सिरिया १२ वर्षपछि अरब लिगमा पुनः सामेल

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

इजिप्टको राजधानीमा आइतबार भएको अरब लिगको असाधारण बैठकमा अरबका विदेशमन्त्रीहरूले १२ वर्षको निलम्बनपछि लिगमा सिरियाको सदस्यता पुनः स्थापित गर्ने निर्णय गरेका छन् । मन्त्रीस्तरीय अरब लिग परिषद्को बैठकले मे ७, २०२३ सम्म अरब लिग काउन्सिल र यसका सबै संगठन र निकायको बैठकमा सिरिया सरकारका प्रतिनिधिमण्डलको सहभागिता पुनः सुरु गर्ने निर्णय गरेको छ ।

अरब विदेशमन्त्रीहरूले ‘सिरियालाई संकटबाट बाहिर निकाल्ने’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा पनि सहमति जनाएका छन् । उनीहरूले सिरियाको सार्वभौमिकता, क्षेत्रीय एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई ‘अरब लिग बडापत्र’ र यसका सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । 

जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशमन्त्रीहरू सहमत भएका छन् । समितिले ‘सिरियाली संकटको विस्तृत समाधानमा पुग्न’ सिरियाली सरकारसँग प्रत्यक्ष संवाद जारी राख्नेछ । गत साता जोर्डनको राजधानी अम्मानमा भएको बैठकमा जोर्डन, साउदी अरब, इराक, इजिप्ट र सिरियाका विदेशमन्त्रीहरूबीच सिरियाको सदस्यता पुनः स्थापित गर्ने सहमति बनेको थियो । अम्मान बैठक जोर्डनको नेतृत्वमा सिरियासँग अरब सामान्यीकरणका लागि गरिएको पहलको एक हिस्सा थियो । 

सन् २०११ मा लिगबाट निलम्बित सिरियाको सदस्यता पुनर्बहालीमा अम्मान वार्ताले महत्वपूर्ण भूमिका निभाएको मानिन्छ । सिरियाको अवस्थाबारे छलफल गर्न गत अप्रिलको मध्यतिर जोर्डन, इजिप्ट र इराकका साथै ‘गल्फ कोअपरेसन काउन्सिल(जिसिसी)’का सदस्य राष्ट्रहरूको साउदी अरबको जेद्दामा पनि मन्त्रीस्तरीय बैठक भएको थियो । 

See More On

सुझावित समाचार