राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीलाई तीन प्रश्न

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

सरकारको सय दिनलाई कसरी मूल्यांकन गर्न सकिन्छ ?
सरकार द्वैध मनस्थितिबाट गुज्रिएको छ । सुरुमा एमालेको समर्थनमा बनेको सरकार छोटो समयमै कांग्रेसको समर्थन लिने अवस्थामा पुग्यो । सुरुबाटै अस्थिरताको अवस्थामा सरकार रहेपछि यसले काम गर्ने अवस्था रहेन । सरकारमा रहेका पार्टी बाहिरिने अवस्थाले १६ वटासम्म मन्त्रालय प्रधानमन्त्री एक्लैको काँधमा आयो । यसले गर्दा पनि जनअपेक्षाअनुसार ‘फास्ट ट्र्याक’मा काम हुने अवस्था रहेन । ‘जनयुद्ध दिवस’ मनाउने जस्ता सरकारका कतिपय निर्णय विवादास्पद पनि बने । समग्रमा सरकार टिकाउन नै रातदिन नभनी जोडतोडले लाग्नुपर्ने अवस्था भएकाले सरकारले काम गर्न सक्ने अवस्था नै रहेन । 

अहिले बनेको गठबन्धनको भविष्य कस्तो देखिन्छ ?
यो गठबन्धनको भविष्य यस्तै हुन्छ या यसको आयु यति नै हो भन्न सकिँदैन । भित्र के सहमतिमा सरकार बनेको छ, दलहरूबीचको भित्री कुरा बाहिर आएको छैन । त्यसैले पनि यो गठबन्धन सरकारको पूर्ण कार्यकालबारे यसै भन्न सकिँदैन । यो गठबन्धनको संस्कृतिमै खोट छ । साना पार्टीहरू सत्ताका लागि जता पनि जान सक्छन् । उनीहरूको कुनै भर छैन । यस्तो अवस्थामा जे पनि हुन सक्छ । 

यस्तो अन्योलपूर्ण अवस्थाको स्थायी समाधानका लागि के गर्न सकिएला ? 
मूलतः हाम्रो संवैधानिक व्यवस्थामै त्रुटि छ । निर्वाचन प्रणालीमै परिवर्तनको खाँचो छ । एउटै मात्र निर्वाचन प्रणाली आवश्यक छ । त्यो नभए समानुपातिक व्यवस्थाबाट आएका सांसद्लाई सरकार गठनका सम्पूर्ण क्रियाकलापबाट अलग राख्नुपर्छ । 

सुझावित समाचार