गर्मी बढेसँगै लामखुट्टे पनि बढी देखिन थालेका छन् । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ । डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान पनि सक्छ । त्यसैले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ ।
जमेको सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा लामखुट्टे फैलिने गर्छ । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहो¥याएर टोके यसले जटिल रूप लिन्छ ।
लक्षण
- डेंगु भएका अधिकांशमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर अत्यधिक दुख्ने हुन्छ ।
- जोर्नीहरू दुख्ने, पेट दुख्ने, जिउमा डाबर आउने, छाती दुख्ने, वाकवाकी लाग्नेलगायत लक्षण देखिन्छ ।
- केही मानिसमा अचानक ब्लडप्रेसर बढ्ने वा घट्ने हुन्छ ।
- केहीमा डायरिया हुने हुन्छ । कसै–कसैको शरीरका विभिन्न अंगमा रक्तश्राव पनि हुन सक्छ ।
- संक्रमण हुन नदिन के गर्ने ?
- लाखुट्टेको टोकाइबाट बच्ने ।
- घरवरिपरि पानी जम्न नदिने । टायर, बट्टालगायतमा पानी जम्न नदिने ।
- सरसफाइमा ध्यान दिने ।
- लामखुट्टे सक्रिय हुने समयमा बाहिर नहिँड्ने । झाडी वा लामखुट्टे आउने ठाउँमा जानैपरे लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउने ।
- राति सुत्दा झुल लगाएर सुत्ने ।
- झ्यालमा जाली लगाउने ।
- बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउने/नराख्ने ।
- लामखुट्टे भगाउने खालका मलम छालामा लगाउने ।
डेंगु भइहालेमा के गर्ने ?
डेंगुका लक्षण देखिएमा उपचारका लागि चिकित्सकसँग परामर्श गर्नुपर्छ । जथाभावी औषधि प्रयोग गर्नुहुँदैन ।
अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुँदा प्रशस्त पानी पिउने ।
धेरै मसला, चिल्लो भएका खानेकुरा नखाने ।