसायी छन् । मन्त्रिमण्डलका अरू मन्त्रीसरह आगामी आर्थिक वर्षको बजेटको चटारोमा व्यस्त रिजालसँग उनको भावी कार्ययोजनासहित मुलुकको वर्तमान अर्थतन्त्र र सरकारले लिनुपर्ने नीतिगत पहलकदमीका विषयमा नयाँ पत्रिकाकर्मी अजित अधिकारी र पवन तिमिल्सिनाले गरेको कुराकानी :

सरकार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणमा छ । बजेटमार्फत हामीले थुप्रैपटक आत्मनिर्भर अर्थतन्त्र बनाउने भनिरहेका छौँ । तर, लक्ष्यप्राप्ति हुन सकिरहेको छैन । यसपटकको बजेटले आत्मनिर्भर अर्थतन्त्रका विषयमा कत्तिको आशा जगाउला ? 
मुख्य विषय के भने, हामी (राजनीतिक दल) बाटै समस्या उत्पन्न भएको हो । हामीले आफ्नो भिजनअनुसार निर्वाह गर्नुपर्ने दायित्वअनुरूप काम नगरेको हो जस्तो लाग्छ । होइन भने हाम्रो जस्तो सुन्दर मुलुकलाई समृद्धितर्फ लैजान त्यति अप्ठ्यारो छ जस्तो मलाई लाग्दैन । अब यसमा क्रमागत सुधार हुँदै जान्छ जस्तो लाग्छ । यो आजको मात्रै विकृति होइन, राजाको पालादेखिको विकृति हो । कर्मचारीतन्त्र राजतन्त्रदेखिकै छन् । उनीहरूले परम्परागत रूपमा नै राजनीतिक दललाई मार्गनिर्देशित गर्न थाले । त्यो मार्गदर्शनअनुसार लक्ष्यप्राप्ति गर्न कठिन नै हुन्छ । यसपालि हामी सुधार गर्ने पक्षमा छौँ । मन्त्रिपरिषद्मा यही विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री पनि अहिलेको गतिमा सन्तुष्ट हुनुहुन्न । त्यसैले अब हामी गति बढाउँछौँ । लक्ष्यप्राप्ति गर्न यो सरकार अघि बढ्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु । 

पछिल्लो डेढ वर्षको पीडा भुलाउन सक्ने गरी आगामी आवको बजेटले आफ्नो गोदाममा उज्यालो प्रकाश छर्ने निजी क्षेत्रको अपेक्षा छ । यो अपेक्षा कतिसम्म पूरा होला ?
उहाँहरूको आशा पूरा गर्न सरकार तत्पर छ । उहाँहरूले आस गरेअनुसार सुविधा तथा राहत पाउनुहोस् भन्ने हाम्रो पनि अपेक्षा छ । तदनुरूप बजेट निर्माण भइरहेको छ । 

भूकम्प, कोभिड र रुस–युक्रेन युद्ध आदिले निजी क्षेत्र आक्रान्त छन् । तर, यसलाई हामी व्यवस्थापन गर्दै छौँ । देशमा उद्योगधन्दा चल्न सकेन भने मुलुक समृद्धितिर अघि जान सक्दैन । समृद्धितिर लैजाने अनेक उपायमध्ये उद्योगपतिलाई सहयोग गरी कसरी उद्योगधन्दा चलाउने भन्नेतर्फ ध्यान दिँदै छौँ । 

कोभिडपछाडि उद्योग व्यवसाय खस्किएका छन् । उच्च ब्याजदरले साना तथा मझौला उद्योगी थप समस्यामा छन् । यस्तो समयमा सरकारका तर्फबाट उद्योगी व्यवसायीको अभिभावकत्व लिनुपर्ने यो मन्त्रालयले समस्या समाधानका लागि पहल कसरी गरिरहेको छ ?
कोभिडभन्दा अघि हाम्रो अर्थतन्त्रलाई भूकम्पले थिलथिलो पारेको थियो । त्यसपछि कोभिड आयो । कोभिडले सारा उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका थिए । त्यसपछि रुस–युक्रेन युद्ध पनि आयो, जसले गर्दा निजी क्षेत्र आक्रान्त छन् । तर, यसलाई हामी व्यवस्थापन गर्दै छौँ । उद्योगी–व्यवसायीसँग सरसल्लाह पनि गर्दै छौँ । कुन हिसाबले अघि बढ्ने भनेर निरन्तर छलफलमा छौँ । देशमा उद्योगधन्दा चल्न सकेन भने मुलुक समृद्धितिर अघि जान सक्दैन, यो हामीलाई थाहा छ । समृद्धितिर लैजाने अनेक उपायमध्ये उद्योगपतिहरूलाई कसरी सहयोग गर्ने र उहाँहरूको उद्योगधन्दा चलाउने भन्नेतर्फ ध्यान दिँदै छौँ । 

देश आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको समयमा अर्थतन्त्रलाई चलायमान गराउने प्रमुख दायित्व सरकारको हो । खासगरी, निजी क्षेत्रका समस्या समाधान र सहजीकरण गरेर अर्थतन्त्र चलायमान बनाउन यो मन्त्रालयको पहल आवश्यक हुन्छ । यो पहल कसरी भइरहेको छ ?
मुख्यतः अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगपतिहरूको महत्वपूर्ण भूमिका हुन्छ । सरकारका तर्फबाट पनि मन्त्रालयपिच्छे बजेट विनियोजन हुन्छ, खर्च गर्नुपर्छ । असारमा गएर लाखरलुखर पारेर खर्च गर्ने प्रवृत्ति बढेको छ, त्यो कतिसम्म फलदायी छ, आफैँमा प्रश्नचिह्न बनेको छ । नयाँ बजेट आउँदै छ । भदौदेखि नै खर्च गर्ने सिलसिला बढाउँदै लैजानुपर्छ । विनियोजित रकम खर्च गर्ने र उद्योगपतिको विश्वास बढाउनेमा सरकार केन्द्रित छ । अहिले बैंकहरूको ब्याजदर घटाउनेतर्फ पनि ध्यान दिइरहेका छौँ । त्यो घटाउँदा पनि उद्योगपतिहरूले राहत पाउन सक्छन् । ब्याजदर घट्यो भने उद्योगधन्दा डुब्नबाट जोगिन्छ । यही हिसाबले अर्थव्यवस्थालाई चलायमान बनाउने हो । यसमा सरकार लागिपरेको छ । 

निजी क्षेत्रको आत्मबल बढाउने गरी के–कस्ता काम भइरहेका छन् ?
मैले अघि पनि भनेँ, म निरन्तर उद्योगपतिहरूसँग सम्पर्कमा छु । सरोकारवालालाई ठाउँठाउँमा गएर भेट्ने कार्यक्रम छ । दुई–तीन दिनपछि विराटनगर, वीरगन्जजस्ता औद्योगिक क्षेत्र भ्रमण गर्दै छु । विभिन्न संघ, महासंघसँग छलफल गर्दै छु । हामी कर्मचारीतन्त्रको पक्षबाट मारमा छौँ भन्ने उहाँहरूको गुनासो छ । मुख्य विषय भनेको बैंकको ब्याजदर हो । उद्योगधन्दा सञ्चालन गर्दा वन र भूमिसुधार हेर्ने निकायबाट समेत अवरोध भइरहेको उहाँहरूको गुनासो छ । यसले गर्दा उहाँहरू मारमा पर्नुभएको छ । दुई–तीनवटा यस्ता अवरोध फुकाइदिने हो भने अहिलेको समस्या समाधान हुन्छ । सरकारले आफ्नो तर्फबाट दिने प्रोत्साहन वा अनुदान नपाउँदासमेत उहाँहरू समस्यामा पर्नुभएको हो । 

अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगपतिको महत्वपूर्ण भूमिका हुन्छ । सरकारका तर्फबाट पनि मन्त्रालयपिच्छे बजेट विनियोजन हुन्छ, खर्च गर्नुपर्छ । असारमा गएर लाखरलुखर पारेर खर्च गर्ने प्रवृत्ति बढेको छ, त्यो कतिसम्म फलदायी छ, आफैँमा प्रश्नचिह्न हो । नयाँ बजेट आउँदै छ । भदौदेखि नै खर्च गर्ने सिलसिला बढाउँदै लैजानुपर्छ ।

सरकारपिच्छे जीर्ण वा हाल सञ्चालनमा रहेका संस्थानलाई सबल रूपमा सञ्चालन गर्ने कुरा चल्छन्, तर उद्योग चल्दैनन् । तपाईंले पनि वीरगन्ज चिनी कारखाना चलाउन पहल गर्ने भनेर घोषणा गरिसक्नुभएको छ । यो सरकारका पालामा सार्वजनिक संस्थान सुदृढीकरणका के–कस्ता योजना छन् ?
मैले वीरगन्ज चिनी कारखाना चलाउँछु भनेर ठ्याक्कै भनिहालेको होइन । तर, कुन मोडेलमा चलाउने, कसरी चलाउने भनेर तयारी भइरहेको विषय उल्लेख गरेको हो । वीरगन्ज चिनी कारखानासहित समग्र संस्थानको अध्ययन गर्न केही रकम पनि छुट्याइएको छ । चिनी उद्योग मात्र होइन, अरू धेरै उद्योगसमेत रुग्ण छन् । मेरो विश्वास के छ भने पब्लिक प्राइभेट पार्टनरसिपमा चलाउँदा उपयुक्त हुन्छ । सरकारले मात्रै उद्योग चलाउन सक्दैन । तर, दुईवटा क्षेत्रबाट आ–आफ्नो दायित्व पूरा गर्दा घाटामा पनि नजाला भन्ने हो । तर, अब ठ्याक्कै अहिले म भन्न सक्दिनँ । अध्ययनले उपयुक्त मोडेल सिफारिस गर्छ भन्ने अपेक्षा छ । तर, मेरो व्यक्तिगत बुझाइअनुसार पिपिपी मोडेल उपयुक्त हो । 

सार्वजनिक संस्थानको अध्ययन मात्रै हुने, तर सञ्चालनमा नआउने विषयचाहिँ राजनीतिक अस्थिरताले निम्त्याएको हो । नयाँ मन्त्री आउने र अध्ययन गर्ने काम हुने गरेको छ । तर, अब यो गठबन्धनको सरकार पाँच वर्ष चल्ने उद्देश्यले आएको छ, चल्छ पनि । त्यसैले अब अध्ययन गरौँ र त्यसका लागि मैले पैसा पनि छुट्याएको छु । पुरानो अध्ययन प्रतिवेदनलाई पनि कसरी समेट्न सकिन्छ, त्यतातिर ध्यान दिनु आवश्यक छ । 

विगतमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी र उपभोक्ताको समस्या समाधान गर्न आफैँ सक्षम हुन्थ्यो, तर अहिले अर्थ मन्त्रालयको सहारा लिनुपर्ने ठाउँमा पुगेको छ । विगतको साख फर्किने गरी काम गर्न केही कार्ययोजना बनाउनुभएको छ कि ?
तपाईंले सही भन्नुभयो । लगानी बोर्ड पहिला उद्योग मन्त्रालयमातहत नै थियो । मैले अहिले थाहा पाएँ कि त्यो अर्थ मन्त्रालयमातहत गएको छ । लगानी भिœयाउने काम त उद्योगले गर्न सक्थ्यो । के कति कारणले उता (अर्थ मन्त्रालय) लगियो, त्यो थाहा भएन । मुलुकको समग्र अर्थतन्त्रबारे सम्पूर्ण काम गर्न अर्थमन्त्रीबाट मात्रै सम्भव हुँदैन । यसलाई बिस्तारै सुधार गरेर लैजानुपर्छ । 

देशमा रुग्ण उद्योग धेरै छन् । ती उद्योग पब्लिक–प्राइभेट पार्टनरसिपमा चलाउँदा उपयुक्त हुन्छ । सरकार एक्लैले मात्र चलाउन सक्दैन । तर, दुईवटा क्षेत्रबाट आ–आफ्नो दायित्व पूरा गर्दा घाटामा पनि जाँदैन भन्ने लाग्छ । व्यक्तिगत बुझाइअनुसार पिपिपी मोडेल उपयुक्त हो । 
 

यो मन्त्रालयको प्रमुख क्षेत्रमध्येको वाणिज्य व्यापार पनि हो । व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवर्द्धन गर्ने योजना के छन् ? 
व्यापार घाटाको ठूलो अन्तर देखिएको छ । यसलाई पूरा गर्न स–साना उद्योग प्रवर्द्धन गर्नुपर्यो । निर्यात गर्ने उद्योगलाई प्रोत्साहन दिएर अघि बढाउनुपर्यो । अहिलेको निर्यात खानेतेलमा बढी देखिएको छ । मेरो अध्ययनले स–साना तथा लघु उद्योगका उत्पादन बाहिर गएका छन् । 

लघु उद्योगीहरूको आफ्नै पहलमा उत्पादन जर्मनी, बेलायत गइरहेको हामीले देखिरहेका छौँ । ती उद्योगलाई पनि टेवा दिँदै जानुपर्छ । स्वदेशी उद्योगलाई बढीभन्दा बढी प्रवर्द्धन गर्नुपर्छ । नेपालमा बनाएको सामान सरकारी निकायले खरिद गर्ने र निजी क्षेत्रमा पनि स्वदेशी सामान खरिद गर्नका लागि बाध्यकारी कानुन ल्याइदिनुपर्छ । कतिसम्म भने गुन्द्रुक आयात हुन्छ, बाँसको तामासमेत आयात हुने गरेको छ । यसलाई न्यूनीकरण गर्नैपर्छ । 

व्यापार घाटा न्यूनीकरणका लागि सरकारले एक दशकदेखि निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नगद प्रोत्साहन दिने नीति लिँदै आइरहेको छ । यसको प्रभावकारिता कस्तो पाउनुभएको छ ? 
यो नीति ठीक छ, तर वितरण गर्ने प्रणालीमा समस्या देखिएको छ । हामीले निर्यात गर्दा प्रोत्साहन दिने भनेको हो । निर्यात गर्नका लागि प्रोत्साहनसमेत सम्बन्धित मन्त्रालयबाटै दिनुपर्ने हो । तर, त्यो नदिएर अर्थ मन्त्रालय, बैंकहरूमा धाउनुपर्ने बाध्यता छ । यसमा वर्षाैं लगाइदिन्छन् रे । यो मन्त्रालयलाई त्यो अधिकार दिने हो भने उद्योगीले पनि पाए जस्तो महसुस गर्थे होलान् । यो पनि प्रबन्ध मिलाउँछौँ । 

कालोबजारी, कृत्रिम अभाव र सिन्डिकेटजस्ता कुराबाट उपभोक्तालाई छुट दिई स्वस्थ र प्रतिस्पर्धी बजार निर्माण गर्न तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन तपाईंसँग के योजना छन् ?
मूल्य नियन्त्रण गर्ने फरक–फरक तरिका हुन्छन् । एउटा महत्वपूर्ण पाटो भनेको माग र आपूर्तिको सन्तुलन नै हो । कति आवश्यक हो र कति हुँदा आवश्यकता पूरा हुन्छ भन्ने कुरालाई महत्वका साथ हेर्नुपर्छ । साथसाथै, चरम बेथिति छन् । त्यस्तो अवस्थामा ऐन, नियम, छापा मार्ने सबै किसिमका शैली अपनाएर नियन्त्रण गर्नुपर्छ । तर, माग र आपूर्तिलाई पनि सन्तुलनमा राख्नु आवश्यक छ । कालोबजारीले बजारको मागलाई रोक्छु भनेर पनि रोक्न सक्ने स्थिति छैन । हामीले सरकारको तहबाट माग र आपूर्ति सन्तुलन ल्याउनेबारेमा सोच्नुपर्छ । एकैपटक छापा मारेर मात्र रोकथाम हुँदैन । तर, यो पनि गर्नुपर्छ । मागअनुसार उत्पादन छ, तर आपूर्ति छैन र गोदाममा राखेर बेथिति लाद्ने र उच्च प्रतिफल खान खोज्नेलाई छापा नमारी हुँदैन । केही व्यापारीको बदमासीले यस्तो भइरहेको छ । 

महँगीले आक्रान्त भइरहेका वेला अत्यावश्यक पेट्रोलियम पदार्थको कारोबार गर्ने आयल निगम लिमिटेडले वैशाखमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी नाफा राखेर पेट्रोलियमको मूल्य घटाएको छैन । पेट्रोलियमको मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने विषयमा तपाईंले सोच्नुपर्ने होइन र ?
आयल निगमले नाफा कमायो भन्दै गर्दा उसको सबैभन्दा बढी घाटा पनि हेर्नुपर्ने हुन्छ । अहिले उसको करिब १२ अर्ब बक्यौता छ । यो सरकारी संस्थान हो । आमजनताको अपेक्षा मूल्य कम भइदिए हुन्थ्यो भन्ने हो । तर, घाटालाई पनि हेरिदिनुपर्छ । धेरै घाटामा लगेर उपभोक्तालाई राहत दिइयो भने सञ्चारमाध्यममा पनि आलोचना हुने गरेको छ । घाटा न्यूनीकरण गर्न मूल्य समायोजन गर्दा पनि आलोचना हुन्छ । यसलाई मिलाएर जानुपर्छ । संस्थान घाटामा नजाओस्, तर संस्थान नाफामा गएर बोनस खानुपर्ने अवस्थामा पनि नपुगोस् । त्यो पनि सेवामूलक संस्थान हो । आममानिस कर तिरेर दैनिकी चलाइरहेका छन् । त्यस्तो अवस्थामा संस्थानलाई धेरै नाफा कमाउन दिनु पनि उचित हुँदैन । यसलाई सन्तुलनमा राख्नुपर्छ, कि त पूर्ण स्वचालित प्रणालीबाट लागू गर्न सक्नुपर्यो । यसलाई लागू नगर्दा पनि घाटामा जानुपरेको हो । 

लामो समयदेखि लगानी प्रवर्द्धन बोर्डको बैठक बस्न सकेको छैन । बसिहाले पनि निर्णय गर्न नसक्ने समस्या छन् । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ? 
लगानी गर्न आउँछु भन्नेलाई लगानी गर्न दिनुपर्छ भन्ने मेरो मान्यता छ । आगामी आवको बजेट निर्माणमा व्यस्त भएका कारणले पनि यो बैठक बस्न सकेको छैन । काम गर्न आउँछु, गरिखान्छु भन्नेलाई त मौका दिनुपर्यो नि । त्यो भइरहेको छैन । बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ, कामै गर्न नदिने प्रवृत्ति पनि राम्रो होइन । 

सुझावित समाचार