अन्तर्वार्ता
महासंघको नयाँ नेतृत्व चयन गर्ने निर्वाचन नजिकै आइपुग्यो । तयारी के कस्तो भइरहेको छ ?
महासंघको निर्वाचनको मिति तीन दिन मात्रै बाँकी छ । जिल्ला–जिल्लाबाट साथीहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ । मैले मेरो प्यानल र प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छु । अहिले साथीहरूसँग भेटघाट, छलफल र टेलिफोन कुराकानीमा व्यस्त भइरहेको छु । तपाईं मिडियाका साथीहरूले पनि कुराकानी गर्न खोज्नुहुन्छ, त्यो पनि सकेसम्म गरिरहेकै छु । सबै साथीको सकारात्मक प्रतिक्रिया नै पाएको छु । अघि बढ्नोस्, तपाईंलाई हाम्रो साथ सहयोग रहनेछ भन्ने हौसला पाएको छु । म त उहाँहरूसँगको कुराकानी र भेटघाटबाट निकै उत्साहित भएको छु ।
महासंघमा दुईवटा प्यानलको प्रतिस्पर्धा हुने गर्थ्यो, तर यसपटक त्रिपक्षीय भिडन्त हुने भयो । किन यति धेरै प्यानल बन्न पुग्यो ?
अहिलेसम्म महासंघमा यस्तो त्रिपक्षीय प्रतिस्पर्धा भएको थिएन । तर, अहिले हुन लागेको छ । यो लोकतन्त्रको अभ्यास हो । यसलाई यही अर्थमा बुझ्दा राम्रो होला । स्वस्थ र मित्रवत् प्रतिस्पर्धाका आधारमा अघि बढौँ भन्ने मेरो भनाइ हो । जितिसकेपछि सबैको साथ र सहयोगमा काम गर्नुपर्ने हुन्छ । यो संस्थाको गरिमा पनि बचाउनु छ । महासंघप्रतिको आकर्षण त बढेकै हो । महासंघमा लामो समय काम गरिसकेका कारण वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्नुभएका अञ्जनजी र उमेशजीको उम्मेदवारीलाई समेत मैले स्वाभाविक ठानेको छु । यसलाई महत्वकांक्षा भन्नोस् या नेतृत्वको चाहना ।
वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गर्नुभएको छ । नेतृत्व सर्वसम्मत चयन हुने सम्भवना कति छ ?
हो, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र ढकालज्यूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गर्नुभएको छ । छलफल भएको पनि हो । अब ढकालज्यूकै नेतृत्वमा महासंघ अघि बढ्ने भएकाले एकताको सन्देश प्रवाह गर्न खोज्नु र सर्वसम्मत नेतृत्व चयनको वातावरणमा उहाँको सक्रियता स्वागतयोग्य छ । तर, त्यसले अहिलेसम्म सार्थकता पाएको भने छैन । तैपनि, समय त छ नि । अर्थतन्त्र र समग्र उद्योगी व्यवसायायी समस्यामा परेको वेला सर्वसम्मत नेतृत्व चयन हुन सक्दा त सुनमा सुगन्ध भनेझैँ हुन्छ । निर्वाचन नै भएको खण्डमा पनि त्यसलाई स्वस्थ र मित्रवत् प्रतिस्पर्धाका आधारमा अघि बढाऊँ भन्ने मेरो मान्यता रहेको छ ।
चुनाव प्रचारका क्रममा आजसम्मको दौडधुप कस्तो रह्यो ? नतिजा कस्तो आउने अनुमान गर्नुभएको छ ?
म निकै उत्साही भएको छु । म सबै प्रदेश अधिवेशनमा पुगेको छु । जिल्ला, नगर संघहरूको कार्यक्रममा पनि सकेसम्म पुगेकै छु । वस्तुगत संघका साथीहरूको कार्यक्रममा पनि सहभागी हुँदै आइरहेको छु । सबैसँग उद्यमी व्यवसायीका समस्या र समाधानका विषयमा छलफल गरेको छु । साथीहरूको माया, सद्भाव र हौसलाका आधारमा म वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने निश्चित छ ।
चुनाव त दोस्रो चरणमै पुग्ने होला है ?
साथीहरूको सद्भाव र हौसला देख्दा म पहिलो चरणमै जित निकाल्छु भन्नेमा पूर्ण विश्वस्त छु । कतिपयले जातीय कुरा पनि उठाउँछन् । मारवाडी र नेवार समुदाय भन्छन् । सर्वप्रथम त हामी सबै नेपाली नागरिक हौँ, उद्योगी व्यवसायी हौँ, यसमा कुनै पनि जातजातिको विभाजन हुनुहुँदैन र छैन पनि । मेरो टिम मैले समावेशी किसिमले निर्माण गरेको छु । सुरकृष्ण बैद्य जिल्ला, नगरतर्फको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । सकुन्तलाल हिराचन वस्तुगततर्फको उपाध्यक्ष र ज्योत्सना श्रेष्ठ एसोसिएटतर्फको उम्मेदवार हुनुहुन्छ । भनेपछि विभाजन होइन, सहकार्य र सहयात्रा छ ।
अहिले उद्योगी व्यवसायी संकटमा परियो भन्दै सडकमै उत्रिन थालेका छन् । यही वेला महासंघको निर्वाचन हुँदै छ । तपाईं देशदौडाहामा रहँदा व्यवसायीहरूको कस्ता गुनासा र सुझाव आए ?
तरलताको समस्या, ब्याजदर वृद्धिको समस्या, आर्थिक मन्दीको मारकै विषयमा साथीहरूका धेरै गुनासा छन् । म पनि एउटा उद्यमी व्यवसायी भएकाले यस विषयमा आफैँ भुक्तभोगी छु ।
साना तथा मझौला व्यावसायीहरू लगानीअनुसारको प्रतिफल नपाउँदा निराश बन्नुभएको अवस्था पनि छ । ब्याजदर घट्नुपर्छ । उद्योगी व्यवसायीको उत्साह र मनोबल बढाउनुपर्छ । जोखिम मोलेर उद्यमशीलतामा लागेका साथीहरूको भावनालाई प्रोत्साहन गर्ने र उहाँहरूको आत्मसम्मानको वातावरण तयार गर्नुपर्ने विषय नै अहिले मुख्य हो भन्ने मलाई लागेको छ ।
आर्थिक मन्दीबाट पार लगाउन महासंघको तर्फबाट के भूमिका खेल्न सक्नुहुन्छ ?
मेरा स्पष्ट तीनवटा एजेन्डा छन् । त्यसलाई समेटेर मैले प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेको छु । एक, संगठनात्मक सुधार र समन्वय, दुई सरकारसँग उद्योगी व्यावसायीका समस्या समाधानको पहल, तीन आर्थिक विकास र अर्थतन्त्र सुधार । यिनै एजेन्डामा केन्द्रित रहेर भिजन सन् २०३० को प्रतिबद्धता पूरा गर्ने ।
नेपाल उद्योग वाणिज्य महासंघको साख अझै उँचो राख्ने । जिल्ला–नगर उद्योग वाणिज्य संघहरूलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माणजस्ता विषय नै मेरो प्राथमिकताका विषय रहनेछन् ।
महासंघको निर्वाचनमा ठूलो आर्थिक खेलोफड्को हुन्छ, मतदाता किन्नुपर्छ भन्छन्, खास कुरो के हो ?
यो बेकारको प्रचार मात्रै हो । उद्यमी व्यवसायीका नेताहरू, जो जिल्ला–नगर वस्तुगत द्विदेशीय र एसोसिएटको नेतृत्व गरिरहनुभएको छ, उहाँहरूलाई यस्ता कुनै कुराले प्रभाव पार्ने कुरै हुँदैन । उहाँहरूको मन जसले जित्न सकेको छ, उसैले मत पाउने हो ।
महासंघको राजनीतिमा जहिल्यै केन्द्रीय राजनीति हावी हुने गरेको आरोप लाग्छ । ठूला राजनीतिक दल र नेताहरू नै आफ्नो उम्मेदवार जिताउन दौडधुप गर्ने सुनिन्छ । यो आरोपमा तपाईंको भनाइ के हो ?
यहाँले प्रश्नमै भनिसक्नुभयो नि, यो केवल आरोप मात्र हो । मलाई त राजनीति हावी भएको र त्यस्तो दौडधुप चलेको थाहा छैन । यदि कोही त्यसरी दौडनुभएको छ भने म आग्रह गर्न चाहन्छु, उद्यमी व्यवसायी आफ्नो नेतृत्व आफैँ छान्न सक्षम छन्, कसैले हस्तक्षेप गर्ने कोसिस नगरिदिनुहोला ।
आफ्नो व्यावसायिक स्वार्थ पूरा गर्नका लागि व्यवसायीहरू महासंघको नेतृत्वमा पुग्न तछाडमछाड गर्छन् भन्ने आरोप छ नि, तपाईं के भन्नुहुन्छ ?
म महासंघमा २० वर्षदेखि क्रियाशील छु । व्यावसायिक हकहित र सरोकारका विषयहरूमै मैले निरन्तर पहल र पैरवी गर्दै आइरहेको छु । व्यक्तिगत लाभ र स्वर्थ मेरो केही पनि छैन । आगामी दिनमा पनि रहनेछैन । मेरो व्यक्तिगत कुरा गर्दा अहिले हामी त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योग सञ्चालन गरिरहेका छौँ । करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन् । मुलुकको कुल जिडिपीको अढाईदेखि तीन प्रतिशतको प्रत्यक्ष–अप्रत्यक्ष योगदान त्रिवेणी ग्रुपको रहेको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु । साना तथा मझौला उद्यम व्यवसायमा पनि म संलग्न छु । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, वस्तु निर्यात र रोजगारी सिर्जना गरेर मैले देशको अर्थतन्त्रमा सानो भए पनि योगदान गरिरहेको महसुस गरेको छु ।
अन्त्यमा, आफ्ना भोटरलाई के भन्न चाहनुहुन्छ ?
म सबै जिल्ला–नगर, वस्तुगत, द्विदेशीय र एसोसिएट सबै क्षेत्रको प्रतिनिधित्व गर्ने साथीहरूलाई विनम्र आग्रह गर्न चाहन्छु कि तपाईंहरू मलाई विश्वास गरेर मत दिनुहोस् । म वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि तपाईंहरूकै सल्लाह र सुझाव ग्रहण गरेर व्यावसायिक हकहित र महासंघको साख उच्च बनाउने काममा निरन्तर लागिपर्ने वाचा गर्दछु ।