अर्थमन्त्रीविनै बजेट बनाउँदै कोसी सरकार

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण
अर्थमन्त्रीविनै बजेट बनाउँदै कोसी सरकार

हिक्मत कार्की मुख्यमन्त्री, कोसी प्रदेश

सरकार परिवर्तन गर्ने कांग्रेसको प्रयास, माओवादी निर्णयको पर्खाइमा

कोसी प्रदेशमा एमाले नेतृत्वको गठबन्धन सरकारले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने सम्भावना बढेको छ । एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न मुख्य प्रतिपक्षी कांग्रेसले हुटहुटी देखाए पनि गठबन्धनमा आबद्ध अन्य दलले चासो नदिँदा नीति तथा कार्यक्रम र बजेट यही सरकारले प्रस्तुत गर्ने सम्भावना बलियो बनेको हो ।

मुख्यमन्त्री कार्कीले अर्थमन्त्री पनि नियुक्त गरेका छैनन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालय मात्र नभएर आन्तरिक मामिला मन्त्रालय पनि आफैँले राखेका छन् । कोसीमा नौ मन्त्रालय छन् । मुख्यमन्त्री कार्कीले जेठ दोस्रो हप्तादेखि बजेट अधिवेशनको तयारी थालेका छन् । मन्त्रालयले बजेट तर्जुमा छलफल सुरु गरिसकेका छन् । अधिवेशनमा बहुमतका आधारमा बजेट छलफल गराएर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेर १ असारसम्ममा सहज रूपमा पारित गराउने रणनीति पनि बनाइसकेको छ । 

कार्की माओवादी, राप्रपा र जसपाको समर्थनमा २४ पुसमा मुख्यमन्त्री बनेका थिए । उनीलाई एमालेका ४१, माओवादीका १३, राप्रपाका चार, जनता समाजवादीका एक सांसदको समर्थन थियो । २९ सिट रहेको कांग्रेस र चार सिटको एकीकृत समाजवादी सरकारबाहिर छ । 

प्रतिपक्षलाई छैन सुविधाजनक बहुमत
९३ सांसद रहेको कोसीमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन राप्रपाबाहेक अन्य दलको सुविधाजनक बहुमत पुग्दैन । माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिए मात्र बहुमत पुग्छ । तर, त्यसो गर्दा फेरि सभामुख एमालेलाई दिनुपर्ने हुन्छ । त्यसैले माओवादी यो जोखिम उठाउन चाहँदैन । सुविधाजनक बहुमत बनाउन एमालेइतर गठबन्धनका लागि राप्रपाको साथ चाहिन्छ । राप्रपालाई साथमा लिन मुख्यमन्त्री दिनुपर्ने हुन्छ ।

माओवादीले राप्रपालाई मुख्यमन्त्री दिनुभन्दा एमालेकै नेतृत्वको सरकारलाई समर्थन गर्न उचित ठानिरहेको छ । अर्कोतर्फ एमाले र माओवादी वा एमाले–कांग्रेस मिलेमा मात्र सुविधाजनक बहुमत हुन सक्छ । तर, वर्तमान केन्द्रीय राजनीतिक परिस्थितिले दुवै सम्भावना कम छ । 

बजेट अधिवेशन सुरु भएपछि पनि कांग्रेसको दबाबले वा केन्द्रीय भागबन्डामा सहमति भएमा कोसी सरकार परिवर्तन हुनसक्नेछ । यसो भएमा कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्रबहादुर आङ्बो वा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्न सक्नेछन् । 

कांग्रेस संसदीय दलका नेता उद्धव थापा सरकार परिवर्तनबारे केन्द्रीय नेतृत्वसँग छलफल तीव्र बनाएको बताउँछन् । काठमाडौंमा उपलब्ध प्रदेश सांसदहरूले २३ वैशाखदेखि भेला भएर निरन्तर केन्द्रीय नेतृत्वलाई दबाब दिइरहे पनि निष्कर्ष नआएको उनले बताए । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकार परिवर्तन गर्ने–नगर्ने भन्नेबारे छलफल भइरहेको बताउँछन् । ‘हाम्रो छलफल चलिरहेको छ, तर निष्कर्ष आइसकेको छैन,’ उनले भने ।

राप्रपा संसदीय दलका नेता तथा कोसी सरकारका कृषिमन्त्री भक्ति सिटौला केन्द्रको निर्णयअनुसार चल्ने भएकाले हाललाई सरकारबारे आफूहरूको धारणा प्रस्ट नभएको बताए । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले एमाले नेतृत्वको वर्तमान सरकार असफल भइसकेकाले माओवादी र जसपाले समर्थन फिर्ता लिनुपर्ने र त्यसबारे छलफल पनि भइरहेको बताए । पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता राईले भने, ‘मुख्यमन्त्री जो भए पनि हामी स्वीकार गर्छौँ, तर पहिले माओवादी र जसपाले समर्थन फिर्ता लिनुपर्छ ।’ 

जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य जयराम यादवले कोसी प्रदेशको सरकार फेरबदलबारे अहिलेसम्म के गर्ने भन्नेबारे केन्द्रबाट कुनै निर्णय नआएको र प्रदेशका पार्टीहरूले पनि कुनै राय–सुझाव नमागेको बताए ।

सुझावित समाचार