राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजपीडितहरूको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छिन् ।
मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले बनाएको वार्ता टोलीले के काम गरिरहेको छ भन्नेबारे सरकारले तत्काल संसद्लाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पीडितहरूको समस्या समाधानका लागि आफूहरूले पनि संसदमा कुरा उठाएको, तर त्यसको सुनुवाइ हुनेमा उनले आशंका व्यक्त गरिन् ।
‘मिटरब्याजपीडितहरू काठमाडौं आउनुभयो । धर्ना बस्नुभयो । सरकारलाई दुःख पनि देखाउनुभयो । सांसदहरूसँग पनि भेट्नुभयो । हामीले संसदमा कुरा पनि उठायौँ । वार्ता समिति बन्यो । अब के भयो ? हामी कहाँ छौँ ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एकपटक भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ,’ उनले भनिन् ।