अनुचित लेनदेन मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय स्थापना भएको छ । सरकारको निर्णयअनुसार आयोगको केन्द्रीय कार्यालय जनकपुरमा स्थापना गरिएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार जनकपुरधाममा केन्द्रीय कार्यालय उद्घाटन गरे ।
त्यसक्रममा उनले मिटरब्याज सामन्तीहरूको शोषणको नमुना भएको बताए । जनयुद्ध तथा विभिन्न आन्दोलनले सामन्तीहरूको पतन भए पनि मिटरब्याजीको रूपमा सामन्ती अवशेष अझै बाँकी रहेको मन्त्री श्रेष्ठले जिकिर गरे । मन्त्री श्रेष्ठले मिटरब्याजीलाई सहयोग गर्ने कुनै पनि राजनीतिक दल वा पार्टीको नेतालाई नछाड्ने दाबी गर्दै कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिए ।
‘मिटरब्याजीलाई कुनै दल वा संगठनले संरक्षण गर्न वा सहयोग गर्न भूमिका खेल्यो भने त्यसलाई पनि कारबाहीको दायरामा ल्याइनेछ,’ उनले भने, ‘यो आयोग विगतका जस्तो प्रतिवेदन मात्र बुझाउने जाँचबुझ आयोग होइन, यो पीडितको न्याय र पीडकलाई कारबाही गर्न खरो रूपमा उत्रनेछ ।’ उपप्रधानमन्त्री श्रेष्ठले विद्यमान कानुन संशोधन गरेर मिटरब्याजीले अनैतिक रूपमा आर्जन गरेको सम्पत्ति पनि फिर्ता गराउने जिकिर गरे ।